१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

नागरिक नायकको विद्यालय: १७ औँ वर्ष पनि शतप्रतिशत

विद्यालय शिक्षाको फलामे ढोका मानिने एसइई परीक्षाको नतिजा यो वर्ष नराम्ररी खस्कियो। आधाभन्दा धेरै विद्यार्थी त अनुत्तीर्ण नै भए। यसरी नतिजा खस्कनुमा यस वर्ष अपनाइएको अक्षरांकन पद्धतिलाई दोष लगाइएको छ।

यो त बाहाना मात्रै रहेछ ! पढाइ नै अब्बल भएपछि उत्कृष्ट नतिजा ल्याउन कुनै पनि पद्धतिले नछेक्ने रहेछ। यसको उदाहरण बनेको छ, दुर्गम हिमाली गाउँ हेलम्बुको मेलम्चीघ्याङ मावि। सधैँ झैँ विद्यालयले यो वर्ष पनि शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ। मेलम्चीघ्याङका  १५ विद्यार्थी ‘ए’ प्लस र १२ ‘ए’ ग्रेडसहित एसइई उत्तीर्ण भएका छन्।

मेलम्चीघ्याङले एसएलसीसहित एसइई परीक्षामा सहभागिता जनाउन थालेको १७ वर्ष भयो। उसले शतप्रतिशत नतिजा ल्याएको पनि यो १७ औँ नै पटक हो।

‘१७ वर्षदेखि लगातार शतप्रतिशत नतिजा ल्याउन सफल भएको छौँ,’ पूर्वप्रधानाध्यापक रहेका विद्यालयका शिक्षक पूर्ण गौतमले नतिजापछि नागरिक न्युजसँग टेलिफोनमा भने। 

हिउँमा कठ्याङ्ग्रिँदै, बादलभित्र लुकेर पढेकी विदुषा नेपाल विद्यालय प्रथम भइन्। उनले ३.९१ सिजिपिए ल्याइन्। उनी जिल्लाकै इन्द्रावती गाउँपालिकाकी हुन्। सिन्धुलीदेखि पढ्न आएकी थिङरिला तामाङले पनि ‘ए’ प्लस ल्याइन्।

परीक्षा दिएका २७ मध्ये १५ छात्रा हुन्। ‘जिल्ला टप गर्न भने यो पटक चुक्यौँ,’ आफ्नो अवकाशपछि शैक्षिक अवस्था खस्किनँ नदिन प्रधानाध्यापकमा टीका लिम्बुलाई जिम्मेवारी दिएर नेतृत्व सिकाइरहेका गौतमले थकथकाउँदै भने। एसइईमा सहभागिता जनाएयता मेलम्चीघ्याङका विद्यार्थीले धेरैपल्ट जिल्ला प्रथम भएका छन्।

सुगम र सहरका सुविधा सम्पन्न निजी विद्यालयकै नजिता सधैँ एकनासको हुँदैन। नतिजामा उतारचढाव भइरहन्छ। सामुदायिक विद्यालयको त झन् के कुरा गर्नु ! सरकारी विद्यालयमा अध्यापन गरेर निजीमा केटाकेटी पढाउने शिक्षक र सामुदायिक विद्यालयलाई अविश्वास मात्रै गर्ने अभिभावकलाई चुनौती दिँदै मेलम्चीघ्याङले भने लगातार शानदार नतिजा पस्किरहेको छ।

‘गुम्बाको गाउँ’, ‘स्याउको सहर’ शेर्पा समुदायको बसोबास र ह्योल्मो संस्कृतिले हेलम्बु जति सुन्दर र चर्चित छ, त्योभन्दा बढी भौगोलिक विकटता, दुःख र अभावले उति कहाली लाग्दो पनि। तर आश्चार्य यो छ, यहाँ पढ्ने विद्यार्थीले ‘ए’ प्लस कि ‘ए’ टप्काउँछन्।

यसअघि अंक मूल्यांकन पद्धतिमा विद्यालयले नौ पटक एसएलसी दिँदा अनुत्तीर्ण त के एकै जना विद्यार्थीले पनि दोस्रो श्रेणी चित्तमा बुझाउनु परेन। विद्यालयले विशिष्ट र प्रथम श्रेणीमा सबै विद्यार्थी उत्तीर्ण गराउँथ्यो।

