२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

बिसिसिआईलाई अर्बाै रुपैयाँको क्षति

 भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले फेन्टासी स्पोटर्स प्लेटफर्म ड्रिम–११ सँगको प्रायोजन सम्झौता आधिकारिक रूपमा समाप्त गरेको छ।

भारतीय क्रिकेट टोली र ड्रिम ११ बीचको सम्झौता समाप्त भएपछि बिसिसिआईले अर्बौं रकमको क्षति बेहोर्नुपरेको छ। संसद्को दुवै सदनमा गत बिहीबार अनलाइन गेमिङ विधेयक पारित भएपछि यस निर्णय आएको हो।

संयुक्त अरब इमिरेट्स (युएई) मा एसिया कप सुरु हुन दुई हप्ता मात्र बाँकी छ। उक्त एसिया कपमा मुख्य प्रायोजकबिना नै भारतीय टोली जर्सीमा उत्रिनेछ। बिसिसिआईका सचिव देवजित साइकियाले भविष्यमा बोर्डले यस किसिमको संस्थाहरूसँग साझेदारी नगर्ने उल्लेख गरेका छन्। ‘बिसिसिआई र ड्रिम–११ बीचको सम्बन्ध अब तोडिएको छ। अनलाइनल गेमिङ सम्बन्धमा विधेयकले प्रवर्धन गर्न नपाउने जारी भएपछि सम्झौता हटेको हो। भविष्यमा यस्ता कुनै पनि संस्थाहरूसँग बिसिसिआईले सम्बन्ध राख्ने छैन,’ उनले भने।

यसअघि नै एक मिडिया रिपोर्टले ड्रिम–११ का प्रतिनिधिहरूले बिसिसिआई कार्यालयमा भ्रमण गरी बोर्डको कार्यकारी प्रमुखलाई भारतीय टोलीलाई थप प्रायोजन गर्न नसक्नेबारे जानकारी गराएको खुलासा गरेको थियो।

भारतीय क्रिकेट बोर्डले चाँडै नयाँ टेन्डर जारी गर्ने अपेक्षा रिपोर्टमा उल्लेख गरिएको छ। ‘ड्रिम–११ ले बिसिसिआईको कार्यालयमा भ्रमण गरी कार्यकारी प्रमुख हेमाङ अमिनलाई प्रायोजन अगाडि बढाउन नसक्नेबारे जानकारी गराएका थिए। त्यसैको परिणामस्वरूप एसिया कपमा भारतको जर्सीमा ड्रिम ११ देखिने छैन,’ बिसिसीआईका एक अफिसियलले भने। बिसिसिआईका अर्का अधिकारीले प्रायोजकले आफ्नो सम्झौता रद्द गर्ने निर्णयलाई जारिवाना गर्ने सम्भावना नरहेको पुष्टि गरेका छन्।

त्यो सम्झौतामा उल्लेख भएअनुरूप नै हुन लागेको बुझिएको छ। उक्त सम्झौताअनुसार यदि प्रायोजनबारे भारत सरकारद्वारा लागू गरिएको कानुनका कारण परिवर्तन र प्रभावित भएमा उनीहरूले बोर्डलाई कुनै पनि रकम तिर्न बाध्य गराउन नसक्ने उल्लेख गरिएको छ।

१८ वर्ष पहिले स्थापित ड्रिम–११ को मूल्यांकन आठ अर्ब डलर रहेको उल्लेख गरिएको छ। यसले २०२३ को जुलाईमा एडटेक कम्पनी बाइजुसको स्थानमा तीन सय ५८ करोड रुपैयाँमा तीन वर्षे सम्झौता गरेको हो। ड्रिम–११ ले भारतीय टोली र आएपिएलमा पनि सामेल छ। यो कम्पनीले भारतका चर्चित क्रिकेटर महेन्द्रसिंह धोनी, रोहित शर्मा, हार्दिक पांड्या, ऋषभ पन्त र जसप्रीत बुमराहजस्ता धेरै खेलाडीलाई आफ्नो ब्रान्ड एम्बेस्डर बनाएको छ।

सन् २०२० मा ड्रिम–११ ले चिनियाँ कम्पनी भिभोको स्थानमा आइपिएलको ट्रफी प्रायोजक पनि बनेको थियो। ड्रिम–११ विदेशी लिगमा पनि जोडिएको छ। उनीहरू क्यारेबियन प्रिमियर लिगको आधिकारिक फेन्टासी साझेदार र सुपर स्मासको मुख्य प्रायोजक हुन्।

अस्ट्रेलियाको घरेलु टी ट्वान्टी प्रतियोगिताहरू बिग ब्यास लिग र महिला बिग ब्यास लिगमा पनि ड्रिम–११ को पहुँच छ। सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग पनि यो कम्पीले साझेदारी गरेको थियो। ड्रिम–११ को अन्य खेलहरूमा पनि सम्झौताहरू छन्। आइपिएलको आधिकारिक फेन्टासी साझेदार पनि ड्रिम– ११ हो। यो कम्पनी प्रो कबडड्ी लिग र अन्तर्राष्ट्रिय हकी संघसँग जोडिएको छ। तर, भारतीय अदालतको यो निर्णयसँगै सबै खेलहरूले प्रायोजन गुमाउने भएको छ।

प्रकाशित: १० भाद्र २०८२ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App