धरानमा जारी वडास्तरीय २२ औं गोँधुली टुबोर्ग रनिङ कपमा वडा नं ८ विजयी भएको छ। धरान १६ स्थित रंगशालामा आइतबार भएको खेलमा धरानको वडा नं ४ लाई ४–० गोलअन्तरले हराउँदै वडा ८ विजयी भएको हो।
वडा ८ को जितमा रमेश मगर, सविन राना मगर, आमोश माझी र राजन थापा मगरले एक एक गोल गरेका थिए।
रमेशले पहिलो हाफको २८ औं मिनेटमा गोलको खाता खोले भने सविनले ३८ औं मिनेटमा र आमोशले ४४ औं मिनेटमा गोल गरेका थिए। दोस्रो हाफको ६३ औं मिनेटमा राजनले वडा ८ को लागि चौथो गोल गरे। खेलको म्यान अफ दि म्याच वडा ८ का आमोश थापा मगर घोषित भए। उनले नगद १५ सय पुरस्कार पाए।
सोमबार धरान वडा नं १६ र १२ बीच पहिलो खेल हुनेछ भने दोस्रो खेल वडा नं १४ र १ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ। माघ ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका २० वटा वडाको टिम सहभागी रहेको छ।
प्रकाशित: २५ पुस २०७८ १४:४२ आइतबार





