१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

लयमा फर्कंंदै अस्ट्रेलिया

ट्वान्टी–२० विश्वकपको उपाधि रक्षाको लयमा फर्किने क्रममा अस्ट्रेलियाले सोमबार ब्रिसबेनमा आयरल्यान्डमाथि ४२ रनको जित निकालेको छ।

ब्रिसबेनमा आयरल्यान्डमाथि सहज जित निकाल्दै समूह एकको अस्ट्रेलियाले शीर्ष टोली न्युजिल्यान्डसँग अंक बराबरी गरेको छ। एक सय ८० रनको लक्ष्य पछ्याएको आयरल्यान्डलाई १९औं ओभरमा एक सय ३७ रनमा नै समेट्दै अस्ट्रेलियाले चौथो खेलमा दोस्रो सफलता निकाल्यो। न्युजिल्यान्डसँगको पहिलो खेलमा फराकिलो हार बेहोरेको अस्ट्रेलियाको इङ्ल्यान्डसँगको तेस्रो खेल भने वर्षाका कारण रद्द हुन पुग्यो। दुई खेलमा स्पष्ट अंक निकाल्न असमर्थ भएपछि अस्ट्रेलियामाथि दबाब थियो।

यद्यपि, आयरल्यान्डविरुद्धको जितपछि अस्ट्रेलियाले एक खेल कम खेलेको न्युजिल्यान्डसँग अंक बराबरी गरेको छ। सेमिफाइनलको यात्रा जीवन्त राख्न आयरल्यान्ड यो खेलमा जित लक्ष्यका साथ मैदान उत्रिए पनि सफल हुन सकेन। मिचेल स्टार्कको इनस्विङ बलिङपश्चात् चुनौतीपूर्ण लक्ष्य पछ्याएको आयरल्यान्ड सुरुदेखि नै दबाबमा पर्‍यो। आयरल्यान्ड एक समय २५.५ को अवस्थामा पुगेका थियो। यद्यपि, लोर्सन टुकरले नटआउट ७१ रनको इनिङ खेले पनि आयरल्यान्डले जित निकाल्न सकेन। घरेलु टोलीले सहजै खेल आफ्नो बनायो।

त्यसअघि अस्ट्रेलियाका कप्तान आरोन फिन्चले ४४ बलमा ६३ रनको योगदान दिए र आफूमाथि लागेको आलोचना केही कम गर्ने प्रयास गरे। पछिल्लो समय खराब लयबाट गुज्रिएपछि उनको कप्तानी खोस्नुपर्ने आवाज आउन थालेको थियो। तर, यो प्रदर्शनले उनलाई केही राहत मिल्नेछ। अस्ट्रेलियाले छिटै विकेट गुमाए पनि फिन्चले धैर्यपूर्ण ब्याटिङ गर्दै इनिङ अगाडि बढाए। आइरिस बलरले सुरुमा कसिलो बलिङ गरेका थिए। यद्यपि, उनी र मार्कस स्टोइनिसले आइरिस बलर दबाबमा परेको समयमा फाइदा उठाउँदै आक्रामक ब्याटिङ गरे। स्टोइनिसले २५ बलमा ३५ रन जोडे।

मिचेल मार्सले २८ रन र टिम डेविडले नटआउट १५ रनको योगदान दिए। यता, लक्ष्य पछ्याएको आयरल्यान्डलाई दोस्रो ओभरको अन्तिम बलमा नै कप्तान एन्डी बलबिर्नीलाई ६ रनमा गुमाएपछि ठूलो धक्का लाग्यो। उनलाई प्याट कमिन्सले बोल्ड गर्दै घरेलु टोलीलाई पहिलो सफलता दिलाएका थिए। आक्रामक ब्याट्सम्यान पाउल स्टर्लिङ पनि सस्तैमा पवेलियन फर्किए। उनी ११ रनमा पार्ट टाइम बलर ग्लेन म्याक्सवेलद्वारा क्याच भए। म्याक्सवेलले नै अस्ट्रेलियालाई तेस्रो विकेटको सफलता दिलाए।  

उनले ह्यारी टेक्टरलाई ६ रनमा नै पवेलियनको बाटो देखाए। खातामा थप एक रन जोड्दा आयरल्यान्डले चौथो विकेट पनि गुमाउन पुग्यो। कर्टिस क्याम्फेर स्टार्कद्वारा डकआउट भए। स्टार्कले नै जर्ज डकरेललाई खाता नखोल्दै आउट गरेपछि आयरल्यान्ड २५.५ को नाजुक अवस्थामा पुग्यो। यद्यपि, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका टकर र ग्यारेथ डिलेनीले खेल समाल्ने प्रयास गरे पनि सफलता पाउन सकेनन्। 

प्रकाशित: १५ कार्तिक २०७९ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App