१३ असार २०८१ बिहीबार
image/svg+xml
खेल

प्रिन्स र रसिलालाई उपाधि

प्रिन्स दाहाल र विभागीय टोली त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले बिहीबार योनेक्स सनराइज दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको पुरुष एकलतर्फको फाइनल प्रतिस्पर्धामा रिभाइभ लिजर पार्कका प्रिन्सले विभागीय  प्रतिद्वन्द्वी त्रिभुवन आर्मीका नवीन श्रेष्ठलाई सोझो सेटमा हराउँदै उपाधि उचालेका हुन्।

पहिलो सेटमा २१–१७ को रोमाञ्चक जित निकालेका प्रिन्सले दोस्रो सेटमा २१–१० को सहज जित निकालेका थिए। च्याम्पियन भएका प्रिन्सले नगद १ लाख १५ हजार रूपैयाँ प्राप्त गर्दा उपविजेता बनेका नवीनले ५५ हजार रूपैयाँमा चित्त बुझाए। तेस्रो भएका दीपेश धामी र प्रफुल महर्जनले समान १५/१५ हजार रूपैयाँ प्राप्त गरे।

यस्तै महिलातर्फको उपाधि जितेकी रसिला महर्जनले आफ्नै विभागकी अनुमाया राईलाई सोझो सेटमा नै हराएकी हुन्। पहिलो सेटमा २१–१२ को सहज जित निकाले पनि दोस्रो सेट केही प्रतिस्पर्धात्मक बनेको थियो। सुरुआतबाट नै अग्रता लिएकी रसिलाले २१–१८ को सेटमा जित निकाल्दै च्याम्पियन भएकी हुन्। च्याम्पियन रसिलाले १ लाख १५ हजार रूपैयाँ प्राप्त गर्दा उपविजेता अनुमायाले ५५ हजार रूपैयाँ प्राप्त गरिन्। तेस्रो भएका प्रार्थना देउवा र जेसिका गुरुङले समान १५÷१५ हजार रूपैयाँ प्राप्त गरे।

पुरुष युगलतर्फ रिभाइभका प्रिन्स र आर्मीका नवीनको जोडीले आर्मीका प्रतिद्वन्द्वीलाई हराउँदै उपाधि जित्यो। प्रिन्स र नवीनको जोडीले आर्मीका पविन लिङ्थेब र सुरोज महर्जनको जोडीलाई १८–२१,२१–९ र २१–१८ ले पाखा लगायो। खेल निकै प्रतिस्पर्धात्मक बन्दा तेस्रो सेट निर्णायक बनेको थियो। पुरुष युगलतर्फको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार रूपैयाँ प्राप्त गरे।

यस्तै यु–१५ पुरुष एकलमा सिल्क ग्रुपका कविर केसीले एनआरएनका साहिल चन्दलाई २१–१९ र २१–१७ को सेटमा हराएर उपाधि उचाल्दा यु–१९ पुरुष एकलमा आर्मीका सन्तोष पनेरूले सिल्क ग्रुपका नरेन्द्र बमलाई २१–१२,१९–२१ र २१–१७ ले हराएर उपाधि हात पारे। यु–१९ महिला एकलको उपाधि भने आर्मीकी प्रार्थना देउवाले जितिन्। प्रार्थनाले आर्मीकै रोज पाण्डेलाई २१–१९,१३–२१ र २१–१४ ले पराजित गर्दै उपाधि हात पारेकी हुन्। यु–१५ महिला एकलमा आर्मीकी रोज पाण्डेले बिबिएकी रोजी राईलाई २१–६ र २१–१० को सोझो सेटमा हराएर उपाधि हात पारिन्।

यु–१५ पुरुष र महिलातर्फका विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार प्राप्त गरे। यु–१९ को पुरुष र महिलातर्फको विजेताले १५ हजार, उपविजेताले ७ हजार र तेस्रोले ३५ सय रूपैयाँ पाए।

हरिलाल धर्मदेवी मेमोरियल ट्रस्ट तथा अपी स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रतियोगिता संयोजक सुवास श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: २ वैशाख २०७९ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App