७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

टी–२० मा नेपालको रोमाञ्चक जित

अन्तिम छ ओभरमा नाटकीय रूप लिएको त्रिकोणात्मक  ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले शनिबार पाहुना टोली पपुवा न्युगिनी (पिएनजी) माथि १५ रनको रोमाञ्चक जित निकालेको छ।

१ सय ८४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनी आक्रामक ब्याटिङ गर्दै जितको संघारमा पुगे पनि चार बलअगावै १ सय ६८ रनमा अलआउट हुन पुग्यो। १४औं ओभरको समाप्तिमा पिएनजी १०७/७ को नाजुक अवस्था थियो। तर, नोर्मन भनुआले आठौं विकेटका लागि चाड सोपरसँग ६७ रनको आक्रामक साझेदारी गर्दै जितनजिक पुर्‍याए। यस क्रममा नोर्मनले नेपाली बलरमाथि ठूला सट खेल्दै पूर्ण रूपमा दबाबमा राखे। जसका कारण १२ बल बाँकी छँदा पिएनजीलाई जितका लागि १७ रन आवश्यक थियो।

यसबीच नेपालका कप्तान सन्दीप लामिछानेले महँगा साबित भइरहेका तीव्र गतिका बलर करण केसीलाई १९औं ओभर सुम्पिए। यद्यपि, करणले उक्त ओभरको पाँचौं बलमा नोर्मनलाई ५२ रनमा एलबिडब्लु आउट गर्दै पिएनजीलाई ठूलो झड्का दिए। त्यसको तीन बल अन्तरमा पाहुना टोलीले थप दुई विकेट गुमाएपछि नेपालले पपुवा न्युगिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलामा रोमाञ्चक जित दर्ता गर्‍यो। पिएनजीसँग एकदिवसीय शृंखला गुमाएको नेपालले ट्वान्टी–२० शृंखलामा भने सुखद सुरुआत गरेको छ। सातौं नम्बरमा ब्याटिङ गर्न आएका नोर्मनले २९ बलमा पाँच चौका र चार  छक्का हिर्काए।

करणले नै दोस्रो ओभरमा ओपनर टोनी उरालाई ५ रनमा पवेलियन फर्काउँदै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। छिट्टै विकेट गुमाए पनि पिएनजीका ब्याट्सम्यानले ठूलो सट खेल्दै नेपाली बलरलाई दबाबमा राख्ने प्रयास गरे। तर, सोमपाल कामी, अविनाश बोहोरा र कप्तान सन्दीपले शीर्ष क्रमका ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएनन् र पिएनजी १४औं ओभरमा १०७/७ को नाजुक अवस्था पुग्यो। सन्दीपले कप्तान असाद भालालाई ७ रन र सेसे बाउलाई ३० रनमा पवेलियन फर्काए।

सोमपालले भने लेगा सिएकालाई २१ रनमा क्याच गराए। अविनाशले आक्रामक ब्याटिङ गरिरहेका चाल्र्स अमिनीलाई २२ रनमा बोल्ड गरे। अमिनीले १० बलमा नै तीन चौका र एक छक्का प्रहार गरेका थिए। अविनाशले रिले हेकुरेलाई ३ रन र सन्दीपले जेसन किलालाई शून्यमा आउट गर्दै नेपाललाई छैटौं र सातौं सफलता दिलाए। तर, त्यसपछि नोर्मनले चुनौती दिए पनि सफलता पाउन सकेनन्। सबैभन्दा किफायती सन्दीपले चार ओभरमा तीन विकेट लिँदै २२ रन मात्र खर्चिंदा म्यान अफ दी म्याच भए। करणले चार ओभरमा तीन विकेट नै लिए पनि ४४ रन बेहोरे।

सोमपालले चार ओभरमा एक विकेट लिँदा ४२ रन बेहोरे। अविनाशको नाममा दुई विकेट थियो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ८३ रन बनायो। शीर्ष तीन ब्याट्सम्यान कुशल भुर्तेलले २०, आसिफ शेखले ४३ र रोहित पौडेलले ३४ रन बनाउँदै १२औं ओभरमा नै नेपाललाई सय रनको आँकडा पार गराए। पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेखले २२ बलमा ३१ रन जोड्दै नेपालको इनिङ उकासे।

उनको इनिङमा तीन चौका र दुई छक्का रह्यो। करणको १४ रन र कुशल मल्लको ११ रन पनि नेपाललाई ठूलो स्कोरतर्फ अग्रसर गराउन मद्दत मिल्यो। पिएनजीको बलिङमा सोपर, चाल्र्स र एलेई नाओले समान दुई विकेट लिए। नोर्मन र हाकुरले समान एक विकेट निकाले। नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ। मंगलबार भने मलेसिया र पिएनजीबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १५ चैत्र २०७८ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App