७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

धर्मगुरुको जन्मोत्सवमा खेलकुद

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास रहेको इलामको माङ्सेबुङ। तस्बिर: भीम/नागरिक

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६८औं जन्मोत्सव अवसरमा माङ्सेबुङ गाउँपालिका–५, लारुम्बामा खेलकुद प्रतियोगिता आयोजना गरिँदैछ। मंसिर ११ देखि १७ सम्म स्थानीय आत्मानन्द खेलमैदानमा आत्मानन्द कप फुटबलसहित म्याराथुन, डोरी तान्ने, हाँडी फुटाउनेलगायत दर्जनहाराहारी खेल प्रतियोगिता आयोजना गरिएको छ।  

आयोजक आत्मा–पवित्र हक्चात यक्चुमले मंगलबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा फुटबल प्रतियोगितामा नेपाल र भारतका ८ टिम सहभागी हुने जानकारी गराइयो। प्रतियोगितामा झापा ११, दमकको बिबिएफसी, इलामको रेडहर्ष, मोरङको श्रीजंघा स्पोर्टिङ, सुनसरीको गोधूलि, पाँचथरको फिदिम स्पोर्टिङ, माङ्सेबुङ गाउँपालिका खेलकुद समिति र भारत दार्जिलिङस्थित मानेभञ्ज्याङ फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछन्।  

उपाधि विजेताले नगद ३ लाख १ सय ६८ र उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ पाउने आयोजक समिति अध्यक्ष मनप्रसाद आङ्बुहाङले बताए। ‘सहभागी हुने नेपालका टिम सबै अखिल नेपाल फुटबल संघ (एन्फा)मा आबद्ध हुन्,’ उनले भने, ‘भारतको टिम पनि राम्रो रहेकाले खेलहरू निकै आकर्षक हुने आशा छ।’  

प्रतियोगिताका लागि २१ लाख रुपैयाँ खर्च अनुमान गरिएको र खेलाडीलाई यथायक्य सुविधासमेत दिने उनले बताए। ‘स्रोत–साधन उपलब्ध भएसम्म सहभागी खेलाडीलाई सुविधा दिन्छौं,’ उनले भने, ‘फुटबलमात्र नभई अन्य खेलकुदसमेत आयोजना गरिएको छ।’  

त्यही अवसरमा स्थानीय रिङरोड (करिब ५ किलोमिटर)मा म्याराथुन आयोजना गरिएको छ। म्याराथुन विजेताले नगद १० हजार १ सय ६८, दोस्रोले ८ हजार १ सय ६८ र तेस्रोले ६ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउने छन्। सान्त्वना पुरस्कार ४ हजार १ सय ६८ रुपैयाँ राखिएको छ।  

हरेक मंसिर १८ मा माङ्सेबुङमा किरात धर्मगुरु लिङ्देनको जन्मोत्सव अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ। जन्मोत्सव समारोहमा देशका उच्चपदस्थ अधिकारीहरू उद्घाटनका लागि आइपुग्छन्। अहिलेसम्म यहाँ आयोजना गरिएका जन्मोत्सव समारोहमा राजा, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीलगायत आइसकेका छन्।

प्रकाशित: २३ कार्तिक २०७८ १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App