coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

फराकिलो गोल अन्तरले विजयी हुँदै हाटखोला क्वाटरफाइनलमा

आयोजक विराट मेघा भेट्रान्स क्लब (ए)लाई फराकिलो गोलअन्तरमा पराजित गर्दै विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा विराटनगरकै हाटखोला भेट्रान क्लब पुगेको छ।  

सोमबार राति भएको खेलमा हाटखोलाले आयोजकलाई १० को फराकिलो गोल अन्तरम पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। खेलको पूरै समय आफ्नो कब्जा राखेर एकलौटी खेल प्रदर्शन गरेको हाटखोलाको जितमा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेल खेलेर अनुभव बटुलेका खेलाडीहरु थिए। हाटखोलाबाट राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापासहित ८ जना ‘ए’ डिभिजन खेलमा सहभागी भई अनुभव बटुलेका खेलाडी मैदानमा थिए। आयोजकको टोलीमा सुरेन्द्र तामाङ बाहेक अन्य खेलाडी अनुभवविहीन रहेको फाइदा उठाउँदै हाटखोलाले एकलौटी खेल खेल्दै फराकिलो गोल संख्यामा जित निकाल्न सफल भएको हो।

म्यान अफ द म्याच राजकुमार घिसिङले ह्याट्रिक गोल गरे। राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापा र विक्रम श्रेष्ठले २–२ गोल, तेजबहादुर घलानी, सुमन श्रेष्ठ तथा नरेश श्रेष्ठले समान १–१ गोल गरे।  

खेलको १६ र ५१ औं मिनेटमा विक्रम श्रेष्ठले गोल गरे। २१ औं मिनेटमा तेजबहादुरले गोल गर्दै टोलीलाई अघि बढाए। २८ औं मिनेटमा सुमन श्रेष्ठले थपे। ३९ औं मिनेटमा नरेश श्रेष्ठले गोल गरे। ४५, ४९ र ६७ औं मिनेटमा राजकुमार घिसिङले गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक गर्ने खेलाडी बने। हाटखोलाका कप्तान सागर थापाले ४७ औं र ५५ औं मिनेटमा गोल गरे।  

प्रतियोगिताअन्तर्गत मंगलबार मधेस प्रदेशको लाहन भेट्रान क्लबले आयोजक विराट मेघा भेट्रान क्लब ‘बी’ सँग प्रतिष्पर्धा गर्ने छ।

सागर थापाको कप्तानीमा जित  

आफ्नो खेल सुरुआत गरेको सहिद मैदानबाट राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापाले पुनः खेललाई निरन्तरता दिएका छन्। सहिद मैदानसँगै रहेको मोतीराम स्पोर्टिङबाट खेल जीवन सुरुआत गरेका थापा अहिले हाटखोला भेट्रान क्लबबाट पुनः खेलको  सुरुआत गरेका हुन्। उनको हाटखोला क्लब पनि घरेलु टोलीसरह नै हो।  

थापा अहिले भेट्रान खेलाडीका रुपमा मैदानमा उत्रेका हुन्। लामो समयको प्रतिबन्धपछि थापाले आफ्नो खेल सुरुआत गरेको मैदानमै पुनः खेलको थालनी गरे। उनकै कप्तानीमा हाटखोलाले जितेको छ।  

खेल मिलोमतो (म्याच फिक्सिङ)प्रकरणपछि पहिलो पटक पूर्व राष्ट्रिय कप्तान सागर थापा मैदानमा उत्रिएका हुन्। थापासहित ६ जनाविरुद्ध २०६८ सालमा विश्वकप छनोट चरणका खेलमा मिलोमतो गरेको आरोप लागेको थियो। २०७२ सालमा खेल मिलोमतो प्रकरणमा परेका थिए।  

थापालगायत अन्य ६ जना खेलाडीलाई खेल मिलोमतो प्रकरणमा २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो। सो क्रममा उनीहरुलाई २०७५ जेष्ठमा विशेष अदालत काठमाडौंले निर्दोष ठहर गर्दै सफाइ दिएको थियो। विशेषको फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिरमा पुनरावेदन ग¥यो। अदालतले खेल मिलोमतोको विषयमा कानुन निर्माण नभएका कारण सफाइ दिएको थियो।  

उनीहरुमा राज्यविरुद्धको अपराध मुद्दा सर्वाेच्च अदालतमा कायममै थियो। २०७७ असार २ गते सर्वोच्च अदालतले उनीहरुलाई सफाइ दियो। थापासहित ६ जनाविरुद्ध २०६८ सालमा विश्वकप छनोट चरणका खेलमा मिलोमतो गरेको आरोप लागेको थियो।  

 

प्रकाशित: १४ भाद्र २०७९ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App