१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

सहिद स्मारक लिगः संकटाले अवसर गुमायो

संकटाविरुद्ध गोल गरेपछि सातदोबाटोका सुशील राई। तस्बिरः नागरिक

सातदोबाटो युथ क्लबसँग अंक बाँडेपछि संकटा क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष क्लबमाथि दबाब बढाउने अवसर गुमाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारबाट सुरु भएको आठाैँचरणको पहिलो खेलमा संकटाले सातदोबाटोसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो।

संकटा आठ खेलको समाप्तिमा १४ अंकसहित तेस्रो स्थानमा छ, जुन शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लबभन्दा तीन र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबभन्दा दुई अंक कम हो। मच्छिन्द्र र मनाङले संकटाभन्दा एक खेल कम खेलेका छन्।

मच्छिन्द्रले आठाैँ चरणअन्तर्गत शनिबार दशरथ रंगशालामा अंकतालिकाको पुच्छरको टोली फ्रेन्ड्स क्लबको सामना गर्नेछ भने मनाङले पोखरा रंगशालामा च्यासल युथ क्लबको सामना गर्नेछ।

२२औं मिनेटमा स्ट्राइकर सुशील राईले गरेको गोलमा सातदोबाटोले अग्रता लिएको थियो। संकटाका रक्षक नीरज बस्नेतले दिएको ब्याक पास गोलकिपर राजाबाबु थापाले राम्रोसँग क्लियर गर्न नपाउँदा प्राप्त बलले सुशीलको घुँडामा ठोक्किदै पोस्टको दिशा लिएको थियो।

तर त्यसको १० मिनेटपछि नै संकटा खेलमा फर्कियो। जय गुरुङले संकटालाई खेलमा फर्काए। संकटाको यो लगातार दोस्रो बराबरी हो। यसअघि संकटा च्यासल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो। सातादोबाटो आठ खेलमा आठ अंकसहित आठौं स्थानमा छ।

संकटाका प्रशिक्षक विष्णु गुरुङले गोलकिपरको गम्भीर गल्तीमा सुरुमै गोल खाएकाले टोली दबाबमा परेको प्रतिक्रिया दिए। ‘हामीले खेल नियन्त्रणमा लिँदै अवसर सिर्जना गरिरहेका थियाैँ। सातदोबाटोले हामीलाई खासै दबाबमा राखेको पनि थिएन तर गोलकिपर राजाबाबुले गरेको गम्भीर गल्तीमा गोल खान पुग्यौं,’ गुरुङले भने, ‘त्यसले टोलीमाथि दबाब थपियो। यद्यपि हामी गोल फर्काउँदै अपराजित यात्रा भने कायम राख्न सफल भयौं ।’

यता सातदोबाटोका प्रशिक्षक सुरज महर्जनले भने अग्रता जोगाउन नसक्दा लिगकै दाबेदार टोली संकटालाई हराउने अवसरबाट चुकेको प्रतिक्रिया दिए।

शुक्रबारै सम्पन्न दोस्रो खेलमा जावलाखेल युथ क्लब र एपिएफले गोलरहित बराबरी खेले। यस बराबरीको नतिजापछि जावलाखेल आठ खेलमा आठ अंकसहित नवाैँ स्थानमा छ भने समान खेलमा सात अंक जोडेको एपिएफ दशौं स्थानमा छ। एपिएफका प्रशिक्षक कुमार थापाले आफ्नो टोलीमाथि रेलिगेसनको दबाब झन् बढेको बताए।

‘हामीले आज जित्न सकेको भए तालिकामा हाम्रो स्थान सुधार हुने थियो तर आज अंक बाँडेपछि हामीमाथि रेलिगेसनको दबाब बढ्यो,’ थापाले भने, ‘रेलिगेसन क्षेत्रमा रहेका टोली र हामीबीचको दूरी खासै ठूलो छैन। त्यसैले जुनै बेला पनि हामी पुनः रेलिगेसन क्षेत्रमा झर्न सक्छाैँ।’ जावला खेलका प्रशिक्षक किशोरकुमार केसीले भने एपिएफले सुधारिएको प्रदर्शन गर्दै आफूहरूलाई दबाबमा राखेकाले एक अंक लिए पनि सन्तुष्ट रहेको प्रतिक्रिया दिए।

प्रकाशित: २४ पुस २०७८ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App