१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगः रेलिगेसन संकट टार्दै पुलिस

रवि पासवानको दुई गोलप्रेरित नेपाल पुलिस क्लबले बुधबार च्यासल युथ क्लबमाथि २–१ को जित निकाल्दा सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनबाट बाँच्ने सम्भावना बलियो पारेको छ।

नवौं चरणको खेलमा पुलिसलाई नतिजा सुम्पिएपछि भने च्यासलमाथि रेलिगेसन दबाब अझै बढेको छ। यी दुई टोलीबीचका खेल पुस २८ का लागि तय भए पनि च्यासल युथका १९ जना खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएपछि सो खेल स्थगित भएको थियो। शनिबारका लागि यी दुई टोलीको खेल हुने तय भए पनि लगातारको वर्षाका कारण मैदान हिलो भएका कारण खेल बुधबारका लागि पुनः सारिएको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारबाट दशाैँ चरणका खेलतालिका सार्वजनिक गरिसकेको छ। जसअन्तर्गत शुक्रबारको पहिलो खेलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबको सामना गर्नेछ। 

३७औं मिनेटमा रविले गरेको गोलमा पुलिसले अग्रता लिएको थियो। च्यासलका गोलकिपर अर्पण कार्की अगाडि बढेको अवस्थामा रविले गरेको प्रहारले जाली चुमेको थियो। ५२औं मिनेटमा मौसा अबगानाले पेनाल्टीको सदुपयोग गर्दै च्यासललाई खेलमा फर्र्काएका थिए। पुलिसका कप्तान सुनील सुवेदीले रुमेश बर्तौलालाई लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो।

७०औं मिनेटमा रविले व्यत्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाएका थिए। पुलिस क्लब ९ खेलमा १० अंकसहित १०औं स्थानमा उक्लिँदा च्यासल भने समान खेलमा मात्र ५ अंकसहित १३औं स्थानमा छ।

‘आज हामीलाई जसरी पनि तीन अंक चाहिएको थियो, त्यो प्राप्त गर्न सफल भयौं,’ पुलिसका प्रशिक्षक अनन्त थापाले भने, ‘हाामीले पहिलो हाफबाटै च्यासलमाथि दबाब बनाएर खेल्यौं। पहिलो हाफमै अग्रता पनि लियाैँ तर पेनाल्टीमा गोल खाएपछि भने च्याससलले हामीलाई केही समय दबाबमा राख्यौ। दोस्रो पटक अग्रता लिएपछि भने हामीलाई केही सहज भयो। हामीमा रेलिगेसनको दबाब केही कम भएको छ। हामीसँग ४ खेल बाँकी छ।

आजको जितले बाँकी ४ खेलका लागि पनि टोलीको मनोबल बढाएको छ।’ ५१औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिक पुलिसका गोलकिपर शत्रुधन चौधरीले रोक्दा च्यासलले खेलमा फर्कने अवसर गुमाएको थियो। खेल सकिन ७ मिनेट बाँकी रहँदा कमलको कर्नरमा अभिषेक लिम्बुले गरेको हेडर बाहिरिँदा च्यासलले दोस्रो पटक खेलमा फर्कने अवसर गुमाएको थियो।

आठौ चरणको खेलमा मनाङ मस्र्याङदी क्लबविरुद्ध रातो कार्डको दर्शन गरेका कारण च्यासलका प्रशिक्षक बालगोपाल साहुखल पुलिसविरुद्धको खेलमा टर्चलाइनमा थिएनन्। साहुखलको अनुपस्थितिमा टेक्निकल डिरेक्टर लेग म्यानसनले च्यासलको प्रशिक्षण सम्हालेका थिए। ‘आजको हारले हामीमाथि रेलिगेसन दबाब झनै बढेको छ,’ म्यानसनले भने, ‘पाएका अवसरमा बार बाधक हुनु हाम्रा लागि आज दुर्भाग्य रह्यो। हामीले राम्रो खेले पनि सिजनको पहिलो खेलबाटै पाएका अवसरको सदुपयोग गर्न सकेका छैनौं र त्यही क्रम अहिले पनि जारी छ।’  

म्यानसनले लिगमा अभै ४ खेल बाँकी रहेकाले आफूहरूको रेलिगसेन संकट टर्ने गणितीय सम्भावना रहेको बताए।

प्रकाशित: २७ माघ २०७८ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App