१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एलपीएलको मुख्य प्रायोजकमा धनगढी उपमहानगरपालिका

एलपिएलको जर्सी सार्वजनिक गरिँदै। तस्बिरः पुष्पराज/नागरिक

आगामी फागुन २ गतेदेखि आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) छैटौँ संस्करणको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने भएको छ। लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन १४ गतेसम्म सञ्चालन हुने एलपीएल–६ को मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो।

आयोजक र धनगढी उपमहानगरपालिकाबीच सम्झौतासमेत भएको छ। सम्झौता पत्रमा हस्ताक्षरपछि धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले उपमहानगरले खेल र खेलाडीको स्तर वृद्धिका लागि आफूहरूले यो क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको बताए। ‘हामले क्रिकेटमा एलपीएललाई विगतबाट निरन्तर प्रोत्साहन प्रदान गर्दै आएका छौँ,’ उनले भने, ‘क्रिकेटमा मात्र हैन फुटबलतर्फ पनि हामीले खप्तड गोल्ड कपदेखि अन्य स–साना प्रतियोगितालाई प्राथमिकतामा राखेका छौँ। यस्तै प्रयासबाट अहिले एलपीएल खेलेका खेलाडी राष्ट्रिय स्तरका अन्य प्रतियोगितामा राम्रो छाप छोड्न सफल भएका छन्।’ लिटल फ्लावर प्रिमियर लिग निरन्तर छैटौँ संस्करणसम्म सञ्चालन भइरहेको प्रति खुसी व्यक्त गर्दै मेयर वडले यसलाई अझै परिष्कृत बनाएर अघि बढ्नुपर्ने बताए।

प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उप–विजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए। प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा भई रहेको भन्दै उनले मैदान निर्माणको काम सम्पन्न हुने तयारीमा रहेको बताए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीलाई १०/१० हजार प्रदान गरिनले शाहीले जानकारी दिए। प्लेयर अफ द म्याचका साथै आसन्न संस्करणबाट प्रत्येक खेललाई थप रोमाञ्चक बनाउन गेम चेन्जर अवार्ड र सर्वोत्कृष्ट छक्का अवार्ड समेत थप गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा काठ्माण्डौँ, कैलाली र कञ्चनपुरका १० विद्यालय स्तरीय क्रिकेट टिमको सहभागिता रहने छ। जसमा प्रत्येक टिमले ४ जना विद्यालय बाहिरका १९ वर्ष मुनिका खेलाडी समेत राख्न पाउने छन्। आसन्न संस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल, उप कप्तान शेर मल्ललगायतका खेलाडी समेत सहभागी हुनेछन्। प्रत्येक टिमलाई दुई समूहमा विभाजन गरी समूह चरणमा एउटा टिमलाई ४/४ वटा खेल खेलाइने बताइएको छ।

प्रकाशित: २१ माघ २०७८ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App