३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

वेस्ट इन्डिजविरुद्ध सुखद प्रदर्शन गर्ने लक्ष्य

स्तब्धपूर्ण नतिजापछि निरास नेपाली टोली आइसिसी टी ट्वान्टी विश्वकपको तेस्रो खेलमा दुईपल्टको च्याम्पियन वेस्ट इन्डिजविरुद्ध सुखद प्रदर्शन गर्ने लक्ष्यमा छ। पहिलो दुई खेलमा पराजित नेपालले आइतबार मुम्बईस्थित वाङ्खेडे स्टेडियममा बलियो वेस्ट इन्डिजको सामना  गर्दै छ।

आक्रामक क्रिकेट खेल्ने वेस्ट इन्डिज छोटो फरम्याटको क्रिकेटमा उत्कृष्ट मानिन्छ, जसले यस विश्वकपमा छविअनुरूप प्रदर्शन र नतिजा पनि दिएको छ। वेस्ट इन्डिज पहिलो दुई खेलमा जितसहित उच्च आत्मबलमा छ। इटालीसँग १० विकेटले स्तब्ध एसोसिएट राष्ट्र नेपाल निरास छ। यही एसोसिएट राष्ट्रले बलियो वेस्ट इन्डिजको चुनौती सामना गर्न लागेको हो। यस समूहमा दुई पल्टको विश्व च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिज छन्। त्यसबाहेक नेपालसहित अन्य दुई एसोसिएट राष्ट्र स्कटल्यान्ड र इटाली छन्। नेपाल एक मात्र जितविहीन टोली हो, जसलाई विश्वकपअघि बलियो एसोसिएट राष्ट्रको रूपमा हेरिएको थियो। इङ्ल्यान्डविरुद्ध उच्च प्रदर्शन पनि गर्‍यो तर त्यो प्रदर्शन स्थिर रहन सकेन।

केही दिनमै खेलाडीको प्रदर्शनबारे प्रश्न उठे। नेपालले पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध तारिफयोग्य प्रदर्शन पनि गरेको थियो। क्रिकेटको जन्मदाता राष्ट्रसँग नेपाल ४ रनको साँघुरो अन्तरले नतिजा सुम्पिन पुग्यो। यो हारका बावजुद नेपाली क्रिकेटको प्रशंसा चौतर्फी भयो। किनकि नेपाली खेलाडीले अन्तिम बलसम्म लडाइँ लडे। राम्रो संरचना भएको र संसारलाई नै क्रिकेट सिकाएको देशविरुद्ध नेपाली खेलाडीले जुझारु प्रदर्शन गरे। भनिन्छ क्रिकेट अनिश्चितताको खेल हो। त्यसमा पनि छोटो फरम्याटको क्रिकेटमा १/२ ओभरमै रूप बदलिन्छ तर इटालीसँग भने नेपाल कुनै पक्षमा पनि हाबी हुन सकेन। पूर्ण दबाबमा नै रह्यो र अप्रत्याशित हार बेहोर्‍यो। नेपालले नतिजा मात्रै होइन समर्थकबाट पाएको प्रशंसा नै गुमायो।

चार दिनको अन्तरमा नै नेपाली क्रिकेट टोलीमाथि आलोचना भयो। नेपालमा सामाजिक सञ्जालको ठूलो शक्ति छ। जुन शक्तिले सत्ता नै पल्टिन्छ। त्यही शक्तिबाट नेपाली खेलाडीमाथि लगातार प्रहार भइरहेको छ। खेलाडीबाट गरिएको अपेक्षाअनुरूप खेल हुन नसक्दा  वितृष्णा प्रकट भएको हो। प्रदर्शनमा स्थिरता नहनु सबैभन्दा ठूलो समस्या हो।

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल सामाजिक सञ्जालको प्रभावले प्रदर्शनमा स्थिरता हुन नसकेको उल्लेख गर्छन्। विदेशी पत्रकारमाझ नै उनले नेपालमा सामाजिक सञ्जालको प्रभाव धेरै रहेको र त्यसबाट खेलाडी बच्नुपर्ने उल्लेख गरे। ‘इङ्ल्यान्डविरुद्ध हार्‍यौं तर देशले नै उत्सव मनायो। दोस्रो खेलमा राम्रो गर्न सकेनौं। अनपेक्षित नतिजा आयो। जुन हामीले पनि सोचेका थिएनौं,’ प्रशिक्षक लले भने,‘इङ्ल्यान्ड र इटालीसँगको खेलमा ठूलो अन्तर किन आयो। त्यो बुझ्नुपर्छ। नेपालमा सामाजिक सञ्जालको प्रभाव छ। प्रशंसा, ट्रोल र प्रतिक्रियाले खेलाडीहरू विचलित हुन्छन्।’

चार दिनमै उच्च प्रदर्शनमा ठूलो गिरावट आउनु मानसिक मजबुतीको कमी रहेको उनको बुझाइ छ। सानो प्रशंसामा धेरै उत्साहित नबन्न र कमजोर हुँदा हतोत्साहित नहुन खेलाडीलाई उनको सुझाव छ।

