१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपालले नेत्रहीन ट्वान्टी–२० विश्वकप खेल्ने

नेपालले भारतमा आयोजना हुने तेस्रो ट्वान्टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा खेल्ने भएको छ।

विश्व नेत्रहीन क्रिकेट संघको आयोजना र नेत्रहीन क्रिकेट संघ भारतको व्यवस्थापनमा आगामी डिसेम्बर ४ देखि १७ सम्म भारतको नयाँदिल्ली र बेंग्लौरमा ट्वान्टी–२० नेत्रहीन विश्वकप क्रिकेट हुँदै छ।

जहाँ नेपालसहित आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन्। आइतबार नेत्रहीन क्रिकेट संघ नेपालले एक विज्ञप्ती जारी गर्दै आगामी ट्वान्टी–२० विश्वकपमा नेपालको पनि चुनौती रहने जानकारी दिएको हो।  

विश्वकपको उद्घाटन डिसेम्बर चारमा नयाँ दिल्लीमा र समापन भने बेंग्लौरमा हुनेछ। यस विश्वकपमा आयोजक भारत, नेपाल, बंगलादेश, पाकिस्तान, इङ्ल्यान्ड, श्रीलंका, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्नेछन्।

खेल राउन्ड लिगका आधारमा हुनेछन्। यसै विश्वकपलाई लक्षित गर्दै नेत्रहीन क्रिकेट संघ नेपालले देशभरका खेलाडीहरू समावेश गर्दै छनोट सुरु गर्ने जनाएको छ। आगामी कात्तिक १ र २ गते छनोट प्रतियोगिताको आयोजना हुनेछ। उक्त प्रतियोगिताबाट नेपालको १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिने संघले जनाएको छ।  

नेपाली टोलीलाई नोभेम्बर १५ देखि ३० सम्म काठमाडौंमा नै बन्द प्रशिक्षणमा राख्ने संघको योजना छ। आयोजक रास्ट्रले सहभागी देशको आवास तथा खानपानको मात्र व्यवस्थापन मात्र गर्ने भएकाले तयारी र विश्वकप खेल्न आवश्यक पर्ने आर्थिक पाटो व्यवस्थापन गर्न नेत्रहीन क्रिकेट संघ नेपालमाथि चुनौती थपिएको छ। 

प्रकाशित: २० भाद्र २०७९ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App