१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

अहमदाबादको नाम गुजरात टाइटन्स

इन्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ फ्रेन्चाइज टोली अहमदाबादले यसै हप्ता हुने आगामी मेगा अक्सनअगाडि आफ्नो नाम घोषणा गरेको छ।

आइपिएल २०२२ बाट दुईवटा फ्रेन्चाइज टोली थपिँदा अहमदाबादले मात्र नाम घोषणा गरेको थिएन। दुईमध्ये लखनउले यसअघि नै आफ्नो नाम लखनउ सुपर जायन्ट राखेको थियो। बुधबार अहमदाबादले भने आफ्नो फ्रेन्चाइज टोलीको नाम गुजरात टाइटन्स राखेको छ। यो फ्रेन्चाइज टोलीले अक्सनआगाडि तीन खेलाडी अनुबन्धित गरिसकेको छ। हार्दिक पाण्ड्याको कप्तानीमा रहने गुजरात टाइटन्सले रासिद खान र शुभमन गिललाई अनुबन्धित गरेको हो।

गुजरातले हार्दिक र रासिदलाई समान १५ करोड भारुमा किनेको थियो। शुभमनका लागि भने ८ करोड खर्चियो। हार्दिक मुम्बई इन्डियनबाट, रासिद सनराइजर्स हैदराबादबाट र शुभमन कोलकाताबाट आएका हुन्। गुजरात टाइटन्सले आशिष नेहरालाई मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत सुम्पिएको छ। उक्त टोलीमा ग्यारी कस्र्टेन ब्याटिङ प्रशिक्षक र विक्रम सोलांकी क्रिकेटर डाइरेक्टरको जिम्मेवारीमा छन्। यी तीनै रोयल च्यालेन्जर्स बैङ्लोरमा सहकर्मी थिए।

गुजरात टाइटन्सको घरेलु मैदान अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम रहनेछ, जुन विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम पनि हो। ‘हाम्रो यस समूह गुजरातका लागि ठूलो सफलता दिलाउने लक्ष्यमा हुनेछ। साथै हाम्रो साथमा समर्थक पनि हुनेछन्। त्यसैले पनि हामीले आफ्नो नाम टाइटन्स राख्यौं,’ गुजरातको लगानीकर्ता सिभिसी क्यापिटल्स ग्रुपका सहमालिक सिद्धार्थ पटेलले भने, ‘आगामी मेगा अक्सनमा पनि खेलाडी खरिदमा मजबुत टोली बनाउने लक्ष्य छ।’ हार्दिक पाण्ड्या पनि गुजरातका हुन् र उनको परिवार पनि त्यहीं बस्ने गर्दछ। उनी पनि टोलीको नाम गुजरात नै राख्न चाहन्थे। 

विश्वकै सबैभन्दा ठूलो स्टेडियम भएको स्थान गुजरातलाई प्रवर्धन गर्न पनि त्यहाँको नाम फ्रेन्चाइज टोलीमा समावेश गरिएको हो।

गुजरात टाइटन्सले ५२ करोड भारु अक्सनमा खर्चिनेछ, जहाँ गुजरातले हार्दिक, रासिद र शुभमनका लागि ३८ करोड खर्चिएको छ। कुल २२ वटा कम्पनीले अहमदाबादको फ्रेन्चाइज खरिद गर्ने चाहना राखेका थिए। तथापि, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले पाँच हजार ६ सय २५ करोड भारुमा सिभिसी क्यापिटल्स ग्रुपलाई बिक्री गरेको थियो।

प्रकाशित: २७ माघ २०७८ ०२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App