coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद २०७९: त्रिभुवन आर्मीलाई रनिङ ट्रफी

गण्डकी प्रदेशको पोखरामा बिहीबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।

कुल ११ टोली सहभागी टोलीमध्ये आर्मी एक सय ७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित च्याम्पियन बन्यो। यससँगै आर्मीले यसै संस्करणदेखि व्यवस्था गरिएको रनिङ ट्रफी पायो। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त ट्रफी हस्तान्तरण गरेका थिए।

आर्मी सातौंदेखि नवौंसम्म लगातार च्याम्पियन बनेको हो। दोस्रो र तेस्रो स्थानमा पनि विभागीय टोलीकै वर्चस्व रह्यो। एपिएफ कुल ६५ स्वर्ण, ७२ रजत र ८२ कांस्य तथा पुलिसले ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्य पदक सहित तेस्रो भयो। घरेलु टोली गण्डकीले भने प्रदेशहरूमा सबैभन्दा सफल रहँदा ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्य पदक जित्यो।

यस संस्करणमा पहिलो स्वर्ण पुलिसले र अन्तिम स्वर्ण एपिएफले जितेको थियो। पुलिसले काठमाडौंमा सम्पन्न पुरुष क्रिकेटमा जितेको थियो। एपिएफले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई सेडन डेथमा ५-४ गोलअन्तरले हराउँदै स्वर्ण जित्यो। त्यो नै यस संस्करणको अन्तिम स्पर्धा र स्वर्ण थियो। यस संस्करणमा कर्णाली प्रदेशले दुई स्वर्ण मात्र जित्यो। कर्णालीका लागि दुर्गाबहादुर बुढाले तीन हजार मिटर स्टिपल चेज र उसुका दीपक हमालले स्वर्ण जिते।

आर्मी चौथोदेखि राष्ट्रिय खेलकुदमा सहभागी भए पनि पाँचौं र सातौंमा नेकपा माओवादी केन्द्रको पिएलए क्लबको सहभागिताका कारण खेलेन। आर्मीले पाँचौंमा पिएलए सहभागी विधामा प्रतिस्पर्धा नगर्दा छैटौं राष्ट्रिय खेलकुद नै खेलेन। सातौंदेखि आर्मीले राष्ट्रिय खेलकुदमा दबदबा बनाउँदै आएको छ। जुन, आर्मीले पोखरामा पनि दोहोर्‍यायो। पहिलो तीन संस्करणमा विभागीय टोलीको सहभागिता नरहँदा भने १४ अञ्चलले प्रतिस्पर्धा गर्ने व्यवस्था थियो।

यस पटक भने सात प्रदेश, तीन विभाग (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपिएफ) तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टोलीका ६ हजार एक सय २७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। सात दिनसम्म गण्डकी प्रदेशका जिल्ला कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जा, नवलपुर, तनहुँ र र गोरखामा खेल प्रतिस्पर्धा सम्पन्न भएको थियो।

प्रकाशित: ४ कार्तिक २०७९ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App