२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

एसियन खेलकुद पुरुष क्रिकेट छनोट: अवसरका रूपमा लिने प्रशिक्षक लको भनाई

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले २०औं एसियन गेम्सको छनोटलाई सहज रूपमा नलिने र जित निकाल्ने लक्ष्यसहित खेल्ने बताएका छन् ।

सिंगापुरमा हुने एसियन गेम्सको छनोटमा कुनै पनि प्रतिद्वन्द्वीलाई सहज रूपमा नलिई खेल्ने नेपाली टोलीका मुख्य प्रशिक्षक लले बताएका हुन् । सिंगापुरमा आगामी मे ३१ तारिखदेखि २०औं एसियन गेम्सका लागि पुरुष क्रिकेटका छनोट हुँदै छ । उक्त छनोटमा नेपालसहित कुल आठ राष्ट्रले खेल्ने तय थियो । तर, नेपालको समूह ‘ए’ मा रहेको कतारले अन्तिम समयमा आफ्नो नाम फिर्ता लियो । छनोटको सेमिफाइनल सम्म पुग्ने टोलीले आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेम्समा स्थान बनाउनेछन् । उक्त छनोट खेल्न जाने नेपाली टोलीको बिहीबार एक कार्यक्रमका बीच बिदाइ गरिएको थियो । उक्त बिदाई कार्यक्रममा प्रशिक्षक लले यो छनोटलाई अवसरका रूपमा लिएर खेल्ने बताएका छन् ।  

हरेक खेललाई उतिकै ध्यान दिएर खेल्ने उनको भनाइ छ । उनले क्रिकेटको राम्रो कल्चर नभएको देश जापानमा खेल्ने अवसर मिल्ने पनि उल्लेख गरेका छन् । जापानले ठूलो स्तरको क्रिकेट प्रतियोगिता पनि आयोजना नगरेको र त्यहाँ नेपालले खेल्ने उनको भनाइ छ । प्रशिक्षक लले सबै तयारी राम्रो भएको पनि बताएका छन् । नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले पनि टोलीको माहोल राम्रो र सिंगापुरमा राम्रो नतिजा लिएर आउने विश्वास व्यक्त गरे । क्यानका सचिव पारस खड्काले टी ट्वान्टी क्रिकेटमा कुनै पनि टोली कमजोर नहुने भएकाले सजग भएर खेल्न आग्रह गरेका छन् । उनले सन् २०२८ को ओलम्पिकमा पनि क्रिकेट समावेश भइसकेकाले त्यहाँ खेल्ने सपना राख्नुपर्ने धारणा राखेका छन् ।

तल्लो वरीयताका टोलीले पनि राम्रो गर्न सक्ने उनको भनाइ छ । अहिलेदेखि नै ओलम्पिकमा पदक जित्ने सपना बोक्नुपर्ने उनी बताउँछन् । नेपाल क्रिकेट संघ (क्यान) ले गत जेठ १० गते नै छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिसकेको छ । दीपेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । नेपाली टोलीमा कुशल मल्ल, सन्दीप जोरा, साहाब आलाम, लोकेश बम र शेर मल्लले छनोटका लागि टोलीमा स्थान बनाएका छन् । गत शृंखलामा यी खेलाडीहरू टोलीमा थिएनन् । आक्रामक ब्याटिङ क्षमता गर्ने सन्दीप र लोकेशलाई टोलीमा समावेश गरिएको छ ।  

शाहब र शेर टोलीमा राख्दै स्पिन आक्रमणलाई मजबुत बनाइएको छ । टोलीको अन्य सदस्यमा आसिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, रोहित पौडेल, नन्दन यादब र आरिफ शेख र करण केसी छन् । छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपालले आफ्नो पहिलो खेल मे ३१ मा चीनविरुद्ध खेल्ने तालिका छ । त्यसपछि जुन ४ मा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र आयोजक सिंगापुर छन् । प्रतियोगितामा दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।  

सेमिफाइनलमा पुग्ने चार टोलीले सन् २०२६ को एसियाली खेलकुदमा स्थान सुरक्षित गर्नेछन् । एसियन गेम्समा आयोजक जापानसहित पाँच टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानले यसअघि नै प्रत्यक्ष स्थान सुरक्षित गरिसकेका छन् ।

प्रकाशित: १४ जेष्ठ २०८३ २०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App