६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७: पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

नेपाली क्रिकेट टोलीमा डेब्युपश्चात् लगातार तीन अर्धसतकको कीर्तिमान रचेका कुशल भुर्तेलसहित जुनियरतर्फ विश्व ब्याडमिन्टनको नम्बर एक खेलाडी प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा र टेबल टेनिसकी एलिना महर्जन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार मध्यम दूरीकी अब्बल धाविका सन्तोषी, नेपाली महिला फुटबल टोलीकी गोलकिपर एन्जिला, खेलाडी मात्र नभइ प्रशिक्षणमा पनि सक्रिय टेबल टेनिसकी एलिनासहित कुशल र प्रिन्सलाई पिपल्स च्वाइस विधामा मनोनयन गरेको हो।

मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा रहेको छनोट समितीले आइतबार एक कार्यक्रमबीच पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो। मञ्चले यसअघि नै १८औं संस्करणलाई दशक अवार्डका रूपमा सम्मान गर्ने घोषणा गरिसकेको छ।

तर, पिपल्स च्वाइससहित पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड भने नियमित रूपमा गर्ने मञ्चको तयारी छ। कुशलले गत वर्षको चैतमा नेपालमै सम्पन्न नेदरल्यान्ड्स र मलेसियासम्मिलित क्रिकोणात्मक ट्वान्टी–२० शृंखलाबाट डेब्यु गरेका थिए। उनी आइसिसी ट्वान्टी–२० वरीयतामा ३१औं स्थानमा छन्,जुन नेपाली क्रिकेटरको अहिलेसम्मकै उत्कृष्ट सफलता हो। उनले ११ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा एक सतक र पाँच अर्धसतकसहित कुल चार सय ९८ रन जोडेका छन्।

६ वटा एकदिवसीय अन्तर्राष्ट्रियमा भने कुशलले एक अर्धशतकसहित एक सय ४४ रन बटुलेका छन्। विश्व ब्याडमिन्टन जुनियरतर्फ नम्बर एक प्रिन्स घरेलु प्रतियोगितामा पनि राम्रो प्रभाव छाड्न सफल खेलाडी हुन्। सिन्धुपाल्चोकमा सम्पन्न सिनियर राष्ट्रिय ब्याडमिन्टनमा रत्नजित तामाङलाई हराउँदै सनसनी मच्चाएका प्रिन्सले पुष्पलाल स्मृति ¥याङ्किङ ब्याडमिन्टनमा पनि लगातार दुई उपाधि जिते। साइनो कप राष्ट्रिय ब्याडमिन्टनका पनि उनी च्याम्पियन हुन्। प्रिन्स सन् २०२४ को ओलम्पिक प्रोजेक्टका लागि छनोट भएका नेपाली खेलाडीसमेत हुन्।

मध्यम दूरीको दौडमा अब्बल धाविका सन्तोषीले १३औं दक्षिण एसियाली खेलकुद (साग) देखि यसै वर्षको प्रधानसेनापति हाफ म्याराथनसम्म भाग लिएको ९ वटै प्रतियोगितामा स्वर्ण जितेकी छन्। उनी गणेशमान सिंह स्मृति १० के रोड रेस (२०७७) की समेत च्याम्पियन हुन्।

सो दौडमा उनले ३७ मिनेट ५३ः४४ सेकेन्डको कीर्तिमान तोडेकी थिइन्। नेपाली महिला फुटबल टोलीकी गोलकिपर एन्जिला ०७७ सालमा सम्पन्न राष्ट्रिय महिला लिग विजेता एपिएफकी सदस्यसमेत हुन्। एन्जिलाले राष्ट्रिय लिगको १२ खेलमा एक गोल मात्र बेहोरेकी थिइन्।

पाकिस्तानी राष्ट्रिय लिग च्याम्पियनसिपमा उनले मासा युनाइटेडको कप्तानी गर्दै विदेशमा व्यावसायिक लिगसमेत खेलिसकेकी छन्। टेबल टेनिसकी एलिना खेलजीवनसँगै प्रशिक्षणमा समेत सक्रिय छिन्। उनी हाल स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट टेबल टेनिसको नयाँ प्रतिभा उत्पादनमा सक्रिय छिन्। सामाजिक कार्यमा पनि क्रियाशील एलिनाले १३औं सागबाट प्राप्त पुरस्कारको आधा रकम कोरोना प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग गरेकी थिइन्।

मनोनयनमा पर्न सफल खेलाडीलाई मञ्चका सदस्य, २७ खेलका प्रमुख प्रशिक्षक र समर्थकले मतदान गर्नेछन्। धेरै मत ल्याउने खेलाडीलाई चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रममा विजेता घोषणा गरिनेछ। मनोनयनमा पर्ने खेलाडीलाई समर्थकले इसेवामार्फत मत दिन सक्नेछन्। इसेवाले लगातर दोस्रो वर्ष अवार्डमा सहकार्य गरेको हो। आइतबार नै इसेवाका आशिष गौतम र एनएसजेफका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

प्रकाशित: २३ फाल्गुन २०७८ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App