मेलम्चीघ्याङ पहिलो पटक २०६३ मा एसएलसीमा सहभागी भएको थियो। शिक्षक गौतम एउटा पक्षको कारण मात्र लगातार यो उपलब्धि हासिल नभएको बताउँछन्। उनका अनुसार चुस्त व्यवस्थापन, मेहनती शिक्षक र सहयोगी अभिभावकमा सफलताको राज लुकेको छ। ‘व्यवस्थापन र शिक्षकको मात्रै मेहनत पुग्यो भने पनि सफलता प्राप्त गर्न सकिन्छ,’ उनको अनुभव छ।

विद्यार्थीसँग घुलमिल गरी छोराछोरीलाई जत्तिकै रिझाएर पठनपाठन गर्दै आएको उल्लेख गर्दै नवनियुक्त प्रधानाध्यापक टिका लिम्बु गौतमको भनाइमा सहमति जनाउँदै सुनाउँछन्, ‘शैक्षिक वातावरण बनाइदिएपछि विद्यार्थी आफैँले मेहनत गर्दा रहेछन्।’

हेलम्बुको एक गाउँबाट–अर्को गाउँ पुग्न एक दिन बढी पैदल हिंड्नु पर्छ। राजधानी लैजान तयारी गरिएको मेलम्ची खोलाको पारिपट्टी माथिल्लो भागको कुनामा एउटा मात्र सय घरधुरीको गाउँ छ, मेलम्चीघ्याङ।

मेलम्चीघ्याङलाई धुले सडक ट्रयाकले जोडेको छ। हिउँदमा जसोतसो गाउँसम्म मोटर पुग्छ। बर्खाको चार महिना मोटर चल्दैन, बरु हिँड्ने बाटाघाटा नै हराउँछन्। दैनिक उपभोग्य लगायत सामग्री मेलम्ची वा तिम्बु बजारदेखि बोकाएर गाउँ पुर्‍याउनु पर्छ। विद्यार्थी आलु खाएर पढ्छन्।

विद्यालयका शिक्षक पूर्वतयारी नगरी कक्षामा नछिर्ने बताउँछन्। उनीहरुका अनुसार वार्षिक पाठयोजना अनुरुप एकाइ र पाठ योजना बनाएर मात्र शिक्षक पढाउँछन्।

‘हातमा पाठ र इकाइ योजना कहिल्यै टुट्दैन,’ उनीहरु सुनाउँछन्। २०७२ वैशाख १२ गतेको भूकम्पले विद्यालय भवन ढल्यो। विद्यालय केही वर्ष टहरोमा चल्यो। त्यो बेला पनि मेलम्चीघ्याङको नतिजा खस्किएन। अहिले भौतिक संरचनाले मेलम्चीघ्याङ अत्याधुनिकए भएको छ।

विद्यालयले २०५२ बाट प्राथमिक तहदेखि नै अंग्रेजी माध्यममा पढाउँदै आएको छ। विद्यालयमा कक्षा एकमुनि केजी र नर्सरी तह सञ्चालनमा छन्। विद्यालयमा दैनिक पूरा सात घण्टा पढाइ हुन्छ भने वर्षमा कम्तीमा दुई सय ३० दिन। आवासीय यो विद्यालयमा बर्सेनि मुलुकका एक दर्जन जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

हाल खोटाङ, ओखलढुंगा, मोरङ, सोलुखुम्बु, स्याङ्जा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही, दोलखा, नुवाकोट लगायत जिल्लाकासहित ३ सय २० विद्यार्थी विद्यालयको होस्टेलमा बसेर बढिरहेका छन्।

ह्योल्मो संस्कृति, रहनसहन र भाषासमेत सिकाइने विद्यालयको वातावरण पढूँ–पढूँ लाग्ने खालको छ। कक्षा एक–पाँचसम्म ऐच्छिक विषयको रुपमा तिब्बती भाषा पढाइन्छ। साढे तीन दशकअघि सुन्दर हेलम्बु घुम्न निस्किएका गौतमले नै एउटा घरको बरण्डाबाट यो विद्यालय सञ्चालनमा ल्याएका थिए।

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न योगदान गरेका उनै गौतम नेपाल रिपब्लिक मिडियाको ११ औँ वार्षिकोत्सवको अवसरमा नागरिक नायक घोषित भएका थिए।

गौतम दुई वर्षपछि अनिवार्य अवकाशमा जाँदै छन्। त्यही भएर नेतृत्व सीप हस्तान्तरण गर्न उनले लिम्बुलाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पिएका हुन्। लिम्बुको सहायक बनेर गौतम उनलाई सिकाइ रहेका छन्। ‘म गएपछि पनि विद्यालयको शैक्षिक अवस्था खस्कनु भएन नि !’ कारण खुलाउँदै उनले भने।

प्रकाशित: १३ असार २०८१ १९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App