हिमाली चिसो हावा, उकालो–ओरालोले भरिएको जोखिमपूर्ण पदमार्ग, लेकाली भेगको अक्सिजन कमी र कठिन भूगोलबीच शनिबार सम्पन्न सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनमा जुम्लाकै धिर बुढा र कल्पना बुढाले ऐतिहासिक सफलता हासिल गरेका छन्।
जुम्लाको चन्दननाथस्थित भैरवनाथ मन्दिरबाट सुरु भएको ५४ किलोमिटर लामो कठिन दौड पार गर्दै उनीहरूले क्रमशः पुरुष र महिलातर्फ उपाधि जितेका हुन्। समुद्री सतहभन्दा उच्च उचाइमा आयोजना हुने यो प्रतियोगिता नेपालकै सबैभन्दा चुनौतीपूर्ण अल्ट्रा म्याराथनमध्ये एक मानिन्छ।
पुरुषतर्फ जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ का ३५ वर्षीय धिर बुढाले ६ घण्टा ९ मिनेट ८ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जिते। हाल डिभिजन वन कार्यालयमा कार्यरत धिरले कठिन भूगोललाई जित्दै घरेलु मैदानमै ऐतिहासिक सफलता हात पारेका हुन्।
महिलातर्फ पातारासी गाउँपालिका–२ की १८ वर्षीया कल्पना बुढाले ७ घण्टा ७ मिनेट १२ सेकेन्डमा दौड पूरा गर्दै उपाधि चुमिन्। कर्णाली स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गरेकी कल्पनाको यो सफलता कर्णालीका महिला खेलाडीको सम्भावनालाई उजागर गर्ने उपलब्धिका रूपमा हेरिएको छ।
दुवै खेलाडीको जितले कर्णालीको विकट भूगोलभित्र लुकेको खेल प्रतिभा फेरि एकपटक राष्ट्रिय स्तरमा स्थापित गरेको छ।
कठिन भूगोल, कठिन परीक्षा
चन्दननाथ मन्दिरबाट सुरु भएको दौड डाँफेलेक, काभ्रागुफा, भुलभुले हुँदै चुचेमाराको लेक पार गरेर राराताल पुगेर टुंगिएको थियो। साँघुरा गोरेटो, जोखिमपूर्ण उकालो–ओरालो, लेकाली चिसो र हावाहुरीबीच धावकहरूले केवल गति होइन, मानसिक दृढता र सहनशीलताको समेत परीक्षा दिएका थिए।
कर्णाली स्पोर्ट्स क्लब जुम्लाका सचिव मधुराज न्यौपानेका अनुसार स्वास्थ्य परीक्षण गराएका ६० खेलाडीमध्ये ४९ जना मात्रै प्रतिस्पर्धामा सहभागी भएका थिए। तीमध्ये ४५ जना मात्रै रारातालसम्म पुग्न सफल भए।
“यो केवल दौड होइन, धैर्यता र संघर्षको परीक्षा हो,” न्यौपानेले भने।
आर्मीका धावकको कडा प्रतिस्पर्धा
पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रामेछाप गोकुलगंगा गाउँपालिका–४ का ४४ वर्षीय होमलाल श्रेष्ठले ६ घण्टा ११ मिनेट २२ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे।
त्यस्तै रामेछापकै गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीय गोपाल तामाङ ६ घण्टा १३ मिनेट ३४ सेकेन्डसहित तेस्रो भए।
जुम्लाको कनकासुन्दरी–२ का चन्द्र रावत चौथो तथा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ लुचामका २२ वर्षीय मिलन राई पाँचौँ स्थानमा रहे।
महिलातर्फ त्रिभुवन आर्मी क्लबकी डोल्पाको ठूलीभेरी नगरपालिका–५ की २३ वर्षीया सुनसरी रोकायाले ७ घण्टा १८ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरिन्।
जुम्लाकै पातारासी–२ की कर्णाली स्पोर्ट्स क्लबकी १८ वर्षीया सन्देवा बुढाले ७ घण्टा ३८ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान सुरक्षित गरिन्।
गुठिचौर गाउँपालिका–३ की राज्यलक्ष्मी रावल चौथो तथा पुष्पा सेर्मा पाँचौँ भइन्।
लाखौँ पुरस्कार र ‘अमृता कठायत स्मृति’ सम्मान
प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष खेलाडीलाई जनही एक लाख रुपैयाँ नगद, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। दोस्रो हुनेलाई ७५ हजार रुपैयाँसहित रजत पदक तथा तेस्रोलाई ५० हजार रुपैयाँसहित कास्य पदक प्रदान गरिएको थियो।
चौथो र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ, फिनिसर मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
यस वर्षदेखि स्वर्गीय अमृता कठायतको सम्झनामा महिलातर्फका विजेता खेलाडीलाई थप पुरस्कारको व्यवस्था गरिएको छ। महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई जनही २५ हजार रुपैयाँ अतिरिक्त प्रदान गरिएको आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय सहभागिता र प्रकृति संरक्षणको सन्देश
शनिबार बिहान ठीक ६ बजे पञ्चेबाजाको धुनसँगै सुरु भएको प्रतियोगितामा भारत र फ्रान्सका एक–एक जना धावकसमेत सहभागी थिए। स्थानीयवासीले बाटोभरि खेलाडीलाई उत्साह र सम्मानका साथ स्वागत गरेका थिए।
प्रतियोगितामा सहभागी खेलाडी तथा व्यवस्थापनमा खटिनेहरूका लागि पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमासमेत गरिएको थियो।
कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीका अनुसार जुम्लादेखि रारासम्म सफलतापूर्वक पुग्ने खेलाडीहरूको सम्झनामा वृक्षारोपण गरिनेछ।
“दौडले खेल मात्रै होइन, प्रकृति संरक्षणको सन्देश पनि दिनुपर्छ,” उनले भने।
१० र ५ किलोमिटर दौड पनि सम्पन्न
अल्ट्रा म्याराथनसँगै १० किलोमिटर र पाँच किलोमिटर दूरीका दौड प्रतियोगितासमेत आयोजना गरिएको थियो।
१० किलोमिटर पुरुषतर्फ बसन्त बुढा प्रथम, नवीन परियार दोस्रो र राज भण्डारी तेस्रो भए। महिलातर्फ सपना बुढा प्रथम, सुस्मिता भण्डारी दोस्रो तथा गौकली रावत तेस्रो भइन्। विजेताले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित मेडल तथा ट्रफी प्राप्त गरे।
पाँच किलोमिटर दौडतर्फ नोर्भु राना प्रथम, नरेश रावत दोस्रो र नवराज महतारा तेस्रो भए। बालिकातर्फ कृतिका सुनार प्रथम, एमुना बुढा दोस्रो र खुसी बुढाथोकी मगर तेस्रो भइन्। उनीहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
विजेता खेलाडीलाई पूर्व वनमन्त्री माधवप्रसाद चौलागाइँले पुरस्कार वितरण गरेका थिए।
अघिल्ला संस्करणहरूमा ५१ किलोमिटर दूरीमा आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष ५४ किलोमिटरमा विस्तार गरिएको थियो।
कर्णालीको दुर्गम भूगोललाई विश्वसामु चिनाउने माध्यम बन्दै गएको जुम्ला–रारा अल्ट्रा म्याराथन अब केवल खेलकुद कार्यक्रममा सीमित छैन। हिमाल, लेक र राराको अनुपम सुन्दरताबीच आयोजना हुने यो प्रतियोगिता कर्णालीको पहिचान, साहस र गौरवको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।
प्रकाशित: २७ वैशाख २०८३ १८:२७ आइतबार





