६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

बैंक अफ बरोडालाई स्वर्ण

नेपालको त्रिभुवन आर्मी क्लबले सेमिफाइनलसम्म यात्रा तय गरेको चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा भारतको बैंक अफ बरोडाले मंगलबार स्वर्ण जितेको छ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा बरोडाले भारतकै अन्सुल गर्ग एकेडेमी (एजिए) लाई ३–१ ले पराजित गर्‍यो। बरोडाले सेमिफाइनलमा भने त्रिभुवन आर्मीलाई स्तब्ध बनाएका थियो। फाइनलमा बरोडाले तीन सिंगल्समा जित हात पार्दा डबल्स स्पर्धा गुमायो।

सिंगल्समा बरोडाकी ईशाले एजिएकी फिल्जाहलाई १२–१०, १२–१०, १०–१२ र १२–१० बले, गत संस्करणकी सिंगल्स विजेता बरोडाकी ममता प्रभुले त्रिशालाई ११–९, ११–३, १०–१२ र १५–१३ ले तथा पुनः ममताले फिल्जाहलाई ११–५, ११–७ र ११–४ को सेटमा हराए।

डबल्समा एजिएका फिल्जाह र त्रिशाको जोडीले बरोडाका ममता र ईशाको जोडीलाई ११–५, ११–९, ६–११ र ११–८ ले पन्छाउँदै सान्त्वना जित निकाल्यो। पहिलो दिन पुरुष सिंगल्सका लिग चरणका खेल पनि भए। उक्त स्पर्धामा सहभागी ८८ खेलाडीलाई १६ समूहमा विभाजन गरी खेल खेलाइएको छ। त्यसबाट १६ खेलाडीले नकआउट चरणमा स्थान बनाउनेछन्। सम्झना ल्याबको प्रमुख प्रायोजन तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि गरी ६ स्पर्धामा समावेश छन्।

सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेस्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कृत गरिनेछ। प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडीको सहभागिता रहेको आयोजक ललितपुर जिल्ला टेबल टेनिस क्लबले जनाएको छ।

प्रकाशित: १६ चैत्र २०७८ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App