६ वैशाख २०८१ बिहीबार
खेल

एमबाप्पेको निर्णयले रियाल निराश

स्पेनिस ला लिगाको महारथी रियाल मड्रिडले क्रिस्टियानो रोनाल्डो सान्टियागो बर्नाबेउमा रहँदा धेरै सफलता चुम्यो। लगातार तीन सिजन च्याम्पियन्स लिग जित्ने कीर्तिमानसमेत रच्यो। रियाल युरोपियन फुटबलमा सधैँ उपाधि दाबेदार टोलीको रूपमा रहिरह्यो।

अहिले करिम बेन्जेमा र भिनिसियस जुनियरले रियालको अग्रपंक्ति सम्हालिरहेका छन्। रियालले पछिल्लो केही सिजनदेखि निरन्तर किलियन एमबाप्पेलाई भित्र्याउन चाहेको थियो। तर शनिबार एमबाप्पेले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मै बस्ने निर्णय गरेपछि भने रियाल निराश बनेको छ।

एमबाप्पेले आफू रोनाल्डोको समर्थक रहेको र उनको तस्बिर आफ्नो कोठामा समेत राखेको बताएका थिए। मार्चमा च्याम्पियन्स लिगका लागि एमबाप्पे सान्टियागो बर्नाबेउमा आउँदा रियालका समर्थकले उनको समर्थन गरेका थिए। रियाल यस पटक भने एमबाप्पे सान्टियागो बर्नाबेउमा भित्रनेमा विश्वस्त थियो। एमबाप्पेले केही दिनअघि मात्र पनि आफूले क्लब भविष्यका बारेमा निर्णय गरिसकेको र छिट्टै नयाँ गन्तव्यबारे घोषणा गर्ने जनाएका थिए। एमबाप्पे र पिएसजीबीचको सम्झौता आगामी महिनासम्म मात्र थियो। त्यसैले धेरेको अनुमान थियो, यस पटक एमबाप्पे रियाल भित्रनेछन्।

गत वर्ष रियालले कप्तान सर्जियो रामोस र राफेल भरानसँगको सम्झौता नवीकरण गरेन। रियाल अन्य खर्च कटौती गर्र्दै एमबाप्पेलाई आकर्षक रकममा सान्टियागो बर्नाबेउ भित्र्याउन चाहन्थ्यो। एमबाप्पेसँगै रियाल इर्लिङ हल्यान्डलाई भित्र्याउने दौडमा समेत रहेको थियो। तर हल्यान्डले आफ्नो नयाँ गन्तव्यका रूपमा म्यानचेस्टर सिटी रोजे। एमबाप्पे र हल्यान्डले सान्टियागो बर्नाबेउमा आउन अस्वीकार गरेपछि रियाल निराश बनेको छ।

यसै सिजन ला लिगाको उपाधि जितेको रियालले मे २८ मा च्याम्पियन्स लिग फाइनलमा लिभरपुलको सामना गर्नेछ। रियाल च्याम्पियन्स लिग उपाधिका साथ एमबाप्पेलाई भित्र्याउन नपाएको चोटमा मलम लगाउन चाहन्छ। यस सिजन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न रियालले सिटीलाइ निराश पारेको थियो।

भिनिसियस जुयिनरले आफूलाई अब्बल स्ट्राइकरका रूपमा उभ्याएका छन् भने बेन्जमाले उत्कृष्ट प्रदर्शनका साथ आफूलाई बालोन डी’अरको दाबेदारका रूपमा उभ्याएका छन्।

एमबाप्पेले शनिबार पिएसजीमै तीन वर्षको सम्झौता थप गर्ने निर्णय गरेका थिए। एमबाप्पको पिएसजीमै बस्ने निर्णयले निराश बनेका रियालका अध्यक्ष फ्लोरेन्टिनो पिरेज अब प्रतिष्ठाका लागि भए पनि मोहम्मद सालाह, ह्यारी केन, रोबर्ट लोवान्डोवस्कीसँग सम्झौता गर्न आतुर छन्।

पिएएसजीलाई चिढ्याउनैका लागि भए पनि उनीहरूले भित्र्याउन चाहेका बार्सिलोनाका ओसामाने डेम्बेले भित्र्याउने दौडमा समेत रियाल प्रवेश गर्न सक्छ।

प्रकाशित: ९ जेष्ठ २०७९ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App