१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

हेडको शतकले इङ्ल्यान्ड दबाबमा

मध्यक्रमका ब्याटर ट्राविस हेडको शतकप्रेरित अस्ट्रेलियाले एसेस शृंखलाअन्तर्गतको पहिलो टेस्टको पहिलो इनिङमा इङ्ल्यान्डलाई दबाबमा राखेको छ।

दोसो दिनको समाप्तिमा अस्ट्रेलिया ३४३–७ मा खेलिरहेको छ। अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ९६ रनको अग्रता लिएको छ। हेड अविजित १ सय १२ र मिचेल स्टार्क अविजित १० रनमा खेलिरहेका छन्। आक्रामक ब्याटिङ गरेका हेडले ९५ बलमा १२ चौका र २ छक्का प्रहार गरे। स्टार्कले २४ बलमा १ चौका प्रहार गरे। 

अस्ट्रेलियाले १० रन जोड्दा ओपनर मार्कुस ह्यारिसलाई गुमाएको थियो। १७ बलमा ३ रन मात्र जोडेका ह्यारिस ओले रोबिन्सनको बलमा डेविड मालनबाट क्याच भए।

दोस्रो विकेटका लागि अर्का ओपनर डेविड वार्नरले मध्यक्रमका ब्याटर मार्नुस लाबुसेनसँग १ सय ५६ रनको साझेदारी गर्दै टोलीको इनिङ उकासेका थिए। लाबुसेनले ज्याक लिचको बलमा मार्क उडबाट क्याच हुनुअघि १ सय १७ बलमा ६ चौका र २ छक्काको मद्दतमा ७४ रन प्रहार गरे।

त्यस्तै वार्नरले रोबिन्सनको बलमा बेन स्टोक्सबाट क्याच हुनुअघि १ सय ७६ बलमा ११ चौका र २ छक्काको मद्दतमा ९४ रनको योगदान गरे।

वार्नरले १७ र ६० रनमा खेल्दा दुई पटक जीवनदान पाएका थिए। स्टोक्सको बलमा आउट भए पनि अस्ट्रेलियाले सो बल नो बल भएपछि वार्नरले जीवनदान पाएका थिए। तर टिभी रिप्लेमा भने स्टोक्सले त्यसअघिका ३ बल पनि नो बल गरेको देखिएको थियो।

क्रिकेट अस्ट्रेलियाले भने टिभी अम्पायरले आफ्नो जिम्मेवारी पूरा नगरेको प्रतिक्रिया दिएको छ। रोबिन्सनले वार्नरलगत्तै क्यामरुन ग्रिनगालाई बोल्ड गर्दै पवेलियनको बाटो देखाउँदा इङ्ल्यान्डले खेलमा फर्कने संकेत गरेको थियो। तर हेडको आक्रामक प्रदर्शनमा अस्ट्रेलिया दोस्रो दिन पनि हाबी भएको हो।

हेड इङ्ल्यान्डका कप्तान जो रुट र लिचप्रति आक्रामक बनेका थिए। सन् २०१९ पछि हेडको यो पहिलो शतक हो। उनले सन् २०१९ मा न्युजिल्यान्डविरुद्ध शतक प्रहार गरेका थिए। इङ्ल्यान्डका रोबिन्सनले ३ तथा लिच, रुट र क्रिस ओक्सले समान १ विकेट लिए। यसअघि बुधबार पहिलो दिन टस जितेर ब्याटिङका लागि आएको भ्रमणकारी टोली इङ्ल्यान्ड १ सय ४७ रनमा सीमित बनेको थियो।

प्रकाशित: २४ मंसिर २०७८ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App