१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

‘इन्डोनेसियाका कुनै रंगशाला सुरक्षित छैनन्’

खेलको नतिजालाई लिएर भ्रमणकारी टोलीका समर्थक मैदान उत्रिएसँगै निम्तिएको झडपले उग्र रूप लिएसँगै त्यसले इन्डोनेसियामा सबैभन्दा चर्चित खेल फुटबलको संरचनामा नराम्रो धक्का दिएको छ। त्यसले यहाँको फुटबल संघ दशकौंदेखि कति व्यवस्थित रूपमा अघि बढिरहेको थियो भन्ने उदांगो पारिदिएको छ।

एक साताअघि भएको दुर्घटनामा १ सय ३१ जनाले ज्यान गुमाएका थिए। मृतकमध्ये ३२ बालबालिका थिए। इन्डोनेसियाको शीर्ष डिभिजनअन्तर्गतको खेलपछि भएको झडपले इन्डोनेसियाकै खेलजगत्मा नराम्रो तरंग प्रदान गरिदिएको छ।

‘यो दुर्घटनाले इन्डोनेसियाको खेलकुद विशेष गरी फुटबल कति अव्यवस्थित ढंगमा अघि बढिरहेको छ भन्ने उदांगो पारिदिएको छ,’ इन्डोनेसियाका फुटबल कमेन्टेटर मोम्म खुसानैनले भने, ‘यो खतराको संकेत मात्र हो। यसलाई अझै पनि हल्का रूपमा लिने हो भने यसले कुनै दिन अझ ठूलो दुर्घटना ननिम्त्याउला भन्न सकिँदैन।’

इन्डोनेसिया फुटबल संघका अध्यक्ष जोको विडोडोले बुधबार मलंगस्थित कान्जिरुहान स्टेडियम भ्रमण गरेका थिए। उनले जकार्तामा रहेको ७८ हजार दर्शक क्षमताको रंगशालामा लिगका बाँकी खेल खेलाउन निर्देशन दिएका थिए।

समर्थकबीचको झडपपछि भएको भागाभागमा हजारौं समर्थक घाइते भएका थिए। स्थानीय अधिकारीहरूका अनुसार सो रंगशालाको प्यारापिटबाट बाहिरिने गेटबाट एक पटकमा मुस्किलले दुई जना मात्र निस्कन मिल्छ। घटनाको समयमा धेरै गेट बन्द अवस्थामै रहेको बताइएको छ।

‘हामी अहिले सतर्क नहुने हो भने भविष्यमा अझै भयावह स्थिति आउन सक्छ,’ इन्डोनेसियाका फुटबल विश्लेषक पान्गिरेन सियाहानले भने, ‘इन्डोनेसियामा भएका कुनेै पनि फुटबल रंगशाला सुरक्षित छैनन्।

कमेन्टेटर खुसानैनका अनुसार इन्डोनेसियामा भएका अधिकांश रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दैनन्। केही रंगशालाको प्यारापिटमा सिट हटाउँदै ल्यहाँ धेरैभन्दा धेरै समर्थक उभिन मिल्ने व्यवस्था गरिएको छ। जसले झनै खतरा निम्त्याउने उनको बुझाइ छ।

अध्यक्ष विडोडोले जाकार्तामा रहेको जिलोरा बुङ कर्नो स्टेडियम सुरक्षित रहेको र कुनेै दुर्घटना भइहालेका खण्डमा समर्थकहरू घटना घटेको १५ मिनेटभित्र सुरक्षित रूपमा बाहिरिन सक्ने दाबी गरे।

‘हामीले पछिल्लो घटनाबाट पाठ सिक्नुपर्नेछ। सानोतिनो झडप यसअघि पनि नभएका होइनन्, तर दोषीमाथि कडा कारबाही नगरिएका कारण सो घटना घटेको हो,’ घटनाको अनुसन्धानका लागि गठित छानबिन समितिका सदस्य अकमल मर्हालीले भने, ‘अनुसन्धान प्रक्रिया नै नयाँ ढंगबाट अघि बढाउनुपर्छ। त्यस्ता क्लब र समर्थकमाथि आजीवन प्रतिबन्ध लगाउनुपर्छ।’

‘हामीले सुरक्षाका सबै विधि अपनाएका थियौं। हामीलाई एरेमा एफसी र पेर्सेबाया सुराबाया चिर प्रतिद्वन्द्वी हुन् भन्ने पनि थाहा थियो,’ इन्डोनेसिया फुटबल संघका उपमहासचिव माइके इरा पुष्पिताले भनिन्।

दुई दशकमा एरेमा एफसीले चिर प्रतिद्वन्द्वी पेर्सेबायासँग पहिलो हार व्यहोरेसँगै आक्रोशित बनेका एरेमाका समर्थक मैदान प्रवेश गरेपछि त्यहाँको स्थिति नियन्त्रणबाहिर गएको थियो।  

प्रकाशित: २३ आश्विन २०७९ ०१:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App