१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

संकटा र एपिएफबीच बराबरी

 विभागीय टोली एपिएफसँग गोलरहित बराबरीमा रोकिएपछि संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानको थ्री स्टार क्लबसँग अंक बराबरी गर्ने अवसर गुमाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न १०औं चरणको अन्तिम खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि त्यसलाई पोस्टको दिशा भने दिन सकेनन्।

लिगमा उत्कृष्ट सुरुआतसँगै उपाधि दाबेदारका रूपमा अघि बढेको संकटा पछिल्ला केही खेलमा स्वाभाविक प्रदर्शनमा चुक्दा शीर्ष ४ बाट समेत बाहिरिने खतरा बढेको छ।

१० खेलमा ३ जित, ६ बराबरी र १ हारको नतिजापछि संकटा पाँचाैँ स्थानमा छ। जुन समान खेल खेल्दै चौथो स्थानमा बसेको थ्री स्टारभन्दा २ अंक कम हो। तेस्रो स्थानको त्रिभुवन आर्मी क्लबको १८ अंक छ भने दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबको २० अंक छ। उपाधिरक्षाको अभियानमा रहेको मच्छिन्द्र क्लब भने समान खेलमा २६ अंकसहित शीर्ष स्थानमा छ।

१९औं मिनेटमा फोडे फफोनाले सुवास गुरुङको पासमा गरेको प्रहार एपिएफका गोलकिपर युया कुरियामाले रोक्दा संकटाले अग्रता लिने अवसर गुमाएको थियो। त्यसको ५ मिनेटपछि अर्मान्ड विडोमको प्रहार बाहिँरिदा एपिएफले निराश बनेको थियो।

७४औं मिनेटमा एपिएफले अग्रताको सुनौलो अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन। संकटाका रक्षकसँग बल खोस्दै आभास लामिछानेले गरेको प्रहार राजाबाबु थापाले मुस्किलले बचाएका थिए।

८३औं मिनेटमा संकटाले खेलमा तीन अंक जोड्ने अवसर पाए पनि फफोनाको फिलतो प्रहार कोरियामाले विफल पारेका थिए। एपिएफले भने लिगमा आफ्नो अपराजित यात्रा ७ खेलसम्म लम्ब्याएको छ। सुरुआती ३ खेलमा लगातार हार बेहोरेको एपिएफले त्यसपछिका ७ खेलमा भने नतिजा सुम्पिएको छैन। एपिएफ १० खेलमा ११ अंकसहित नवौं स्थानमा छ।

आहा रारा गोल्डकपको विजेता एपिएफले सबै खाले प्रतियोगिता गरी आफ्नो अपराजित यात्रा ११ खेल लम्ब्याएको छ। एपिएफले गत महिना पहिलो पटक आहा रारा गोल्डकप जित्ने क्रममा मनाङले निराश पारेको थियो। एपिएफले आहा राराको सेमिफाइनलमा मच्छिन्द्रलाई पराजित गरेको थियो। जुन मच्छिन्द्रले यस सिजन बेहोरेको पहिलो हार थियो। लिगमा भने शीर्ष टोली मच्छिन्द्र १०औं खेलसम्म अपराजित रहेको छ।

एपिएफले ११औं चरणमा फागुन ५ गते मनाङको सामना गर्दै छ। यसअघि आइतबार नै सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।

एनआरटी १० खेलमा १४ अंकसहित साताैँ स्थानमा छ भने समान खेलमा १२ अंक बटुलेको हिमालयन शेर्पा आठौं स्थानमा। ११ औँ चरणका खेल मंगलबारबाट सुरु हुँदै छन्।

प्रकाशित: २ फाल्गुन २०७८ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App