८ वैशाख २०८१ शनिबार
खेल

रोयललाई ह्याट्रिक उपाधि

आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले बुधबार जिएए तेस्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जित्दै ह्याट्रिक गरेको छ।

ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा रोयलले टाइम्स इन्टरनेसनल कलेजमाथि ८५–८४ को साँघुरो जितसहित ह्याट्रिक उपाधि पूरा गर्‍यो। ह्याट्रिक उपाधि यात्रामा यसअघिका फाइनलमा पनि रोयलले टाइम्सलाई नै हराएको थियो।

रोयलका निकेश मगरले ३४ स्कोर गरे। टाइम्सका मनीष केसीले ३७ स्कोर गरे। निर्धारित चार क्वार्टरको खेल ६७–६७ को बराबरीमा सकिएको थियो। त्यस पछि पनि दुई पटक अतिरिक्त समय थप्नुपर्‍यो। थप गरिएको पहिलो पाँच मिनेटको अतिरिक्त समयको खेल पनि १०–१० को बराबरीमा टुंगियो।

दोस्रो पटक थप गरिएको पाँच मिनेटको अतिरिक्त समयमा रोयल ८–७ ले अगाडि रहँदै समग्रमा फाइनल खेल १ अंकले जित्यो। उपाधिसँगै रोयलले ५० हजार नगद पुरस्कार पायो भने टाइम्सले १५ हजार नगदमा चित्त बुझायो। रोयलका आशिष बस्नेत मोस्ट भेलुएबल प्लेयर घोषित भए। उनले पाँच हजार नगदसहित शेर्पा चाइको गिफ्ट ह्याम्पर प्राप्त गरे। मोफसलको धरान मेघा कलेजले उदीयमान टिमको उपाधि हात पार्‍यो।

विजेतालाई नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङ, गोदावरी अल्मुनाई एसोसिएन (जिएए) का अध्यक्ष प्रकाशबाबु केसी र शेर्पा चाइका हेड ब्रिवर दिल्लीराम कोइरालाले एक कार्यक्रमबीच पुरस्कृत गरे। 

साताव्यापी प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। जिएएको आयोजनामा रोयलकै कोर्टमा भइरहेको फादर वाट्रिन स्मृति महिला खुला बास्केटबल प्रतियोगिताको उपाधिका लागि रोयल र जेभियर इन्टरनेसनल कलेज बिहीबार भिड्दै छन्।

प्रकाशित: १२ जेष्ठ २०७९ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App