१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

कीर्तिमान बनेको दिन आर्मी र सुदूरपश्चिम प्रदेश फाइनलमा

आसिफ शेखको कीर्तिमानी दोहोरो शतकमा एपिएफ क्लबले मधेस प्रदेशलाई हराएसँगै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम फाइनलमा पुगेको छ।

त्रिभुवन आर्मी क्लब यसअघि नै फाइनलमा पुगिसकेको थियो। यो खेलअघि मधेस र सुदूरपश्चिम प्रदेशको मात्र शीर्ष दुई स्थानमा रहेर फाइनल खेल्ने सम्भावना देखिन्थ्यो। तर, मधेसले आफ्नो आठौं खेलमा सोमबार एपिएफसँग ७४ रनको हार बेहोर्‍यो। यससँगै मधेस एक खेलअगावै फाइनल पुग्ने सम्भावनाबाट बाहिरिएको हो।

कप्तान विनोद भण्डारीको शतकमा आर्मीले कोसी प्रदेशलाई १८५ रनले हरायो। यो जितसँगै आर्मी शीर्ष स्थानमा रहेर सुदूरपश्चिमसँग फाइनलमा खेल्ने समीकरण पूरा भएको हो।   अपराजित आर्मी र सुदूरपश्चिमले आगामी शुक्रबार उपाधिका लागि खेल्नेछ। प्रधानमन्त्री कप खेल्ने सुदूरपश्चिम विभागबाहिरको पहिलो टोली हो।

वीरगन्जमा एपिएफ र मधेस तथा जनकपुरमा आर्मी र कोसीबिचको खेलमा रनको वर्षा नै भयो। आर्मी र एपिएफ दुवैले ३६० रनभन्दा माथिको लक्ष्य दियो। वीरगन्जमा ओपनर आसिफले दोहोरो शतक पूरा गर्दै कीर्तिमान बनाए। नारायणी क्रिकेट मैदानमा एपिएफले ३९१ रनको चुनौतीपूर्ण लक्ष्य बनायो। 

जबाफी ब्याटिङ गरेको मधेसले पूरै ओभरमा आठ विकेट गुमाएर ३१६ रन मात्र बनाउन सक्यो। तेस्रो ओभरमै ओपनर मायन यादव आउट भएपछि मधेसको सुरुआत राम्रो हुन सकेन। अर्का ओपनर मोहम्मद समिर २३ रन र कप्तान अनिल साह २९ रनमा आउट भएपछि मधेस दबाबमा पर्‍यो। मध्यक्रमका ब्याटर मोहम्मद आदिल आलम र अरनिको यादवको अर्धशतक बनाउँदै इनिङ समाले।

आलमले ८७ रन जोड्दा ४३ बलमा ६ चौका र ८ छक्का प्रहार गरे। अरनिकोले ८७ रन बनाए। उनको इनिङमा आठ चौका र ६ छक्का रह्यो। रूपेश सिंह ६ र विशाल सुस्लिङ ३९ रनमा आउट भए। एपिएफको बलिङमा अभिषेक गौतमले तीन, कमलसिंह ऐरीले दुई तथा भुवन कार्की, युवराज खत्री र कप्तान रोहित पौडेलले समान एक विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले पूरै ओभरमा चार विकेट गुमाएर तीन सय ९० रनको विशाल योगफल बनाएको थियो। यो यस प्रतियोगिताकै सर्वाधिक ठूलो योगफल हो। ओपनर आसिफ २०८ रनमा अविजित रहे। उनले १४२ बलको सामना गरेर १५ चौका र १७ छक्का प्रहार गरे।

आसिफले दोहोरो शतक पूरा गर्न १३७ बल खेले। दोहोरो शतक बनाएपछि उनी रिटायर्ट आउट भए। कप्तान रोहित पौडेलले प्रतियोगिताको अन्तिम खेलमा पहिलो अर्धशतक प्रहार गरे। उनले ७३ बलमा ५५ रन जोडे। सन्दीप जोरा ४२ बलमा ५६ रन जोडेपछि एपिएफ झन्ड चार सय रनको योगफल नजिक पुगेको हो। 

दीपक बोहोरा १३ रनमा आउट हुँदा लोकेश बम २१ रनमा अविजित रहे। मधेसको बलिङमा रूपेशले तीन तथा रञ्जित कुमारले एक विकेट लिए। लिगको नवौं खेलबाट एपिएफले ११ अंकका साथ तेस्रो स्थानमा रहेर प्रतियोगिता समाप्त गरेको छ। मधेसको भने आठ खेलबाट ९ अंक छ। मधेस अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग खेल्दै छ। 

विनोदको कीर्तिमानी शतक, आर्मी शीर्षमा  
कप्तान विनोद भण्डारीको कीर्तिमानी शतकमा आर्मीले प्रधानमन्त्री कपमा सातौं जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ।दुई खेलअघि नै फाइनलमा पुगेको आर्मी कोसीमाथि रबाफिलो जितसँगै लिगको शीर्ष स्थानमा रहँदै उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ। आर्मीको फराकिलो जितमा कप्तान विनोदले १८९ रनको उत्कृष्ट इनिङ खेले। 

उनले लगातार दोस्रो शतक प्रहार गरे। यसअघि आफ्नो गृह टोली सुदूरपश्चिम प्रदेशविरुद्ध पनि विनोदले शतक बनाएका थिए। प्रधानमन्त्री कपमा उनको सर्वाधिक पाँचांै शतक हो। एपिएफका आसिफले चार शतक र अर्जुन कुमालले तीन शतक बनाएका छन्। यस संस्करणमा अर्जुन, आसिफ र विनोद सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष तीन स्थानमा छन्। अर्जुनले ४९८ रन, आसिफले ४५७ र विनोदले ४०२ रन बटुलेका छन्।

रामजानकी क्रिकेट मैदानमा आर्मीले ३६३ रनको चुनौतीपूर्ण लक्ष्य दियो। तर, त्यो लक्ष्य पछ्याएको कोसी ३६ ओभरमा १७७ रनमा नै अलआउट भयो। यससँगै आठौं खेलसम्म आर्मी अपराजित रहँदा कोसी नवौं खेलमा पनि जितविहीन हुँदै यस संस्करणबाट बाहिरियो। कोसीका प्रभात राईले ३८ रन बनाए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो। 

शिवान्स बजगाईं ३७, कप्तान सुजन थपलिया ३० र आशिष मगर २५ रनमा आउट भए। आर्मीको बलिङमा आकाश चन्दले तीन, बसिर अहमदले दुई तथा साहब आलम, पवन कार्की र नरेन साउदले समान एक विकेट लिए। पहिले ब्याटिङ गरेको आर्मीले पूरै ओभरमा ८ विकेट गुमाएर ३६२ रनको विशाल योगफल बनाएको थियो।

कप्तान विनोदले १८९ रनको शतकीय इनिङ खेले। उनले १५० बलको सामना गर्दै २१ चौका र पाँच छक्का प्रहार गरे। विनोदले शतक पूरा गर्न ९१ बल लगाए। भीम सार्कीले ६५ बलमा ८० रन जोड्दै विनोदलाई साथ दिए। ओपनर तृतराज दास ३३ र अर्जुन साउद ३१ रनमा आउट भए। कोसीको बलिङमा विपिन महतोले तीन तथा दीपेश कँडेल, रोसन शाह र आशिष मगरले समान एक विकेट लिए।

प्रकाशित: १ वैशाख २०८३ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App