१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

१६औं संस्करणको सँघारमा पोखरा म्याराथनः उत्कृष्ट १० भित्र पर्दैनन् स्थानीय खेलाडी

फागुन ७ नजिकिँदै छ। यो दिन धावकका लागि विशेष पनि छ। प्रजातन्त्र दिवस मनाइरहँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरू भने ‘अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन’ दौडिँदै हुनेछन्। त्यही मितिमा म्याराथनसँगै महिला हाफ म्याराथन हुनेछ। हाफ म्याराथन भने पछि थप गरिएको इभेन्ट हो।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ वार्षिक कार्यक्रम हो। १५ वर्ष निरन्तर आयोजना भइसकेको छ। आगामी फागुन ७ गते शनिबार १६औं संस्करणको म्याराथनको संघारमा छ मञ्च। १६ वर्षसम्म निरन्तरता दिए पनि विडम्बना कास्कीबाट म्याराथन दौडिने धावक नै भेटिन मुस्किल छ।

‘आयोजनाको उद्देश्य नै खेलाडी उत्पादन हो। तर विडम्बना अहिलेसम्म कास्कीबाट म्याराथन धावक उत्पादन भएको तथ्य छैन,’ भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुलीले भने, ‘दुःख गरेर इभेन्ट गर्‍यो, उत्पादन भने शून्य।’ १५ वर्षसम्म दौडाउँदा पोखराको प्रतिनिधित्व गरेर म्याराथनमा नाम राख्ने खेलाडी मञ्चले अझै पाएको छैन। मञ्चका अनुसार म्याराथनमा उत्कृष्ट दशभित्र आउने धावक नै छैनन्।

स्थानीय धावकलाई म्याराथनप्रति प्रोत्साहित गर्ने योजना मञ्चको छ। उत्कृष्ट दशमा आउनेलाई पुरस्कृत गर्दै हौसला थप्ने चाहना हो। तर त्यो चाहना पूरा गर्ने धावकको खडेरी नै रहेको मञ्चका अध्यक्ष पराजुलीको बुझाइ छ। ‘म्याराथन बर्सेनि आयोजना हुन्छ। मञ्चले म्याराथनको शृंखला दिने हो,’ उनले भने,‘तर रिजल्ट छैन। मेहनत बढी रह्यो। स्थानीय म्याराथन धावकको खडेरी पूरा हुन सकेन।’  

राष्ट्रिय खेलकुद प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना हुन्छ। दुई वर्षमा आयोजना गर्ने भनिए पनि राजनीतिक अस्थिरता र विभिन्न कारणले धकेलिँदै गएको छ। राष्ट्रिय प्रतियोगितामा समेत कास्कीबाट म्याराथनमा सहभागी हुने खेलाडी पाउनै मुस्किल रहेको उनको भनाइ थियो। पोखरामै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्कीबाट म्याराथनमा दौडिने धावक छैनन्।

भूतपूर्व खेलाडी मञ्चले म्याराथनलाई पोखराको प्रतिष्ठासँग जोडेको छ। प्रतिष्ठासँग जोडिए पनि धावक उत्पादन नहुँदाको पीडा मञ्चसँग छ। म्याराथनलाई सरकारी निकायले चासो दिएका छन्। आर्थिक रूपमा सहयोग गरेका छन्। ‘सरकारी निकाय म्याराथनसँग कनेक्सन भइदिएका छन्,’ उनले भने, ‘प्रदेश सरकार र स्थानीय निकायले सहयोग गरेका छन्, तर खेलाडी नहुँदाको पीडा उस्तै छ।’

पोखरा म्याराथन २०५८ सालमा सुरु भएको थियो। सुरुआती समयमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको थियो। त्यसपछि राजनीतिक अस्थिरतासँगै वाणिज्य बैँक मुख्य प्रायोजकबाट पछि हट्यो। २०६५ सालमा १० किलोमिटर दौड मात्रै आयोजना गरिएको थियो। त्यसपछिको संस्करण एकै पटक ०७२ सालमा आएर आयोजना गरिएको थियो।

२०६४ पछि २०७२ सम्मको अवधिमा मुख्य प्रायोजककै अभाव र आर्थिक सहयोग जुटाउन नसक्दा मञ्चले म्याराथनलाई थाती राख्यो। पोखराको प्रतिष्ठासँग जोडिएको म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दूधले प्रायोजन गरेपछि फेरि ब्यूँतिएको हो। सफल दूधले निरन्तर मुख्य प्रायोजन गर्दै आएको छ। मञ्चको आयोजना र सफल दूधको मुख्य प्रायोजन रहे पनि कास्कीबाट म्याराथन धावकको नाम उत्कृष्ट दशभित्र परेको उदघोष मञ्चले अझै गर्न पाएको छैन। पोखरा म्याराथनमा नेपाल आर्मीका धावक आनन्दमान श्रेष्ठले २ घण्टा २५ मिनेट ०५ सेकेन्डमा पूरा गर्दै उपाधि जित्दा बनाएको कीर्तिमान अझै तोडिएको छैन।

प्रकाशित: २२ माघ २०७८ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App