७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

आयोजकका रिकेश च्याम्पियन

आयोजक काभ्रे जिल्ला आइटिएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौं राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन्।

बनेपामा सम्पन्न एकदिने प्रोफेसनल च्याम्पियनसिपको फाइनलमा रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई हराउँदै च्याम्पियन भए। त्यससँगै रिकेशले ट्रफीसहित नगद ७५ हजार रूपैयाँ प्राप्त गरे।

काभ्रे आइटिएफ तेक्वान्दो संघ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा एपिएफका सागर विक तेस्रो भए। दोस्रो स्थानमा सीमित अनिलले ५० हजार र तेस्रो हुन सफल सागरले २५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे।

यस प्रतियोगितामा आयोजकसहित सात प्रदेश र दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल आर्मी क्लबका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीबाट तीन खेलाडी छनोट भएर आउनुपर्ने प्रावधान थियो। 

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा सदस्य सचिव घिसिङले व्यावसायिक खेल प्रतियोगिताहरूले नेपालको खेलकुद विकासमा ठूलो मद्दत पुग्ने उल्लेख गर्दै यस्ता किसिमका प्रतियोगिताले यहाँका युवा प्रतिभालाई समेत उत्प्रेरणा मिल्ने धारणा राखे।

‘यस किसिमका व्यावसायिक खेलले नेपालको खेल विकासमा मात्र नभई खेलाडीलाई आर्थिक सहायता पनि मिल्नेछ। मैले यो खेललाई नवौं राष्ट्रिय खेलकुदका लागि आइटिएफको टेस्ट परीक्षाका रूपमा पनि लिएको छु।

आशा छ, सबै खेलाडीले राम्रो प्रदर्शन गर्नु हुनेछ,’ सदस्यसचिव घिसिङले भने, ‘यस प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकले यहाँको सभ्यता र संस्कृति देशभर पुर्‍याउने भएकाले प्रतिस्पर्धा मार्फत पर्यटन विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छु।’ नेपाल अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमलाले सदस्यसचिव घिसिङको निरन्तरताले पछिल्ला समय नेपालको खेलकुदमा आशाको किरण पलाएको बताए। ‘वर्तमान सदस्यसचिवले खेल भावना बुझ्नु भएको र लामो समयदेखि खेल संघको नेतृत्व पनि गर्दै आउनुभएको छ।

त्यसैले उहाँलाई नै नेपालको खेल नेतृत्वका रूपमा पाउँदा निकै खुसी छौं र आशाको किरण पनि पलाएको छ। किनकि उहाँले खेलाडी, प्रशिक्षक र खेल संघको भावना बुझेर काम गर्नुहुन्छ भन्ने आभास भइरहेको छ,’ धमलाले भने।

सोही अवसरमा इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेसन (आइएसएफ) का कार्यकारी सदस्य एवम् अखिल नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष राजकुमार कार्कीले नेपालको खेलकुद विकासका लागि व्यावसायिक खेल आवश्यक रहेको औंल्याए। सो कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य पनि उपस्थित थिए। 

प्रकाशित: २२ जेष्ठ २०७९ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App