१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

खराब ब्याटिङको निरन्तरता

थाइल्यान्डसँग मंगलबार पराजय बेहोरेसँगै आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप खेल्ने नेपालको लक्ष्य समाप्त भएको छ। मलेसियाको क्रिकेट ओभलमा थाइल्यान्डसँग ४९ रनले स्तब्ध भएपछि अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला ट्वान्टी–२० विश्वकप खेल्ने नेपालको सपना पूरा नहुने भएको हो।

एसियाली छनोटमा चार खेलमध्ये दुई हार सामना गरेपछि विश्वकपमा छनोट हुने सपनासहित मलेसिया पुगेको नेपालको लक्ष्यले सार्थकता पाउन सकेन। कुल ६ राष्ट्र समावेश एसियाली छनोटबाट एक टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछ। छनोटमा दुई खेल बाँकी छँदा नेपाल चार अंकसहित अंकतालिकाको तेस्रो स्थानमा सीमित छ।

नेपालले गत शनिबार संयुक्त अरब इमिरेट्स (युएई) सँग १० विकेटको लज्जापूर्ण हार बेहोरेको थियो। अंकतालिकामा रहेका युएई र थाइल्यान्ड नै विश्वकप खेल्ने बलियो स्थितिमा छन्। समान चार खेलमा युएई र थाइल्यान्डले समान आठ अंक बटुलेका छन्। तर, नेट रनरेटका आधारमा पछि पर्दा थाइल्यान्ड दोस्रो स्थानमा छ। नेपालसँगै समान चार अंक भए पनि मलेसिया चौथो स्थानमा छ। समान चार खेलमा कतार र भुटानजितविहीन छन्।

थाइल्यान्डसँग ४९ रनले  स्तब्ध भएपछि अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला ट्वान्टी–२० विश्वकप खेल्ने नेपालको सपना पूरानहुने भएको छ। 

नेपालले चौथो खेलमा पनि खराब ब्याटिङलाई निरन्तरता दिएपछि हार बेहोर्‍यो। ९० रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा अलआउट हुँदा ४० रन मात्र जोड्यो। यस क्रममा नेपालले पाँच विकेट रनआउटकै रूपमा गुमाउन पुग्यो र कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

थाइल्यान्डकी नानथिता बोनसुखानले तीन विकेट तथा पोर्नफा साइहोइ र थान्यालक चुमनामले थप १/१ लिएपछि नेपालले फराकिलो हार बेहोर्‍यो। मध्यक्रमकी ब्याटर सृष्टि जैसीको ७ रन नै नेपालको लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। उनले २१ बल खेलेर उक्त रन जोडिन्। ओपनर सना प्रबिनले पनि २१ बल खेल्दा ६ रनको योगदान दिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८९ रन जोड्यो। उसका लागि थिपाचा पुतानवोङले ३० बलमा २० रन जोडिन्। ओपनर बनथिदा लेफतानाले १९ रन बनाइन्। सुवानान खिओतोले २४ बलमा १६ रन जोडिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंक रन बटुल्न नसके पनि त्यो योगफल नै थाइल्यान्डको जितका लागि पर्याप्त भयो।

नेपालका तर्फबाट मनीषाकुमारी उपाध्याय र कृत्तिका मरासिनीले समान दुई विकेट लिँदा स्नेहा महराको नाममा एक विकेट रह्यो। नेपालले पाँचौं तथा अन्तिम खेल बिहीबार मलेसियासँग खेल्नेछ। यो खेल जितेमा नेपालले तेस्रो स्थानमा रहेर छनोटको यात्रा टुङ्ग्याउनेछ। 

प्रकाशित: २५ जेष्ठ २०७९ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App