७ वैशाख २०८१ शुक्रबार
खेल

भोलि पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै नेपाल

भोलि बुधबार नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ। खेल साँझ ५ः३० बजे सुरु हुनेछ। पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल हुनेछ। 

पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो। घरेलु मैदानमा नेपाल करिब तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानलाई हराउने लक्ष्यमा रहेको छ।

मङ्गलबार पाकिस्तानसँगको खेल अघि प्री म्याच कन्फरेन्समा बोल्दै कटुवालले भने,‘ नेपाल बलियो टोली हो। यदि खेलाडी पलायन नभएको भए झन् बलियो हुन्थ्यो। मैले अस्ति बङ्गलादेशसँग खेलेकै खेलाडी ल्याएर त्यसमा थप गरेर उत्कृष्ट खेलाडीहरूको टिम बनाएको छु। त्यसैले, खेलाडी छनोटमा मैले नै निर्णय लिन्छु र नतिजाको भागिदार पनि मै नै हुनेछु।’ 

पाकिस्तानको टिमले लामो समय फुटबल नखेले पनि पाकिस्तानका हरेक खेलाडीले फुटबल खेलिरहेका छन्। त्यसैले नेपालले त्यही कुराको फाइदा भोलिको खेलमा उठाउन सक्ने उनले बताए। यस्तै, उनले भोलिको खेलमा आफूले पाएको जिम्मेवारीलाई आफ्नो सत प्रतिशत दिने र राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए।

 पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि किरण चेम्जोङको अनुपस्थितिमा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान नियुक्त भएका रोहित चन्दले कप्तान हुन भन्दा पनि देशको प्रतिनिधित्व गरेर खेल्न पाउनु ठूलो कुरा रहेको बताएका छन्।

उनले भने, ‘देशलाई प्रतिनिधित्व गरेर खेल्न पाउनु नै ठूलो कुरा हो। कप्तान नै हुन्छु भनेर सोचेको छैन। हामी ११ जना नै कप्तान हो। कप्तान हुनुलाई ठूलो रूपमा लिएको चाहिँ छैन तर कप्तानी पाउँदा खुसी छु।’ यस्तै, चन्दले बुधबार पाकिस्तानविरुद्ध खेल्दा उच्च मनोबलका साथ सकारात्मक नतिजा ल्याउने उद्देश्यसहित नेपाली टिम मैदान उत्रिने प्रतिक्रिया दिए।

‘पाकिस्तान गाह्रो प्रतिस्पर्धी हो । हाम्रो लक्ष्य उच्च मनोबलका साथ मैदा उत्रिने र सकारात्मक नतिजा ल्याउने हो,’ उनले भने। खेलाडी विदेश पलायनले फुटबलमा अप्ठ्यारो अवस्था आएको र त्यसको समाधानका लागि घरेलु लिगहरू भइरहे राम्रो हुने पनि चन्दले बताए।

तीन वर्ष पछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानसँग नेपालले यसअघि १६ खेल खेलेको छ। जसमा ६ बराबरी ५ जित र ५ हारको नतिजा निकालेको छ।

प्रकाशित: २९ कार्तिक २०७९ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App