१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ट्वान्टी-२० विश्वकप २०२२: न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

ग्लेन फिलिप्सको सतक र ट्रेन्ट बोल्टको घातक बलिङमा न्युजिल्यान्डले ट्वान्टी-२० विश्वकपमा शनिबार श्रीलंकामाथि ६५ रनको सानदार जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।

एक सय ६८ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.२ ओभरमा एक सय २ रनमा अलआउट भएपछि न्युजिल्यान्डले तेस्रो खेलमा दोस्रो सफलता निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो। श्रीलंकाका ९ ब्याट्सम्यानले नै दोहोरो अंकमा रन बटुल्न सकेनन्। ओपनर पथुम निसान्का र तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका धनञ्जय डी सिल्भाले खाता खोल्न नै सकेनन्। त्यसअघि कुशल मेन्डिस चार रनमा दोस्रो विकेटका रूपमा आउट भएका थिए। त्यसपछि चरिथ असलान्का पनि ४ रन र चमिका करुणारत्नेले ३ रनमा क्रमशः आउट भए।

सातौं ओभरमा पाँच विकेट पतन हुँदा श्रीलंकाको खातामा २४ रन मात्र थियो। भानुका राजपाक्षेले कप्तान दसुन सनाकासँग छैटौं विकेटका लागि ३४ रनको साझेदारी गरे। राजापाक्षे २२ बलमा ३४ रन बनाएर आउट भए। १०औं ओभरमा आउट भएका राजापाक्षेले तीन चौका र दुई छक्का प्रहार गरे। त्यस पछि फेरि श्रीलंकाको इनिङ धरमरायो। वनिन्दु हसरंगा ४ र महेस थिकसाना शून्यमा नै आउट भए। कप्तान दासुन सनाका ३२ बलमा ३५ रन बनाएर पवेलियन फर्किए। त्यसबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। इश सोढीले लाहिरू कुमारालाई आउट गर्दै श्रीलंकाको दशौं विकेट निकाले।

श्रीलंकालाई सस्तैमा समेट्न बोल्टले चार ओभरमा १३ रन खर्चिएर चार विकेट लिए। मिचेल सान्टनर र सोढीले समान दुई विकेट निकाले। टिम साउथी र लोकी फर्गुसनको नाममा १/१ विकेट रह्यो। खराब सुरुआत गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा सात विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो। न्युजिल्यान्डले १५ रन जोड्दा तीन महत्त्वपूर्ण खेलाडी फिन अलिन, डेभोन कनवे र केन विलियम्सनलाई गुमाउन पुग्यो। तर, फिलिप्सले इनिङ समाले र न्युजिल्यान्डले मध्यम लक्ष्य दियो। फिलिप्सले ६४ बलमा एक सय ४ रनको इनिङ खेले। डेरिल मिचेलले २२ रन बनाए।

फिलिप्स र डेरिलले ८४ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई ९९ रनको आँकडा पार गराए। फिलिप्सले चार छक्का र १० चौका प्रहार गरे। फिलिप्स जारी विश्वकपमा सतक बनाउने दोस्रो खेलाडी समेत हुन्। यसअघि दक्षिण अफ्रिकाका रिले रोसौले बंगलादेशविरुद्ध एक सय ९ रनको सतकीय इनिङ खेलेका थिए। श्रीलंकाको बलिङमा कसुन रन्जिथाले दुई विकेट लिँदा महेश, धनञ्जय, वानेदु र लिहिरूले १/१ विकेट निकाले। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले खराब सुरुआतको बाबजुद सम्हालिएको प्रदर्शन गर्दा जित सम्भव भएको बताए।

‘अपेक्षाभन्दा राम्रो गर्न सक्यौं। धरमराएको अवस्थामा मध्य क्रमका ब्याट्सम्यानबाट सम्हालिएको प्रदर्शन भयो। जसका कारण विपक्षीलाई दबाब दिन सक्यौं,’न्युजिल्यान्ड कप्तान विलियम्सनले भने, ‘खेलाडीले रणनीतिलाई अवलम्बन गरे र त्यस कारण पनि सफल हुन सक्यौं।’ 

प्रकाशित: १३ कार्तिक २०७९ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App