गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितमा सहभागि हुने खेलाडीको बिमा गरिने बताएका छन्। मुआथाई बक्सिङ संघ कास्कीले आयोजना गरेको सेमिनारको उद्घाटन गर्दै मन्त्री गुरुङले खेलाडीहरुको अनिवार्य बिमा गरिने स्पष्ट पारे। मन्त्री गुरुङले मार्शल आर्ट नै अन्तर्राष्ट्रिय एरीनामा पदक जित्ने खेल भएको भन्दै पदकसँगै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने समेत बताए।
‘गण्डकी प्रदेशको प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीको बिमा मन्त्रालयले गर्ने छ।’ मन्त्री गुरुङले भने, ‘खेल्ने क्रममा चोटपटक लागे सहज उपचारको लागि मन्त्रालयले बिमा गर्ने घोषणा गरेको हो।’ आर्थिक अवस्था कमजोर भएका खेलाडी घाइते हुँदा उपचारमै समस्या हुने गरेको छ। खेल्ने क्रममा घाइते हुँदा उपचारको लागि सहयोग जुटाउनुपर्ने अवस्था छ। सहयोग जुटाउनुभन्दा खेलाडीको बिमा गरे खेलाडीलाई समेत राहत हुने विश्वास लिइएको छ।
खेलमा खेल्ने क्रममा चोटपटक लागेको अवस्थामा ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको जोखिम बहन हुनुपर्ने स्पष्ट पारेका छन्। मन्त्री गुरुङले खेलाडीको बिमाको लागि बिमा कम्पनीसँग छलफल भइरहेको उल्लेख गरे। उनले समूहगत र व्यक्तिगत बिमा गर्ने विषयमा छलफल भईरहेको भन्दै त्यसको लागि मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको स्पष्ट पारे। उनले बजेट भने उल्लेख गर्न चाहेनन्।
मन्त्री गुरुङले खेलाडीलाई पौष्टिक आहार(डाईट)को समेत व्यवस्था गर्ने स्पष्ट पारे ।उनले खेलाडीलाई तीन महिनासम्म डाइटको व्यवस्था गर्ने बताए। त्यसैगरी सेमिनारमै मन्त्री गुरुङले संघहरुलाई खेल सामग्री खरीद गरेर विल मन्त्रालय ल्याउन आग्रह गरे। प्रत्येक संघलाई १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँ(खेल अनुसारको सामग्री) बराबरको खेल सामग्री खरिद गरी विल ल्याउन आग्रह गरेका थिए। ‘खेल संघसँग सामान छैन। सामान नहुँदा खेलाडीले कसरी प्रशिक्षण गर्ने। त्यसैले संघ आफैंले सामान किनेर ल्याउ। पैसा मन्त्रालयले दिन्छ,’ उनको भनाइ थियो।
सेमिनारमा गण्डकी प्रदेशका ६० जना मुआथाई खेल्ने खेलाडीहरुको सहभागिता रहेको थियो। मुआथाईका खेलाडीहरुलाई एकै छातामुनि ल्याई एउटै नियममा राखेर खेल खेलाउने र प्रशिक्षण गराउनुपर्ने आवश्यकता अनुसार सेमिनारको आयोजना गरिएको मुआथाईका केन्द्रीय प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारले बताए। उनले नियमहरुमा हुने परिवर्तनले खेलाडीहरु अन्यौलमा पर्ने हुँदा नयाँ नियमहरुको बारेमा समेत प्रशिक्षण गराइएको थियो। खेलाडीलाई नियमसँगै फाईटका तरिका समेत सिकाईएको थियो।
सेमिनारमै खेलाडीहरुलाई वर्गीकरण गरिएको छ। १४ जना प्रशिक्षक समेत हुन्। त्यसैगरी अन्य खेलाडीको समेत वर्गीकरण गरिएको छ। पोखरामा मुआथाई २०६४ सालपछि मात्रै भित्रिएको हो। प्रमुख प्रशिक्षक गोदार नेपालकै पहिलो प्रशिक्षक समेत हुन्। उनकै पहलमा मुआथाई पोखरा भित्रिएको हो।
प्रकाशित: ३ चैत्र २०७८ ०७:१३ बिहीबार