२ असार २०८१ आइतबार
image/svg+xml
खेल

गांगुलीलाई भाजपाले रोकेको आरोप

गांगुली र बिन्नी बायाँ र दायाँ। तस्वीर: एजेन्सी

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) मा आबद्ध हुन अस्वीकार गरेकाले भारतीय क्रिकेटका पूर्वकप्तान सौरभ गांगुलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को अध्यक्षमा पुनः निर्वाचित हुन रोकिएको उनका निकटस्थले आरोप लगाएका छन्।

गांगुली भारतीय क्रिकेटका चर्चित पूर्वकप्तान हुन् र उनी पछिल्ला तीन वर्षयता विश्व क्रिकेटकै शक्तिशाली क्रिकेट बोर्ड बिसिसिआईका अध्यक्ष थिए। यद्यपि, उनलाई दोस्रो कार्यकाल सो पदमा दोहोर्‍याउन सत्तारुढ दल भाजपाले रोकेको आरोप लागेको छ।

आगामी हप्ता बोर्डको वार्षिक साधारण सभाबाट बिसिसिआईको नेतृत्व चयन हुँदै छ। तर, ५० वर्षे गांगलुलाई सो पदमा दोहोर्‍याउनबाट प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी बिजेपीले रोकेको आरोप लागेको छ। उनको स्थानमा सन् १९८३ का विश्वकप विजेता रोजर बिन्नीले अध्यक्ष पदका लागि मनोनयन दर्ता गरिसकेका छन्।

बिन्नी नै अर्को हप्ता सर्वसम्मत सो पदमा निर्वाचित हुन सक्ने सम्भावना रहेको बोर्डका उपाध्यक्ष राजीव शुक्लाले बताएका छन्। पश्चिम बंगालको सत्तारुढ पार्टी तृणमूलका प्रवक्ता कुणाल घोषले गत वर्ष भएको विधानसभा निर्वाचनमा आफ्नो पार्टीबारे जनतालाई राम्रो सन्देश प्रवाह गर्न सहयोग नगरेको भन्दै भारतीय जनता पार्टीले उनलाई अपमानजनक तरिकाले उक्त पदबाट हटाउन लागिपरेको आरोप लगाएका छन्। ‘यो राज्यमा लोकप्रिय गांगुलीले चुनावमा राम्रो सन्देश दिऊन् भन्ने भाजपाको प्रयास थियो। तर, उनले यसो गरेनन्। त्यसैको प्रतिशोध अहिले लिइएको हो। गृहमन्त्री अमित साहका छोरा जय साहले सचिवमा दोहोर्‍याउन हुने, तर देशका लागि योगदान पुर्‍याएका दादा (गांगुलीको उपनाम) लाई मात्र रोक्न काम भयो,’ घोषले भने।

विपक्षी दल निकट कानुनविद् शान्तनु सेनले आफू गांगुलीको साथमा रहेको उल्लेख गरेका छन्। यसै महिना भारतका गृहमन्त्री अमित साह र गांगुलीबीच भेट भएको थियो। त्यससँगै अधिकांश पदाधिकारी दोहोरिँदा उनलाई मात्र रोकिएको छ। भारतको उच्च अदालतले खेलकुद पदाधिकारीमा लगातार सोही पदमा दोहोर्‍याउन नपाउने प्रावधान हटाउने फैसला गरेको थियो, जुन गृहमन्त्रीका छोरा जयकै लागि गरिएको आरोप लागिरहेको छ। यद्यपि, भाजपाले भने यी सबै आरोप खण्डन गरेको छ।

भारतीय खेलकुदमन्त्री अनुराग ठाकुरका भाई अरूण धुमललाई इन्डियन प्रिमियर लिगको अध्यक्ष बनाउन लागिएको छ। गत मंगलबार मुम्बईमा बिसिसिआईको बैठक भएको थियो, जहाँ देशका सबै राज्यका प्रतिनिधि सामेल थिए। सोही बैठकमा नयाँ कार्यसमिति सर्वसम्मत बनाउने प्रयास भयो र जहाँ गांगुली एक्लो भएका थिए। बोर्डका अध्यक्षले नै आगामी कार्यकालका लागि अध्यक्ष प्रस्ताव गर्ने प्रावधान भए पनि गांगुलीले कसैको नाम प्रस्ताव गरेनन्। आगामी अक्टोबर १८ मा मुख्य पाँच पदमा निर्वाचन हुँदै छ, जसको अन्तिम उम्मेदवारी दिने समय बुधबारसम्म तय थियो।

प्रकाशित: २७ आश्विन २०७९ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App