५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

साफ यु–१९ महिला फुटबल: नेपाल बाहिरियो

बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतसँग १–० ले स्तब्ध हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

ढाकास्थित सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा आइतबार भएको खेलमा बराबरी वा जित आवश्यक पर्ने खेलमा पराजित हुँदा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। पाँच टोली सहभागी च्याम्पियनसिपको राउन्ड रोविन लिगमा बंगलादेश र भारत शीर्ष दुईमा रहँदै फाइनलमा पुगे।

गत संस्करण यु–१८ को विजेता बंगलादेश अपराजित रहँदै फाइनलमा पुग्यो। भारतले भने एक मात्र हार बंगलादेशसँग बेहोर्‍यो। गत संस्करणको उपविजेता नेपाल फरक उमेरसमूहको विजेता बन्ने लक्ष्यका साथ बंगलादेश पुगे पनि सफल हुन सकेन। गत संस्करणको फाइनलमा भने नेपाल बंगलादेशसँग पराजित भएको थियो।

यसपटक पहिलो खेलमा नै मुख्य दाबेदार बंगलादेशलाई बराबरी रोके पनि भारतसँग पराजय बेहोर्दा नेपालको यात्रा लिग चरणमा नै टुङ्गिन पुग्यो। नेपालले पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोक्यो तर दोस्रो हाफमा गोल बेहोर्दा नेपाल स्तब्ध बन्यो। भारतकी प्रियंका देवीले गरेको गोल नै निर्णायक बन्न पुग्यो। ६७औं मिनेटमा नेपालको रक्षापंक्तिमा देखिएको तालमेलको अभावमा प्रियंकाले गोल गरेकी थिइन्। आइतबारकै दोस्रो खेलमा आयोजक बंगलादेश श्रीलंकालाई १२–० ले हराउँदै समूह विजेता बन्यो।

चार खेलबाट तीन जित र एक बराबरीसहित १० अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो। बंगलादेशले उपाधिका लागि बुधबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। चार खेलबाट ९ अंक जोडेको भारत दोस्रो स्थानमा रह्यो। पाँच टोली सहभागी च्याम्पियनसिपमा नेपाल भने दुई जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै लिगमा तेस्रो भयो।

नेपालले चार खेलबाट ७ अंक जोड्यो। बंगलादेशसँग गोलरहित बराबरी खेल्दै च्याम्पियनसिपको सुरुआत गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो।

प्रकाशित: ५ पुस २०७८ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App