निर्वाचन आयोगले बिहीबार प्रदेश निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीहरूसँग मतदाता नामावली अद्यावधिक अभियानको विषयमा अनलाइन बैठक सम्पन्न गरेको छ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरू डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बा सहभागी थिए।
बैठकमा आयोगले सञ्चालन गर्न लागेको मतदाता नामावली अद्यावधिक अभियान सम्बन्धी तयारी, कार्ययोजना र समन्वयका विषयमा विस्तृत छलफल भएको आयोगले जनाएको छ। उक्त अभियान सञ्चालन गर्ने निर्णय आयोगको २०८३ साउन १५ गते बसेको बैठकले गरेको थियो।
प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूले स्थानीय तहका वडा कार्यालयबाट मृत्यु भएका, बसाइँसराइ गरेका तथा मतदाता विवरण अद्यावधिक गर्नुपर्ने व्यक्तिहरूको विवरण संकलन गरी मतदाता नामावली अद्यावधिक गर्नेछन्।
अभियानलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहजीकरणका लागि आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत देशभरका सबै स्थानीय तहलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।
प्रकाशित: २१ श्रावण २०८३ १७:३७ बिहीबार





