४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

संकटा शीर्षमा उक्लँदा मनाङको पहिलो हार

एन्फा यु-१६ युथ लिग

संकटा क्लब जारी एन्फा यु–१६ युथ लिगमा पाँचौं जितसँगै आइतबार शीर्ष स्थानमा उक्लिँदा मनाङ मर्स्याङ्दीले पहिलो हार सामना गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दोस्रो खेलमा संकटाले शीर्ष स्थानको दाबेदार मनाङ मर्स्याङ्दीमाथि २–० को जित निकालेको हो। संकटाको जितमा नवराज तिरुवा र प्रजलकुमार लुम्रेले समान एक गोल गरे। यो जितसँगै छैटौं खेलमा १५ अंक जोड्दै संकटा शीर्ष स्थानमा उक्लियो।

मनाङले भने जारी लिगमा पहिलो हार सामना गरेको छ। छैटौं खेलमा मनाङ तीन जित र दुई बराबरीसहित ११ अंक जोड्दै चौथो स्थानमा छ। दुवै गोल पहिलो हाफमा भएको हो। खेलको ३३औं मिनेटमा मनाङ १० खेलाडीमा सीमित हुन पुग्यो। गोल हुन सक्ने अवस्थामा राहुल  लुहारले संकटाका सुमित बलामपाकीलाई लडाए।

खेलका रेफ्री गौतम सलाबले सहायक रेफ्रीको मद्दतमा राहुललाई सीधै रातो कार्ड दिएका हुन्। तर, पहिलो हाफमा संकटाले यसको फाइदा लिन सकेन र गोलरहित बराबरी भयो। दोस्रो हाफमा भने संकटाले फाइदा लिँदै दुई गोल गर्‍यो। ५५औं मिनेटमा नवराजको गोलबाट संकटा अगाडि बढ्यो।

मनाङका खेलाडीले डी बक्सभित्र राम्रोसँग क्लियर गर्न नसकेको बललाई सदुपयोग गर्र्दै नवराजले पहिलो बार च्याप्दै जाली चुमाएका हुन्। ६७औं मिनेटमा प्रजलकुमारले अग्रता दोब्बर बनाए। काउन्टर प्रहारमा संकटाका कप्तान पेम्बा तामाङको पहिलो प्रहार मनाङका गोलकिपर विशेष गुरुङले डाइभ गर्दै छेके। तर, सोही बल रिबाउन्ड हुँदा प्रजलकुमारले वान टच मार्फत जाली चुमाए।

यसपछिको बाँकी समयमा थप गोल हुन सकेन र संकटाले जित निकाल्यो। दिनको पहिलो खेलमा विभागीय टोली एएिफले हिमालयन शेर्पा क्लबलाई २–० ले हरायो। एपिएफका पूजन ढकाल र आदर्श मेचेले गोल गरेका हुन्। दुवै हाफमा समान एक गोल निस्कियो। ३१औं मिनेटमा पूजनले गोल गर्दै एपिएफलाई अग्रता दिलाए।

हिमालयन शेर्पाका कप्तान प्रदीप खत्रीले फुत्काएको बल सदुपयोग गर्दै एपिएफले गोल गरेको हो। लेफ्ट साइटबाट प्रदीपले गरेको प्रहारलाई हिमालयन शेर्पाका गोलकिपर उत्सव खड्काले राम्रोसँग जज गर्न नसक्दा जाली चुम्न पुग्यो। ५२औं मिनेटमा आदर्शको गोलबाट एपिएफले अग्रता दोब्बर बनायो।

राइट साइडबाट सुशान्त जिएमले दिएको क्रस सदुपयोग गरेका आदर्शले हिमालयन शेर्पाका तीन डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गोल गरेका हुन्। त्यसपछि थप गोल हुन सकेन र एपिएफले तेस्रो जित निकाल्यो। ६ खेलमा एपिएफ ९ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। हिमालयन शेर्पा ६ खेलमा आठ अंकसहित सातौं स्थानमा झरेको छ।

हिमालयन शेर्पाको यो दोस्रो हार हो। यसअघि पहिलो खेलमा हिमालयन शेर्पा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो। आर्मीले पनि आइतबार नै प्लानिङ ब्वाइज युनाइटेडसँग २–१ को हार बेहोर्‍यो। प्लानिङका जितमा रबिन लुङ्गेली मगर र आसिक स्याङ्तानले गोल गरे। आर्मीका नीरज अधिकारीले गोल फर्काए।

प्रकाशित: ५ श्रावण २०८२ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App