२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

जुम्ला–रारा अल्ट्रा म्यारथनको तयारी पूरा

जुम्ला सदरमुकाम खलंगादेखि मुगुको रारातालसम्मको ४९ किलोमिटर लामो जुम्ला–रारा अल्ट्रा म्यारथनको तयारी पूरा भएको छ। शनिबार विहान सुरु हुने म्याराथनमा एक विदेशीसहित ७६ जना धावकहरुले सहभागिता जनाउँदैछन्। प्रतियोगितामा १५ महिलाले सहभागिता जनाउँदैछन्।  

आयोजक कर्णाली स्पोट्र्स क्लवका अध्यक्ष सरोज शाहीका अनुसार जुम्लादेखि रारासम्मको ४९ किलोमिटर म्याराथनका लागि एक जना भारतीयसहित गायक बुद्धवीर लामा, ओलम्पीयन बैकुण्ठ मानन्धर, क्याप्टेन भरतसिंह थापा, भेट्रान रनर सम्भु दाहाल, सुमन कुलुङलगायतको सहभागिता रहने छ। कर्णाली स्पोट्र्स क्लवले तीन वर्ष यता जुम्ला–रारा अल्ट्रा म्यारथनको आयोजना गर्दै आएको छ।

स्पेन, अमेरिका, क्यानडालगायतका देशका १८ जनाले अल्ट्रा म्याराथनका लागि नाम दर्ता गराएपनि जुम्लासम्म नियमित हवाई उडान नहुँदा अन्तिममा आएर उनीहरुले म्याराथनमा सहभागिता जनाउन नसक्ने बताएको आयोजकले जनाएको छ। म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्दैछन्।

‘जुम्ला–रारा म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ,’ अध्यक्ष शाहीले भने, ‘शनिबार विहान साढे ६ बजे म्याराथनको उद्घाटन गर्दैछौं।’ जुम्लादेखि रारासम्म म्याराथनका लागि रुट म्यापिङ, पाँच स्थानमा स्वयम्सेवक खटाउनेलगायतका कामहरु पूरा भएका छन्। जुम्लादेखि रारासम्म खटिएका स्वयम्सेवकले धावकहरुलाई जुस, पानी, सुप, केरा, रोटी, अचार, चकलेट वितरण गर्नेछन्।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाली सेना, कनकासुन्दरी गाउँपालिकाको स्वास्थ्य संस्थाले पाँच वटै स्थानमा स्वास्थ्यकर्मी खटाउनुका साथै विभिन्न ठाउँमा एम्बुलेन्सहरु राखिएको छ। जुम्ला–रारा म्याराथनमा पुरुष तथा महिलातर्फ पहिलो हुनेले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउने छन्् भने द्धितीय हुनेले ६७ हजार पाँच सय र तृतीय हुनेले ३७ हजार पाँच सय रुपैयाँ पाउने छन्। यस्तै सान्त्वना हुने सात महिला र सात पुरुषलाई ६ हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन्।

यस्तै १६ वर्षमुनिका छात्र–छात्राहरुका लागि पाँच किलोमिटरको ‘रन फर फन’ प्रतियोगिताको आयोजना गरिएको छ। पाँच किलोमिटर दौडका लागि १२८ जनाले नाम लेखाएका छन्। छात्र–छात्राको दौडमा प्रथम हुनेले १० हजार, द्धितीय हुनेले पाँच हजार र तृतीय हुनेले तीन हजार पुरस्कार पाउने छन्। पाँच किलोमिटर खुल्ला दौडको पनि आयोजना गरिएको छ। खुला दौडका लागि दुई सय भन्दाबढीले सहभागिता जनाउने आयोजकले बताएको छ।

प्रकाशित: २५ चैत्र २०७८ १५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App