coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद: प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीसँग आग्रह

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीसँग आग्रह गरेका छन्।

प्रदेश खेलकुद परिषद् गण्डकीले शनिबार पोखरामा विभिन्न संघसंस्थासँग गरेको अन्तरक्रिया कार्यक्रममा सदस्यसचिव घिसिङले सो आग्रह गरेका हुन्। ‘हामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा छौं। गण्डकी आयोजक प्रदेश भएको नाताले पनि प्रतियोगिता सफल बनाउने जिम्मेवारी यहाँहरूको काँधमा छ,’ उनले भने, ‘म गण्डकी प्रदेशवासीलाई यो अभियानमा जुट्न आग्रह गर्दछु।’

‘नेपालको खेलकुद ऐन कार्यान्वयन भएसँगै संघीयताको मोडलमा पहिलो पटक नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भइरहेको बताउँदै सदस्यसचिव घिसिङले पनि यो प्रतियोगिताको महत्त्व छुट्टै रहेको बताए। उनले भने, ‘हामीले नयाँ खेलकुद विकास ऐनको जगमा उभिएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्दै छौंं, त्यसैले पनि यसको महत्त्व र मर्मबारे बुझ्न आवश्यक छ।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम तयारी भइरहेको बताउँदै यहाँ आउने खेलाडीलाई न्यानो आतिथ्य प्रदान गरिने सन्देश प्रवाह गर्न उनको आग्रह थियो।

असोज २३ गतेबाट नै औपचारिक रूपमा नवौं राष्ट्रिय खेलकुदका प्रतियोगिताका सुरु हुने जानकारी दिंदैं सदस्य सचिव घिसिङले असोज २८ गतेको उद्घाटन समारोह तथा कात्तिक ३ गते हुने समापन समारोहमा पोखरा रंगशालामा आउन आह्वान गरे। उनले खेलाडीहरूलाई प्रोत्साहन गर्न पोखरेलीलाई आग्रह गर्दै राष्ट्रिय प्रतियोगिताअन्तर्गत हुने खेल अवलोकनका लागि कुनै टिकटको व्यवस्था नगरिए पनि भलिबल र फुटबलको सेमिफाइनलदेखिका खेलको भने टिकटको व्यवस्था गर्न लागिएको जानकारी दिए।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ३९ वर्षपछि पुनः गण्डकीले आयोजना गर्न पाउनु गौरवको कुरा रहेको बताउँदै यसको सफलतामा पोखरेलीहरूको पनि उत्तिकै ठूलो सहयोग र सहभागिताको खाँचो रहने औँल्याए। कार्यक्रममा पोखराका विभिन्न खेल आयोजना हुने वडाका वडाध्यक्ष, उद्योगी र पर्यटन व्यवसायी, विभिन्न संघ-संस्था, प्याब्सन, एनप्याब्सन, हिसान, वित्तीय संस्थाका प्रतिनिधिको सहभागिता थियो।

यसैबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले अर्काे एक कार्यक्रममा सबै एक भएर राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न आग्रह गरेका छन्। नवौं राष्ट्रिय प्रतियोगताका लागि गठित विभिन्न उपसमितिका संयोजक तथा सचिवहरूको पोखरामा भएको बैठकलाई सम्बोधन गर्ने क्रममा सदस्यसचिव घिसिङले उक्त आग्रह गरेका हुन्। विभिन्न उपसमितिका कार्यको प्रगति विवरणको जानकारी लिने क्रममा आयोजना गरिएको बैठकमा सदस्यसचिव घिसिङले सबैको सहयोग र सहकार्यले मात्र राष्ट्रिय प्रतियोगिता सफल हुने बताए।

विविध कारणले भौतिक रूपमा बैठकमा उपस्थित हुन नसकेका उपसमितिका संयोजक र सचिवहरूका लागि जुममार्फत बैठकमा सहभागिता जनाउन सहज गरिएको थियो। बैठकमा सबैले आआफ्नो कार्यको प्रगतिविवरण प्रस्तुत गरेका थिए।

प्रकाशित: २३ आश्विन २०७९ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App