आहा! रारा पोखरा गोल्डकप मंगलबारदेखि सुरु हुँदैछ। सहारा क्लब पोखराको आयोजनामा फागुन ९ गतेसम्म हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुन लागेको हो।
'खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं' भन्ने नारासहित सञ्चालन हुने २५ औं संस्करणको यस प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने आयोजक सहारा क्लब पोखराले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।
तीन विदेशीसहित १२ सहभागी क्लबहरूलाई दुई समूहमा विभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’मा नेपाल पुलिस क्लब, आयोजक सहारा क्लब पोखरा, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङमर्स्याङ्दी क्लब र थन्डरबोल्ट नर्थ युनाइटेड भारत रहेका छन्। त्यस्तै, समूह ‘बी’मा अपी पावर चर्च ब्वाइज युनाइटेड, जाउलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब, प्लानिङ ब्वाइज युनाइटेड र आभा एफसी उज्वेकिस्तान रहेका छन्।
प्रतियोगिताको उद्घाटन खेलमा प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ प्रतिस्पर्धामा उत्रिने क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए। दोस्रो दिन माघ २८ गते बुधबार जाउलाखेल युथ क्लबविरुद्ध मच्छिन्द्र फुटबल क्लब, माघ २९ गते बिहीबार सशस्त्र प्रहरीको एपिएफ क्लबविरुद्ध मनाङमर्स्याङ्दी क्लब, फागुन १ गते शुक्रबार फ्रेण्ड्स क्लबविरुद्ध प्लानिङ ब्वाइज युनाइटेडले प्रतिस्पर्धा गर्ने अध्यक्ष थापाले जानकारी दिए। पहिलो चरणमा जितेका क्वाटरफाइनल चरणमा प्रवेश गर्ने जनाइएको छ। समूह ‘ए’ मा नेपाल पुलिस क्लब र थन्डरबोल्ट नर्थ युनाइटेड भारत तथा समूह ‘बी’मा अपी पावर चर्च ब्वाइज युनाइटेड र आभा एफसी उज्वेकिस्तान बाई पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
प्रतियोगिता यस वर्ष फ्लड लाइटमा खेलाइने भएको छ। खेल फ्लड लाइटमा खेलाइने भए पनि स्थायी फ्लड लाइट नभई अस्थायी फ्लड लाइटमा खेलाईन लागेको हो। जसका लागि भारतबाट भाडामा ल्याएर जडान गरिने आयोजक सहारा क्लब पोखराले जनाएको छ। अस्थायी फ्लड लाइट ३५ फुटको हुने अध्यक्ष थापाले जानकारी दिए। 'फ्लड लाइटमा खेलाइने भए पनि खेल पूरै खेल फ्लड लाइटमा नखेलाइने उनले बताए। खेल उज्यालोमै सुरु हुन्छ,' उनले भने, ‘मध्यान्तर पछिको खेलमात्रै फ्लड लाइटमा खेलाईन्छ।’
प्रतियोगितामा यस वर्ष पुरस्कार राशीमा दुई लाख वृद्धि गरिएको छ। प्रतियोगिताको यस संस्करणमा उपाधि विजेतालाई १४ लाख १ हजार रुपैयाँ र उपविजेतालाई ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लबका महासचिव गंगाराज पौडेलले जानकारी दिए। गत वर्ष विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।
त्यस्तै, अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीलाई पनि नगदसहित ट्रफी प्रदान गरिने उनले बताए। यसैगरी, प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित गरी नगद १० हजारसहित ट्रफी प्रदान गरिनेछ भने भाग्यशाली दर्शक र फ्यान अफ दि म्याचलाई पनि नगद पुरस्कार दिइने उनले जानकारी दिए।
बले रजत जयन्तीको अवसरमा २५ जनालाई सम्मान गर्ने जनाएको छ। यस वर्ष सर्वोत्कृष्ट खेलाडीबाट नेपाली महिला फुटबलकी प्रिती राईलाई नगदसहित सम्मान गर्ने जनाएको छ।
हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ। प्रतियोगिता सञ्चालनमा पोखरा महानगरपालिका संरक्षक, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अष्ट्रेलियाको विशेष सहयोग रहने क्लबका उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए।
प्रकाशित: २५ माघ २०८२ १५:२० आइतबार





