१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जितको लयमा थ्री स्टार

संकटा क्लबले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको दिन शनिबार थ्री स्टारले भने लिगमा जितको लय भेट्टाएको छ।

जारी लिगमा अपराजित टोली संकटा सात खेलको समाप्तीमा १३ अंकसहित तेस्रो स्थानमा यथावत् छ। समान खेलबाट १६ अंक जोडेको मनाङ  मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ। दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबको १४ अंक छ। मच्छिन्द्रले एक खेल कम खेलेको छ।

शनिबार पोखरामा सम्पन्न खेलमा मनाङ कप्तान अन्जन बिष्टको गोलमा ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै कम्तीमा २४ घन्टाका लागि शीर्ष स्थानमा उक्लिएको छ। संकटाले पाएका अवसरमा च्यासलका गोलकिपर प्रदीप भण्डारी बाधक बने।

पाँचौं मिनेटमा मैदानको दायाँ भागबाट फोडे फफोनाले दिएको पासमा उत्तम राईको हेडर च्यासलका डिफेन्डर अभिषेक लिम्बुले गोल लाइनबाट बचाउँदा संकटा अग्रता लिनबाट चुक्यो। १०औं मिनेटमा संकटाले पुनः अग्रता लिने अवसर पाए पनि उत्तमको प्रहारमा च्यासलका गोलकिपर प्रदीप नै बाधक बने। सोही प्रहारको रिबाउन्ड बलमा फफोनाको प्रहार बारमा लाग्दै फर्कियो। ५८औं मिनेटमा संकटाका अमित तामाङको फ्रिकिक च्यासलका गोलकिपर प्रदीपले बिफल पारे।

६३औं मिनेटमा सन्तोष साहुखलको पासमा राजीव लोप्चनको प्रहार संकटाका गोलकिपर राजुबाबु थापाले उत्कृष्ट बचाउ गर्दा च्यासल निरास बन्यो। ७४औं मिनेटमा पनि संकटाले अग्रता लिने सुनौलो अवसर गुमायो। टीकाराज गुरुङको पासमा अनमार्क रहेका नीरज बस्नेतको प्रहार च्यासलका रक्षक अभिषेकले गोल लाइनबाट क्लियर गर्दै टोलीको संकट टारे। संकटाका प्रशिक्षक विष्णु गुरुङले च्यासलसँगको बराबरी टोलीका लागि लिगको अन्तिम चरणतिर महँगो पर्न सक्ने बताए।

‘हामी च्यासलविरुद्ध तीन अंकका लागि आएका थियौं। उनीहरूले पछिल्ला ६ खेलमा गरेको प्रदर्शनभन्दा आज धेरै राम्रो खेले,’गुरुङले भने, ‘सन्तोष साहुखलको आगमनले पनि च्यासलले हाम्रा रक्षकलाई दबाब दिएर खेल्यो। गोलका अवसर पाए पनि सदुपयोग गर्न सकेनौं। त्यसैले हामीले च्यासलसँग दुई अंक गुमायौं, जुन अन्तिम चरणतिर महँगो साबित बन्न सक्छ।’ गुरुङले च्यासलका रक्षकले दुई वटा प्रहार गोल लाइनबाट क्लियर गरेको भन्दै त्यसलाई दुर्भाग्यको संज्ञा दिए।

यता च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले भने संकटाविरुद्ध एक अंक जोड्दा सन्तुष्ट रहेको बताए। ‘लयमा रहेको संकटाविरुद्ध एक अंक लिन पाउँदा खुसी छौं,’ साहुखलले भने, ‘यो अंकले टोलीको मनोबल बढेको छ। साथै टोलीमा स्ट्राइकर सन्तोष साहुखल आएका छन्। उनको आगनले टोलीको मनोबल पनि बढेको छ। अनुभवी स्ट्राइकरको उपस्थितिले गोलका अवसर पनि सिर्जना भए, तर सदुपयोग गर्न सकेनौं।’ च्यासल सात खेलबाट पाँच अंकसहित १३औं स्थानमा छ।

शनिबार नै दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा थ्री स्टारले चार खेलपछि जितको लय भेट्टायो। थ्री स्टारले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्‍यो। च्यासलमाथि जितका साथ लिगमा सुखद सुरुआत गरेको थ्री स्टार दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग पराजित भएको थियो। त्यस पछि खेलिएका लगातार चार खेलमा थ्री स्टारले क्रमशः  फ्रेन्ड्स क्लब, एपिएफ, त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) सँग अंक बाँडेको थियो।

खेलको सातौं मिनेटमा स्ट्राइकर आयुष घलानले गरेको गोलमा थ्री स्टारले अग्रता लिएको थियो। २५औं मिनेटमा रितिक खड्काले थ्री स्टारको अग्रता दोब्बर पारे। ५५औं मिनेटमा निकोलस फर्नान्डेजले गरेको गोलमा जावलाखेलले खेलमा फर्कने प्रयास गरे पनि सफलता पाउन सकेन। थ्री स्टार सात खेलबाट १० अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। जावालखेलको भने सात खेलबाट सात अंक छ। लिगअन्तर्गत आइतबार हुने खेलमा मच्छिन्द्रले पुलिसको सामना गर्दै छ।

प्रकाशित: १८ पुस २०७८ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App