२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

४४ वर्षपछि उपाधि घरमै

बार्टीले जितिन् अस्ट्रेलियन ओपन

बहुप्रतिभाशाली एस्लेघ बार्टी एक व्यावसायिक क्रिकेटर थिइन्, जसले गल्फको प्रतियोगिता पनि जितेकी छन्। शनिबार घरेलु भूमिमा ग्रान्ड स्लाम जितेपछि उनी अस्ट्रेलियन टेनिसका दिग्गज खेलाडीको सूचीमा पनि आफूलाई उभ्याउन सफल भइन्।  

सन् १९७८ मा क्रिस ओ निलले घरेलु भूमिमा ग्रान्ड स्लाम जितेका थिए। त्यसयता त्यो सफलता कुनै पनि खेलाडीले प्राप्त गर्न सकेनन्। तर, शनिबार बार्टीले ४४ वर्षसम्मको प्रतीक्षा अन्त्य गरिन् र घरमा सीमित दर्शकलाई स्टेडियममा हुनुको रोमाञ्चकताको अभाव महसुस गराइन्। विश्व नम्बर एक बार्टीले फाइनलमा अमेरिकी खेलाडी ड्यानियल कलिन्सलाई ६–३ र ७–६ (७–२) ले स्तब्ध बनाएकी थिइन्। त्यसपश्चात् बार्टीले अद्भुत क्षण प्राप्त गरिन्, जहाँ उनले सात पटकका ग्रान्ड स्लाम च्याम्पियन अस्ट्रेलियन लिजेन्ड इभोन गुलागोङ कावलीबाट विजेताको ट्रफी प्राप्त गरिन्। इभोनले सन् १९७४ देखि ७७ सम्म लगातार चौथो पटक अस्ट्रेलियन ओपन जितेकी थिइन्। बार्टीले रड लाभेर एरिनामा सन् २००० को सिड्नी ओलम्पिकमा चार सय मिटरकी स्वर्ण विजेता आफ्नै देशकी क्याथी फ्रिमेनको उपस्थितिमा पनि उपाधि उचाल्ने अवसर पाइन्।  

सर्वश्रेष्ठ बार्टी  

विश्वमा कमै खेलाडीसँग मात्र खेलकुदका कयौं सफलताका रेकर्ड हुने गर्दछ। २५ वर्षीया बार्टीले ब्रिसबेनमा आफ्नो बाल्यवस्थामा टेनिस खेल्ने गर्थिन्। जहाँबाट उनी विश्वको सर्वश्रेष्ठ खेलाडीका रूपमा स्थापित भइन्। यद्यपि, उनले ११/१२ वर्षकै उमेरमा अस्ट्रेलियन ओपनको ट्रेनिङ क्याम्पका लागि यात्रा तय गरेकी थिइन्। जुन उनको जीवनका लागि यादगार क्षणसम्म पुग्यो। उनले १५ वर्षको उमेरमा सन् २०११ मा जुनियर विम्बल्डनको उपाधि पनि जितेकी थिइन्। त्यसपछि उनीबाट केही आशा गरिएको थियो।  

तथापि, त्यसको तीन वर्षपछि नै उनले अप्रत्याशित निर्णय गरिन्। उनले क्रिकेट खेल्नका लागि टेनिस छाडिन्। व्यावसायिक क्रिकेटका लागि ब्रिसबेन हिटमा अनुबन्धित भइन्, जुन महिला बिग बासको पहिलो संस्करण पनि थियो। क्रिकेटमा भने उनको आशाअनुरूप खेल हुन सकेन। जसका कारण उनी टेनिसबाट टाढा रहन सकिनन् र बार्टीले सन् २०१९ मा पहिलो ग्रान्ड स्लामका रूपमा फ्रेन्च ओपनको सफलता चुमिन्। साथै उनी इभोन गुलागोङ कावलीपछि विश्व नम्बर एक बन्ने पहिलो अस्ट्रेलियन खेलाडी बनिन्।

गत वर्ष नै बार्टीले विम्बल्डनको सफलता पनि चुमिन्। बार्टीले सन् २०२१ मा लगातार तेस्रो वर्ष विश्व नम्बर एक भएर सिजनको अन्त्य गरेकी थिइन्। यो सफलता महान् टेनिस खेलाडी स्टेफी ग्राफसँगै मार्टिना नाभ्रतिलोभा, सेरेना विलियम्स र क्रिस इभर्टले मात्र चुमेका छन्। सन् २०२० मा उनी फ्रेन्च ओपन रक्षा गर्ने अभियानमा थिइन्।  

तर, उनी कोरोना महामारीको भयका कारण प्रतिस्पर्धामा सहभागी भइनन् र गल्फ क्लबमा जोडिन्। त्यहाँ पनि उनले ब्रुकवाटर गल्फको उपाधि जितिन्। त्यति बेला नै उनलाई एक सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न गरेका थिए,‘अब तिमीले गर्न नसक्ने केही बाँकी छ?’ गत नोभेम्बरमा ग्यारी किसिकसँग विवाह बन्धनमा बाँधिएकी उनले अहिले टेनिसका कयौं स्टारबाट बधाई पाइरहेका छिन्।

प्रकाशित: १६ माघ २०७८ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App