coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

कीर्तिमान पछ्याउने चाहना

गत सिजन लिभरपुल दुर्लभ कीर्तिमानको संघारमा पुगेको थियो, एकै सिजन चार प्रमुख प्रतियोगिताको उपाधिनजिक। लिभरपुलले इङ्लिस लिग कप र एफए कपको उपाधि जितिसकेको थियो।

इङ्लिस प्रिमियर लिगको अन्तिम खेलअघि पनि टोली शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा मात्र एक अंकले पछि थियो। त्यस्तै टोलीले रियाल मड्रिडविरुद्धको च्याम्पियन्स लिगको फाइनल भिडन्त पनि पक्का गरिसकेको थियो।

तर प्रिमियर लिगमा दोस्रो स्थानमा चित्त बुझाएसँगै लिभरपुल सो दुर्लभ कीर्तिमानबाट टाढिएको थियो। च्याम्पियन्स लिगको फाइनलमा पनि लिभरपुलले रियाललाई १–० को नतिजा सुम्पिएको थियो। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने एकै सिजन चार उपाधि जित्ने कीर्तिमानबाट टाढिए पनि आफूलाई सो पीडा भुल्न मात्र एक दिन लागेको बताए। शनिबार लेस्टरको किङ्स पाबर स्टेडियममा सिटीविरुद्ध हुने कम्युनिटी सिल्ड अन्तर्गतको भिडन्त क्लोपको टोलीका लागि गत सिजनको पीडा भुलाउने अवसरसमेत बन्न सक्छ।

‘मलाई चार उपाधिको संघारमा पुगेर पनि निराश भएको घटनाबाट माथि उठ्न मात्र २४ घण्टा लाग्यो,’ क्लोपले भने, ‘हामी कीर्तिमानको संघारमा थियौं।

हामी अन्ततः दुर्भाग्यको सिकार भयौं। खेलकुदमा यस्तो घटना आइरहन्छ र यसलाई सामान्य रूपमा लिनुपर्छ। हामी ३८ खेलपछि मात्र एक अंकले पछि पर्‍यौं अनि च्याम्पियन्स लिगमा रियालसँग एक गोलले। हामीले नतिजा स्वीकार गर्नुपर्छ। गत सिजन जे भयो भयो अब नयाँ सिजनका लागि योजना बनाउने हो।

हामीले आफूलाई हरेक प्रतियोगितामा उपाधि दाबेदार टोलीका रूपमा उभ्याएका थियौं। हामीले यस सिजन पनि त्यही लयलाई दोहोर्‍याउँदै पुनः कीर्तिमान पछ्याउनुपर्नेछ।

एन्फिल्डमा यादगार ६ वर्ष बिताएका सेनेगलका स्ट्राइकर साडियो माने पनि टोलीबाट बाहिरिसकेका छन्। माने जर्मन बुन्डेसलिगाको महारथी बायर्न म्युनिख गएका थिए। यस क्रममा उनले एकपटक प्रिमियर लिग र एकपटक च्याम्पियन्स लिगको समेत उपाधि जिते। उनले लिभरपुलका लागि सबैखाले प्रतियोगिता गरी कुल २ सय ६९ खेलमा १ सय २० गोल गरे।

मानेको बहिर्गमन क्लोपको टोलीका लागि ठूलो धक्का पनि हुन सक्छ। तर क्लोप भने मानेको अनुपस्थिति बेन्फिकाबाट आएका उरुग्वेका स्ट्राइकर डार्विन नुनेजले मेटाउनेमा विश्वस्त छन्। ‘पक्कै पनि नयाँ सिजनका लागि टोलीमा केही परिवर्तन ल्याएका छौं,’ क्लोपले भने, ‘हामीले साडियोलाई गुमायौं तर हामीसँग नुनेज छन्। जसले प्रभावशाली प्रदर्शन गर्नेमा हामी विश्वस्त छौं।’

प्रकाशित: १४ श्रावण २०७९ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App