१० खेलाडीमा सिमित हुँदै खेल अन्त्य गर्नाका वावजुद थप समयमा २ गोल गरेपछि नेपाल माल्दिभ्सलाई हराउन सफल भएको हो। निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएको थियो। अब नेपालले फाइनलमा आयोजक भारतको सामना गर्नेछ। बंगलादेशलाई ३–० ले हराएर भारतले नेपालसँगको भेट पक्का गरेको हो। महिला फुटबलको फाइनलमा पनि नेपाल र भारतबीच नै प्रतिस्पर्धा हुनेछ।
नेपालको जितमा फेरी एकपटक नवयुग श्रेष्ठ नायक बनेका छन्। उनले एक महिनाभन्दा कम समयमा तीन पटक ह्याटि्रक गरेका छन्। जारी सागमा भने उनको यो दोस्रो ह्याटि्रक हो। उनले बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा पनि माल्दिभ्सविरुद्ध ह्याटि्रक गरेका थिए। सागको ह्याटि्रक भने अन्तर्राष्ट्रिय फुटबलमा गणना हुदैन।
अञ्जन विष्टको गोलबाट १५ औं मिनेटमा खेलमा अग्रता लिएको नेपालले माल्दिभ्सलाई निर्धारित समयमै हराउने अनुमान थियो। ३६ औं मिनेटमा नवयुगले गोल थपेपछि नेपाल थप बलियो बन्यो। तर, माल्दिभ्सका मोहम्मद हाम्जाले ५२ औं मिनेटमा गोल फर्काएपछि भने नेपालमाथि विस्तारै दबाब पर्योन। ६६ औं मिनेटमा कमल श्रेष्ठ दोहोरोले पहेलो कार्ड पाउँदै मैदान छोडे नेपाल १० खेलाडीमा सिमित भएको थियो। एक खेलाडी कम भएपनि थप दबाब खेपेको नेपालले अन्तिम ४ मिनेट सम्हालिन नसक्दा खेल २–२ को बराबरीमा पुगेको थियो। अहमेद नासिदले ८६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए।
थप समयमा माल्दिभ्सले अग्रता लिएपछि नेपालको फाइनल पुग्ने सम्भावना पुनः धर्मराएको थियो। हसन नियाजले थप सयमको २४ औं मिनेटमा गोल गरेपछि खेल मादिभ्सको पक्षमा जाने निश्चित जस्तै देखिएको थियो। तर, खेलले त्यसपछि अर्को नाटकिय मोड लियो। नेपाली टोलीका संकट मोचकका रुपमा उदाइरहेका नवयुगले फेरी एक पटक टोलीको संकट टारे। थप समयको २७ औं मिनेटमा बराबरी गोल फर्काएका नवयुगले ३० औं मिनेटमा निर्णायक गोल गर्दै नेपाललाई स्वर्ण पदकको दाबेदार बनाए।
नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्यले खेलाडीको उच्च पं्रसंसा गरे। 'यो भन्दा राम्रो फुटबल खेल्न सकिन्न। दोस्रो हाफमा हामीले केही कजोरी गर्यौंय,' उनले भने,'अत्तालिएका कारण काउन्टरमा गोल खायौ। त्यसपछि दवावमा रातो कार्ड खानु अर्को दुर्भाग्य थियो।' नेपालले १९८४ र १९९३ मा साग फुटबलमा स्वर्ण पदक जित्दाका एक सदस्य शाक्यले भारतविरुद्ध अझै राम्रो खेल्ने विश्वास व्यक्त गरे।
माल्दिभ्सका प्रशिक्षक रिकी हवर्टले भने 'सुरुआतमा हामीले खेल्न सकेनौं। दोस्रो हाफमा सुधार गर्यौं। स्कोर पनि भयो। १० खेलाडीमा सिमित नेपाललाई रोक्ने मौका पनि मिल्यो। तर, अन्तिममा दुर्भाग्य भयो। लगभग जितेको खेल गुमाउँदा दुःख लागेको छ।'
प्रकाशित: १ फाल्गुन २०७२ २२:४७ शनिबार