जुन वेस्ट इन्डिजविरुद्ध खेलाडीले अपनाउनुपर्नेछ। इटालीसँगको खेल हेर्ने हो भने नेपालले सबै पक्षमा सुधार गर्नुपर्ने हुन्छ। बलिङ र ब्याटिङ दुवैमा नेपाली खेलाडीले कमजोर प्रदर्शन गरेका थिए। साथै दोस्रो खेलपछि गुमेको मनोबल पनि खेलाडीले फर्काउनुपर्ने हुन्छ। वेस्ट इन्डिज बलियो टोली हो तर गत सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजलाई टी ट्वान्टी शृंखलामा २–१ ले हराएको थियो। त्यही नतिजाको आत्मबलले नै नेपाली टोलीलाई विश्वकप छनोटमा मद्दत गर्‍यो।

अहिले नेपाली टोली अप्रत्याशित हारपछि कमजोर मनोबलमा छ। जुन मनोबलसहित नेपालले समूहको बलियो वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ। वेस्ट इन्डिजले पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रन र इङ्ल्यान्डलाई ३० रनले हराएको थियो। यी दुवैमा वेस्ट इन्डिजले एक सय ८० रनको आँकडा पार गरेको छ। क्यारेबियन ब्याटर उत्कृष्ट लयमा देखिन्छन्।

नेपाली बलरका लागि त्यो ठूलो चुनौती बन्न सक्नेछ। इटालीसँगको खेलले नै ध्वस्त बनेको नेपाली बलिङमा तेस्रो खेलमा सुधार गर्नुपर्नेछ। सिमरन हेटमायर र सेरफान रुथरफोर्ड उत्कृष्ट लयमा छन्। दुवैले पछिल्ला खेलमा अर्धशतक प्रहार गरेका थिए। बलिङमा जेसन होल्डर, रोमारियो सेफर्ड र गुडाकेश मोतीले अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरे।

अघिल्ला खेलमा जित निकाल्न यी खेलाडीको महत्त्वपूर्ण भूमिका छ। जसले नेपालसँग सोही प्रदर्शन दोहोर्‍याउन सक्छन्। यद्यपि, वेस्ट इन्डिजका अकिल हुसेनले नेपाल एकताबद्ध टोली रहेको र कमजोर नआँक्ने बताए। ‘नेपाल एकताबद्ध र बलियो टोली हो। यो स्टेजमा कस्तो प्रदर्शन गर्नुपर्छ भन्ने उनीहरूलाई पनि थाहा छ। यदि विश्वकप जित्ने हो भने हरेक खेल जित्नुपर्छ,’ गत सेप्टेम्बरमा नेपालसँग वेस्ट इन्डिजको सदस्य रहेका अकिलले भने।

वेस्ट इन्डिजको त्यो टोलीमा सिनियर खेलाडी थिएनन्। ‘विश्वकपमा कोही ठूलो र सानो टोली हुँदैन। जसले मैदानमा राम्रो खेल्यो त्यसले जित्नेछ। गत भेटमा हामीसँग सिनियर खेलाडी थिएनन्। नेपालसँगको भेटका लागि उत्साहित छौं,’ अकिलले भनेका छन्।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) को सचिव पारसले दुई खेल सकिसकेको र आगामी खेलमा ध्यान दिनुपर्ने बताए। ‘पछिल्ला दुई खेल हाम्रो नियन्त्रणमा छैन तर अबको दुई खेलमा ध्यान दिनु आवश्यक हुन्छ,’ पारसले भने,‘टोलीमा विश्वास राख्यौं फाइट ब्याक हुनेछ।’

उनले सुपर आठभन्दा पनि एक खेलको नतिजामा केन्द्रित हुनुपर्ने औंल्याए। प्रशिक्षक लले वेस्ट इन्डिजसँगको खेलमा जितभन्दा पनि राम्रो इफोर्टको प्रतीक्षामा रहेको भन्दै खेलाडीमाथि दबाब कम गर्ने प्रयास गरे। ‘सानातिना कुराहरूमा सुधार गर्नुपर्छ। फिटनेस, अनुशासन बलिङ र सन्तुलित ब्याटिङ आवश्यक छ। ती सुध्रिए भने मैदानको प्रदर्शन आफैं सुध्रिन्छ,’ अस्ट्रेलियन प्रशिक्षक लले भने। इङ्ल्यान्डसँग दबाब नहुँदा राम्रो खेलेको उनले उल्लेख गरे।

वेस्ट इन्डिजविरुद्ध सोही दबाबरहित प्रदर्शन गर्ने उनको विश्वास छ। वेस्ट इन्डिजसँगको खेलअघि नेपालले शनिबार वाङ्खेडे स्टेडियममा अभ्यास गरेको थियो। जहाँ कप्तान रोहित पौडेल उपस्थित थिएनन्। उनी जरो आएकाले अभ्यासमा आउन सकेनन्। लले तेस्रो खेलमा रोहितले खेल्ने विश्वास व्यक्त गरे। गत संस्करण अमेरिकाले पाकिस्तानलाई हराउँदै सनसनी मच्चाएको थियो।

उक्त प्रदर्शनपछि अमेरिका सुपर आठमा नै पुग्न सफल भयो र यसपल्ट छनोटबिना नै विश्वकप खेलिरहेको छ। एसोसिएट राष्ट्रले विश्वकप जस्तो मञ्चमा स्तब्ध बनाएका इतिहास धेरै छन्। लले पनि एसोसिएटले ठूला टोलीलाई हराउन सक्ने उल्लेख गरे। निराश नेपाली टोलीबाट यस्तै अपेक्षा गरिएको छ। गुमेको प्रशंसा र समर्थकको विश्वास फर्काउने अवसर आइतबार नेपाललाई मिलेको छ।  

प्रकाशित: ३ फाल्गुन २०८२ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App