नेपाली महिला युवा फुटबल टोलीले एएफसी यु–२० महिला एसियन कप छनोटको पहिलो खेलमा भुटानसँग बिर्सनलायक प्रदर्शन गरेको छ।
एसियन कपमा स्थान बनाउने लक्ष्यसहित भुटान पुगेको नेपाली टोली छनोटको पहिलो खेलमा बुधबार घरेलु टोलीसँग १–१ को बराबरीमा रोकिएको हो। थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा समूह ‘ए’ को पहिलो खेलमा नेपाली टोलीले बिर्सनलायक प्रदर्शन गरेपछि अंक बाँड्नुपरेको हो।
पछिल्लोपल्ट नेपाली टोलीले गत महिना साफ यु–२० महिला च्याम्पियनसिपमा भुटानसँग दुईपल्ट प्रतिस्पर्धा गरेको थियो। २७ दिनअघि नेपाली टोली ६–१ र १९ दिनअघि ८–० को फराकिलो अन्तरले हराएको थियो। तर, एक महिना पनि नबित्दै नेपाली टोलीले खराब प्रदर्शन गरेको छ। पछिल्लो दुई भेटमा नेपालले भुटानको पोस्टमा १४ गोल गरेको थियो।
यसपल्ट सुरुआतदेखि नेपालले सन्तुलित र टिम कम्बिनेसमा बसेर खेल्न सकेन। नेपाली खेलाडी गोल हान्न मात्र हतास देखिन्थे। बल पोसेसन पनि नियन्त्रणमा राख्न सकेनन्। नेपाली खेलाडीले कुनै पनि राम्रो आक्रमण बुन्न सकेनन्। साथै डिफेन्समा पनि टोलीले गल्ती गर्न पुग्यो।
नेपाली टोलीले सुरुआतमा नै अग्रता लिएको थियो। यद्यपि, त्यसलाई सदुपयोगन गर्न सकेन। अट्यकिङ मिडफिल्डर सेनु परियारको गोलमा खेल सुरु भएको ३८ सेकेन्डमै अग्रता लिएको थियो। अर्की अट्यकिङ मिडफिल्डर सुक्रिया मियाले लेफ्ट साइडबाट दिएको क्रसलाई बक्सभित्र अनमार्क सेनुले सदुपयोग गरिन्। बल नियन्त्रण गर्न अगाडि बढेकी गोलकिपर पेमा याङ्जोमलाई बिट गर्दै उनले सहज गोल गरेकी हुन्।
तर, भुटान नेपालको खराब डिफेन्सको फाइदा लिँदै छिटै खेलमा फर्कन सफल भयो। १८औं मिनेटमा केल्देन वाङ्मोको गोलबाट भुटान खेलमा फर्कियो। केल्देनले नामसेल वाङजोमको पासलाई सदुपयोग गरिन्। केल्देनले राइट ब्याक सिम्रन राईलाई छक्याएकी थिइन्। केन्देनले नेपाली गोलकिपर लीला जोशी अगाडि बढेको अवस्थामा गोल गरेकी हुन्। त्यसपछि थप गोल हुन सकेन र पहिलो हाफमा १–१ को बराबरीमा रोकियो। दोस्रो हाफमा भुटानले केही राम्रा अवसर बुनेको थियो। तर, सदुपयोग गर्न नसक्दा नेपालमाथि सानदार जित निकाल्न असफल भयो। गोल गर्न हतास देखिएका नेपाली खेलाडीले टाढा दूरीबाट पनि लगातार फितलो प्रहार गरिरहे। यो बराबरीसँगै अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपको छनोट हुने नेपालको लक्ष्यमा धक्का पुगेको छ।
यस समूहमा भुटान र नेपालसँगै साउदी अरेबिया र तीनपल्टको विजेता उत्तर कोरिया छन्। उत्तर कोरिया एसियन कप र फिफा महिला यु–२० विश्वकप विजेता पनि हो। छनोट प्रतियोगितामा सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ।
सिंगल राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले यु–२० एसियन कपको १२औं संस्करणमा स्थान बनाउनेछ। समूह चरणपछि तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको यात्रा तय गर्छन्। तर, कमजोर भुटानसँग अंक बाँडेसँगै नेपालको त्यो सम्भावनाबाट टाढिने आंकलन गरिएको छ।
बुधबार नै भएको यस समूहको पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियामाथि १५–० को सानदार जित हासिल गरेको थियो। नेपालले अब दोस्रो खेलमा शुक्रबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ। समूहको अन्तिम खेलमा आइतबार नेपालले उत्तर कोरियाको सामना गर्नेछ।
प्रकाशित: २२ श्रावण २०८२ ०८:०५ बिहीबार





