५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

चर्च ब्वाइज क्वार्टर फाइनलमा

आशिष चौधरीलाई म्यान अफ द म्याच प्रदान गरिँदै।

हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्ड कपमा चर्च ब्वाइज क्लव सानदार जितका साथ क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वार्टर फाइनलमा स्थान बनाएको हो। पहिलो हाफ गोलरहित भएको अवस्थामा निकै सुधारिएको खेल प्रस्तुत गर्दै चर्च ब्वाइजले दोस्रो हाफको तेस्रो मिनेटमै आशिष चौधरीको गोल मार्फत खाता खोलेको थियो।

खेलको ५७औं मिनेटमा हेमन्त थापा मगरले अग्रता दोब्बर बनाए। ७७ औं मिनेटमा चौधरीले नै टिमको लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे। खेलको ५७ औं मिनेटमा चौधरीले वान भर्सेस वान बल गोल गर्न सकेनन्। ६४ औं मिनेटमा चर्च ब्वाइजका सुनिल खड्काको प्रहार पोष्टमा लागेर फर्किएको थियो। ६६ औं मिनेटमा बीएफसी गोल अन्तर घटाउनबाट चुक्यो।

चर्च ब्वाइजका गोलरक्षक किशोर गिरी बिट भैसकेको अवस्थामा उनको प्रहार आकाशिएको थियो। खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। जारी प्रतियोगितामा शनिबार नेपाल एपीएफ क्लव र फ्रेण्ड्स क्लवको बीचमा खेल हुनेछ। यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्ड कपमा १२ क्लवको सहभागिता रहेको छ। प्रतियोगितालाई जिल्लाको १० वटै पालिकाले आर्थिक सहयोग गरेको छ। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा नव जनजागृति क्लव सिमरा, बागमती क्लव सर्लाही, त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरीको (एपीएफ) क्लव, मनाङ मर्स्याङ्दी क्लव, फ्रेण्डस्, खुमलटार युथ क्लव, विजय युथ क्लव हेटौंडा, बीएफसी चितवन, चर्च ब्वाइज क्लव र क्यामरुनको एभिनियर एफसी सहभागी छन्। प्रतियोगितामा करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रकाशित: २० जेष्ठ २०७९ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App