७ वैशाख २०८१ शुक्रबार
खेल

भुटानविरुद्ध फराकिलो अन्तरको जित लक्ष्य

दक्षिण एसियाली फुटबलको उमेर समूहमा आफूलाई सधैं उपाधि दाबेदार टोलीको रूपमा उभ्याउँदै आए पनि नेपाल पछिल्ला केही वर्षयता भने सोही छवि फर्काउन संघर्षरत छ।

साफ यु-१७ च्याम्पियनसिप २०२२ मा नेपाललाई दाबेदार टोलीको छवि फर्काउने सुनौलो अवसर समेत बन्न सक्छ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा बुधबार भुटानको सामना गर्दा नेपाल जितसहित साफ यु–१७ च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ। भुटानमाथि नेपालको जितले समूह ‘बी’ को सेमिफाइनल समीकरण पूरा हुनेछ। खेल नेपाली समय अनुसार बुधबार दिउँसो ३ः१५ मा सुरु हुनेछ। सोमबार पहिलो खेलमा साबिक विजेता भारतले भुटानमाथि ३–० को सहज जित निकालिसकेको छ। जसले उसको सेमिफाइनल प्रवेश सम्भावना पनि बलियो बनाएको छ।

प्रतियोगितामा सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजिन गरिएको छ। समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन्। समूह ‘बी’ मा नेपाल, भारत र भुटान छन्। नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको तयारी राम्रो भएकाले भुटानविरुद्ध जितसहित सुखद सुरुआत गर्नेमा विश्वस्त रहेको बताए। ‘हामीले प्रतियोगिताका लागि राम्रो तयारी गरेका छौं,’ श्रेष्ठले भने, ‘कोलम्बो आएपछि पनि हामीले केही दिन प्रशिक्षण गर्‍यौं। टोलीमा खेलाडी सबै फिट छन्। त्यसैले भुटानविरुद्ध जितसहित सुखद सुरुआतको लक्ष्यमा छौं।’ यसअघि यु–१५ र यु–१६ को उमेर समूहमा हुँदै आएको प्रतियोगिता यस पटकबाट भने यु–१७ को उमेरसमूहमा आयोजना हुँदै छ।

यो प्रतियोगिताको सातौं संस्करण हो। अहिलेसम्म नेपालले यस प्रतियोगिताको उपाधि जित्न सकेको छैन। सन् २०१३, २०१७ र २०१९ मा फाइनल प्रवेश गरे पनि नेपाल उपविजेतामा सीमित भएको थियो। तीनै पटक नेपाल भारतसँग निराश भएको थियो। श्रेष्ठले भुटान पहिलो खेलमा भारतसँग पराजित भए पनि उनीहरूलाई कमजोर टोलीको रूपमा नलिने बताए। ‘यो उमेर समूहको प्रतियोगिता हो। सबैको स्तर समान छ,’ श्रेष्ठले भने, ‘भुटानले भारतलाई सहज नतिजा सुम्पिए पनि हामी उनीहरूलाई हल्का रूपमा लिँदैनौ। हामी आफ्नो स्वाभाविक खेल खेल्दै राम्रो नतिजा ल्याउनेमा केन्द्रित छौं।’

श्रेष्ठ भुटानमाथि जित निकाल्न सकेमा त्यो भारतविरुद्धको खेलका लागि फाइदाजनक हुने बताउँछन्। ‘हाम्रो समूहमा भारतले विजयी सुरुआत गरिसकेको छ,’ उनले भने, ‘भुटान केही दबाबमा छ। हामी त्यो दबाबको फाइदा उठाउँदै भारतविरुद्धको खेलमा आफूमाथिको दबाब हटाउन  चाहन्छौं। भुटानलाई ठूलो गोल अन्तरमा पराजित गरेमा र भारतविरुद्धको जित वा बराबरीले हामी समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गर्न सक्छौं।’ समूह ‘ए’ मा बंगलादेश बलियो देखिएको छ। श्रीलंका र माल्दिभ्समध्ये एक टोलीसँग हाम्रो प्रतिस्पर्धा हुनेछ। जसबाट हामीलाई उपाधिका लागि अघि बढ्दा केही सहज हुन्छ।

भुटानका प्रशिक्षक तासी हिदिहारु ताकाहासीले लगातारको वर्षाका कारण भारतविरुद्ध स्वाभाविक लयअनुरूपको प्रदर्शन गर्न नसके पनि नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा प्रवेश गर्नेमा आशावादी रहेको बताए। ‘हामीले राम्रो तयारी गरेका थियौं। हामीले भारतलाई पनि बलियो टक्कर दिएका थियौं,’ उनले भने, ‘तर लगातारको वर्षाका कारण मैदान हिलाम्मे भयो जसबाट हामीले स्वाभाविक खेल पस्कनै सकेनौं। हामी नेपालविरुद्धको खेलमा दबाबमा हुनेछौं। यद्यपि टोली सो दबाब चिर्न सफल हुनेमा म ढुक्क छु।’ नेपालविरुद्धको हारले भुटानको साफ यु–१७ को यात्रा समूहचरणमा सीमित हुनेछ। यता समूह ‘ए’ मा बंगलादेश बलियो देखिएको छ। बंगलादेशले पहिलो खेलमा आयोजक श्रीलंकामाथि ५–१ को रबाफिलो जित निकालेको थियो।

प्रकाशित: २२ भाद्र २०७९ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App