नेपाली राष्ट्रिय महिला टोलीलाई एउटा समूहका रूपमा टाढाबाट हेर्दा एउटा खेलाडी ठ्याक्कै छुट्टिन्छ। तिनै खेलाडी हुन् रेखा पौडेल।
राष्ट्रिय टोली मात्रै किन र? नेपाली महिला फुटबलमा जति पनि खेलाडी छन्, ती सबैमध्ये पनि रेखा भिन्न छिन्। छोटोछोटो कपाल, फुटबल खेलाडी हुन सुहाउँदो शरीर। एकछिन उनीसँग कुरा गर्नुपर्छ, लाग्छ, खुबै भलादमी छिन्, नम्र भएर बिस्तारै बोल्छिन्।
मीठो हाँसोकी पनि धनी छिन् तर यिनै रेखा, मैदानभित्र के प्रवेश गर्नुपर्छ, उनको भाउभाउ फेरिन्छ। व्यक्तित्व नै अर्कै हुन्छ। रेखाले मैदानमा पेस गर्ने फुटबलको शैली भनेको ‘आक्रामक’ हो। टिमको अनुकूलताका लागि डटेर खेल्ने खेलाडी हुन् उनी। त्यो पनि लडाकु पाराले। गोल गर्ने त उनको कामै भयो। अहिलेका लागि उनी राष्ट्रिय टोलीको हुलबाट छुट्टिएर फेरि आफ्नो छुट्टै परिचय बनाउने प्रयासमा छिन्।
अहिले नै रेखाको चर्चाचाहिँ किन? किनभने नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २९ मा पोखरामा गर्न लागेको एनसेजेएफ पल्सर स्पोटर्स अवार्ड २०८१ की उनी एक महत्त्वपूर्ण पात्र हुन्। त्यो अर्थमा भन्दा त्यही अवार्डको पिपुल्स च्वाइस विधामा उनी मनोनयनमा परेकी छिन्। यो अवार्डको स्थापना जुन सोचले भएको थियो, त्यसका लागि खुबै मिल्ने परिचय छ रेखाको।
जतिबेला पिपुल्स च्वाइसको अवार्डका लागि मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक भएको थियो, त्यतिबेला उनी आफैं त्यस कार्यक्रममा थिइन्। सबैको ध्यान उनकै तर्फ थियो। अनि जतिबेला बोल्ने पालो आयो, सबैभन्दा पहिले भनिन्, खेलाडी भएको हुनाले खासै बोल्न आउँदैन तर जति बेला बोलिन्, लागिरहेको थियो, यिनलाई खेल्न मात्र होइन, बोल्न पनि आउँछ।
भन्थिन्, ‘मेरा लागि त नाम पर्नु पनि ठूलै हो। मेरो त सपना पूरा भएको छ।’ साँच्चै उनी राम्रै खेल्छिन् पनि। पछिल्ला केही समय नेपाली महिला राष्ट्रिय फुटबल टिमकी नायक हुन् रेखा। धेरैलाई काठमाडौंमा भएको पछिल्ला विमेन्स साफ च्याम्पिनयसिपको सम्झना धुमिलिएको छैन। अनि त्यो सम्झनामा स्पष्ट अगाडि आउने अनुहार रेखाकै हो। उनी नै त्यस प्रतियोगितामा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
त्यसमा उनले कुल सात गोल गरेकी थिइन्। त्यसमध्ये श्रीलंकाविरुद्ध एकै खेलमा पाँच गोल पनि रहेको छ। नेपालका लागि उनले समग्रमा ११ गोल गरिसकेकी छन्। घरेलु फुटबलमा उनले एक समय एपिएफबाट खेलिन्, अनि एक समय पुलिसबाट पनि।स्पोर्ट्स ओडिसाबाट पनि उनले भारतमा व्यावसायिक खेलिसकेकी छिन्। पछिल्लो समय उनी अबुधाबी कन्ट्री क्लबसँग जोडिएकी थिइन्।
त्यही टिमका लागि खेल्ने क्रममा रेखाले युएईको महिला लिगको उपाधि त जितिन् नै, एएफसी वुमेन्स च्याम्पियन्स लिगमा गोल पनि गरिन्। लाओसको योङ एलिफेन्टसविरुद्धको त्यस प्रदर्शनपछि उनी त्यो प्रतिष्ठित प्रतियोगितामा गोल गर्ने पहिलो नेपाली खेलाडी पनि बनिन्। खासमा यो प्रतियोगिता खेल्ने पनि उनी नै पहिलो नेपाली खेलाडी हुन्। यो आफैँमा ठूलो उपलब्धि थियो, ऐतिहासिक रूपमा धेरै पछिपछि सम्म पनि सम्झिने खालकै।
यो सबै सुन्दा लाग्दैन र रेखा ‘पिपुल्स च्वाइस अवार्ड’ विजेताका लागि योग्य छिन् भनेर। छिन् नै। त्यसैले उनलाई जिताउने हो भने कोही पनि नेपाली फुटबल प्रेमीले गर्नुपर्ने काम भनेको डिजिटल वालेट आईएमई खल्तीमा गएर मत दिने नै हो। विजेता खेलाडी चयनका लागि यसको ५० मतभार हुनेछ। बाँकी मतभार भने खेल पत्रकार, मुख्य प्रशिक्षक र सामाजिक सञ्जालको मत रहनेछ।
प्रकाशित: २१ भाद्र २०८२ ११:४९ शनिबार





