१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

एन्फा राष्ट्रिय लिग: संकटाको अपराजित यात्रा यथावत्

सहिद स्मारक ‘ए’ डिभिजन क्लब संकटाले जारी राष्ट्रिय लिगमा दोस्रो खेलमा पनि अपराजित यात्रा कायमै राख्दा फ्रेन्ड्स क्लबले हार बेहोरेको छ।

च्यासलस्थित च्यासल स्टेडियममा लिगको आफ्नो दोस्रो खेलमा संकटाले आइतबार मोफसलको टोली काँक्रे बिहार क्लबमाथि ४-० को जित निकाल्यो। संकटाको जितमा अनिश महर्जन, कृष्णबहादुर आले, विशाल तामाङ र वेन्डपाङ्गा गिलबल्र्ट बिल्गोले गोल गरे।

संकटाले दोस्रो खेलमा पहिलो जित निकाल्दा अर्को शीर्ष क्लब फ्रेन्ड्सले विभागीय टोली एपिएफसँग १–० को साँघुरो हार बेहोर्‍यो। संकटाले पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी  खेल्दै अंक बाँडेको थियो। फ्रेन्ड्सले भने पहिलो खेलमा काँक्रे बिहारलाई ३–१ ले हराएको थियो तर दोस्रो खेलमा भने फ्रेन्ड्स पराजित हुन पुग्यो।

काँक्रे बिहारले लगातार दोस्रो हार सामना गर्‍यो। संकटासँग काँक्रे बिहारले सहजै नतिजा सुम्पिन पुग्यो। संकटाले  दुवै हाफमा समान दुई गोल गर्‍यो। खेलको १४औं मिनेटमा नै अनिशको गोलबाट संकटाले अग्रता लियो। पहिलो हाफको थप समयमा कृष्णबहादुरले संकटाको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा पनि काँक्रे बिहार खेलमा फर्कन सकेन। उल्टै दुई गोल सामना गर्‍यो। ५५औं मिनेटमा विशालले गोल गर्दै संकटालाई ३–० ले अगाडि बढाए। विदेशी खेलाडी गिलबर्ट बिल्गोले संकटाको चौथो गोल गरे। उनले ७४औं मिनेटमा गोल गरेका हुन्।

बाँकी समयमा थप गोल हुन सकेन र संकटाले सहज जित निकाल्यो। संकटाका कृष्णबहादुर  प्लेअर अफ दी म्याच भए। यससँगै संकटाले दुई खेलबाट चार अंक जोड्यो। च्यासलमा नै भएको दिनको दोस्रो खेलमा एपिएफले फ्रेन्ड्समाथि १–० को साँघुरो जित निकाल्यो।

फ्रेन्ड्सका खेमराज श्रेष्ठको आत्मघाती गोल नै एपिएफलाई तीन अंक दिलाउन पर्याप्त बन्यो। उनी २५औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए। त्यसपछिको बाँकी समयमा फ्रेन्ड्सले गोल फर्काउन सकेन र हार बेहोर्‍यो।

एपिएफले पहिलो खेलबाट तीन अंक बटुल्दा फ्रेन्ड्सको भने दोस्रो खेलबाट तीन अंक छ। सातदोबाटोस्थित एन्फा कम्प्लेम्स मैदानमा आइतबार नै भएको खेलमा जावलाखेल युथ क्लबले श्री भगवती क्लबमाथि ४–० को फराकिलो जित निकाल्यो। जावलाखेलले दोस्रो खेलमा पहिलो जित निकाल्दा श्री भगवतीले भने दोस्रो खेलमा पहिलो हार सामना गर्‍यो। पहिलो खेलमा जावलाखेल कास्कीको लालीगुराँस क्लबसँग १–० ले पराजित हुँदा श्री भगवतीले चर्च ब्वाइज युनाइटेडसँग १–१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा निकोलसन ओडाने हेमिल्टन र धर्वेन्द्र कुँवर चम्किएपछि जावलाखेलले रबाफिलो जित निकालेको हो।

दुवैले समान दुई गोल गरे। खेलको चार मिनेटभित्र नै जावलाखेलले दुई गोल गरेको थियो। पहिलो मिनेटमा नै निकोलसको गोलबाट जावलाखेल युथले अग्रता लियो। तीन मिनेटपछि नै धर्वेन्द्रले गोल थपे।

पहिलो हाफमा जावलाखेल युथ २–० ले अगाडि रह्यो। ५७औं मिनेटमा धर्वेन्द्रले अग्रता दोब्बर बनाए। इन्जुर समयमा निकोलसले व्यक्तिगत दोस्रो गोल गरेपछि जावलाखेल युथले ४–० को फराकिलो जित निकाल्यो। समान दुई खेलमा जावलाखेल युथले तीन अंक जोड्दा श्री भगवतीको एक अंक छ।  

प्रकाशित: ५ माघ २०८२ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App