१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

एपिएफ र आर्मीको विजयी सुरुआत

विभागीय टोली एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले दुई दिवसीय फरम्याटको जय ट्रफी मेन्स एलिट कपमा विजयी सुरुआत गरेका छन्।

भीम सार्कीको शतकमा त्रिभुवन आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ९ विकेट र एपिएफले बागमती प्रदेशलाई आठ विकेट हराउँदै जय ट्रफी मेन्स एलिट कपको दोस्रो संस्करणमा सुखद सुरुआत गरेका हुन्।

गत प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चार (नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ क्लब र बागमती प्रदेश) टोलीले जय ट्रफी खेल्दै छन्। त्यसमध्ये विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी र रोहित पौडेलको कप्तानीमा रहेको एपिएफले विजयी सुरुआत गरे। जितसँगै आर्मीले २४ अंक र पराजित पुलिसले १० अंक पाए। आर्मीले पहिलो इनिङ आफ्नो पक्षमा पार्दै खेल जितेपछि १० अंक र बोनस १४ अंक प्राप्त गर्‍यो। पुलिसले बोनसको १० अंक मात्र पाएको हो।

एपिएफले जितबापत १० अंक र बोनस १६.५ अंक प्राप्त गर्‍यो। पराजित बागमती १२ अंक सुरक्षित गर्न सफल भयो। आरिफ शेखको कप्तानीमा रहेको पुलिसले सुखद प्रदर्शन गर्न सकेन।

शनिबार पुलिसले ४२ रनको सामान्य लक्ष्य दियो। त्यो लक्ष्य आर्मीले ५.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा भेट्टायो। ओपनर इमरान शेख १ रनमा नै आउट भए। तर, तल्लो क्रममा ब्याटिङ गर्ने कुशल मल्ल ओपनिङमा आए। उनी ४२ रनमा नटआउट रहे। कुशलले २४ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। पुलिसको बलिङमा ललित राजवंशीले एक विकेट लिए। आर्मीको जितमा भीम सार्की एक सय ५ रनमा नटआउट रहे। उनले पहिलो इनिङमा यो रन बनाएका हुन्।

उनी प्लेअर अफ दी म्याच भए। त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले आठ विकेटको क्षतिमा एक सय ८७ रनमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो।

पुलिसका रासिद खानले ३८ रन जोडे। यो नै सर्वाधिक व्यक्तिगत रन रह्यो। कप्तान आरिफ शेख ३६ रनमा आउट भए। ओपनर कुशल भुर्तेल ३० रनमा आउट हुँदा ललित राजवंशी १८ रनमा नटआउट रहे। पहिलो इनिङमा आर्मीको बलिङमा पवन कार्कीले चार तथा आकाश चन्द, साहब आलम, बसिर अहमद र नरेन साउदले समान एक विकेट लिए। आर्मीले दुई सय ३४ रनमा ९ विकेट गुमाउँदै पहिलो इनिङ समाप्त गरेको थियो।

यो इनिङ समाप्तिमा आर्मीले ४७ रनको अग्रता बनाएको थियो। यस क्रममा भीमले शतक प्रहार गरेका हुन्। यो यस संस्करणको पहिलो शतक पनि हो। पवन कार्की ३७, नरेन साउद ३१ र ओपनर तृतराज दास १४ रनमा आउट भए। पुलिसको बलिङमा सागर ढकालले ६, ललित राजवंशीले दुई तथा कुशल भुर्तेलले एक विकेट लिए। दोस्रो इनिङमा पुलिस ८८ रनमा नै अलआउट भयो। आर्मीले सामान्य लक्ष्य पाएको हो। पुलिसका ओपनर कुशल भुर्तेलले ४८ रन बनाए। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। आर्मीको बलिङमा बसिर अहदले चार, कुशल मल्लले तीन, शाहब आलमले दुई तथा आकाश चन्दले दुई विकेट लिँदै पुलिसको इनिङ सस्तैमा रोके।

दोस्रो खेलमा बागमतीले एक सय ३७ रनको लक्ष्य दियो। त्यो लक्ष्य एपिएफले दुई विकेटको क्षतिमा पूरा गर्‍यो। एपिएफको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गरे। रोहितले पहिलो इनिङमा ८७ रन बनाउँदा दोस्रो इनिङमा उनी ५६ रनमा नटआउट रहे। दुवै इनिङमा उनले समान दुई विकेट लिए। उनी म्यान अफ दी म्याच पनि भए।

एपिएफको जितमा ओपनर आसिफ शेखले ५९ रन र कप्तान रोहितले ५६ रनको अर्धशतकीय इनिङ बनाए। आसिफले ५९ बलमा ९ चौका र एक छक्का प्रहार गरे। नटआउट रहेका रोहितले सात चौका र दुई छक्का हिर्काए। बागमतीको बलिङमा रिजन ढकाल र सूर्य तामाङले समान एक विकेट लिए।

त्यसअघि बागमतीले पहिलो इनिङमा दुई सय ७ रनमा ९ विकेट गुमाउँदै इनिङ समाप्तिको घोषणा गर्‍यो। एपिएफ दुई सय ३९ रनमा अलआउट भयो। पहिलो इनिङ समाप्तिमा एपिएफले ३२ रनको अग्रता लियो। बागमती दोस्रो इनिङमा १६८ रनमा अलआउट भयो।

इर्साद अलीले पाँच विकेट लिँदा बागमतीको इनिङ कमजोर भएको हो। अभिशेष गौतम र रोहित पौडेलले समान दुई विकेट लिए। यससँगै एपिएफले एक सय ३७ रनको लक्ष्य पाएको हो। आसिफ र रोहित चम्किएपछि एपिएफले सहजै जित निकाल्यो।  

प्रकाशित: १० फाल्गुन २०८२ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App