८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

चैतमा किसुनजी म्याराथन

दोस्रो किसुनजी स्मृति राष्ट्रिय महिला तथा पुरुष खुला हाफ म्याराथन चैतको तेस्रो साता हुने भएको छ। नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा बाग्मती प्रदेश संघको आयोजनामा दोस्रो संस्करणको किसुनजी म्याराथन चैतको १९ गते हुन लागेको हो। 

नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेशले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उक्त म्याराथनबारे जानकारी दियो। नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) को स्मृतिमा संघले गत वर्षदेखि म्याराथन आयोजना गर्दै आएको छ। प्रतिभावान् खेलाडीलाई अवसर प्रदान र खेलकुदलाई व्यावसायिकरण गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ।

म्याराथनको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो स्थान प्राप्त गर्ने धावकले  २० हजार रूपैयाँ प्राप्त गर्नेछन्। अघिल्लो संस्करणको तुलनमा यस पटक पुरस्कार राशि दोब्बर बनाइएको संघका अध्यक्ष दीपक गुरुङले जानकारी दिए। यसका साथै खेलकुदमा जीवन समर्पण गर्ने, खेल विकास र विस्तारमा योगदान पु¥याउनेलाई पनि सम्मान गरिने उद्देश्यअनुरूप खेलकुद क्षेत्रमा विशेष योगदान गर्ने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई समेत नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ।

नेपाली कांग्रेसका नेताको नाममा खेलकुद आयोजना गर्दै खेलकुद र राजनीतिलाई जोड्ने नीतिअनुरूप नेपाल लोकतान्त्रिक खेलकुद संघले विभिन्न प्रतियोगिताको आयोजना र अन्य सामाजिक कार्य पनि गर्दै आइरहेको अध्यक्ष गुरुङको भनाइ छ। सो अवसरमा नेपाल एथ्लेटिक्स संघका सचिव एवं प्राविधिक आरके विष्टले प्रतियोगितालाई निरन्तरता दिनु मात्र नभइ हाफ म्याराथनलाई निरन्तरता प्रदान गर्नुले छोटो दूरीका धावकका लागि प्रोत्साहन प्राप्त हुने विश्वास व्यक्त गरे।

उनले यस प्रतियोगितालाई संघको स्वीकृति प्रदान हुने र आगामी दिनमा संघको वार्षिक क्यालेन्डरमा नै समावेश गराउन पहल गर्ने बताए। उक्त म्याराथन गोल्फुटारको बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, सुकेधारा, चाबहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, हात्तीसार, जयनेपाल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, गोल्फुटार, नारायणथान हुँदै पुनः गोल्फुटार बास्केटबल कोर्टमा आएर पूरा हुनेछ।

प्रकाशित: १० फाल्गुन २०७८ ०३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App