४ वैशाख २०८१ मंगलबार
खेल

एभरेस्ट प्रिमियर लिग: ओमरजाईले बनाए छिटो अर्धशतक

अज्मतुल्ला ओमरजाईले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान रचेको दिन शुक्रबार ललितपुर प्याट्रियट्सले शीर्ष चारमा बस्दै प्लेअफ प्रवेश सम्भावना कायम राखेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुक्रबार भएको दिनको पहिलो खेलमा ललितपुरले प्रस्तुत गरेको २ सय २७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगर वारियर्समाथि ३७ रनको जित हात पारेको हो।

कीर्तिमानी लक्ष्य पछ्याएको विराटनगरका लागि ओपनर चन्द्रपाउल हेमराज र आसिफ शेखले पहिलो विकेटका लागि ३.५ ओभरमा ५० रनको साझेदारीका साथ उत्कृष्ट सुरुआत गरेका थिए। चौथो ओभरको पाँचौं बलमा हेमराज ओमरजाईको बलमा बोल्ड भएपछि ब्याटिङका लागि आएका दिलशान मुनविरासँग आसिफले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए।

हेमराजले १३ बलमा ४ चौका र १ छक्काको मद्दतमा २८ रन जोडे। विराटनगरले आसिफलाई दोस्रो विकेटका रूपमा गुमायो। आसिफले ललित राजवंशीको बलमा ओमरजाईबाट क्याच हुनुअघि ३० बलमा ६ चौकाको मद्दतमा ३७ रन जोडे। तेस्रो विकेटका लागि मुनविरा र सिकन्दर राजाले ४५ रनको साझेदारी गरे। तर पन्ध्रौं ओभरको चौथो बलमा राजालाई ललितले पवन सर्राफबाट क्याच गराएपछि भने विराटनगरको इनिङ धरमराएको थियो। 

राजाले १२ बलमा समान २ चौका र छक्काको मद्दतमा २४ रनको योगदान गरे। थप ७ रन जोड्ने क्रमममा मुनविरा पनि पवेलियन फर्किएपछि विराटनगर संकटमा परेको थियो। मुनविराले ओमरजाईको बलमा योगेन्द्रसिंह कार्कीबाट क्याच हुनुअघि ३९ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५९ रनको योगदान दिए। 

१५. १ ओभरमा १५७–४ को अवस्थामा रहेको विराटनगर अन्ततः २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८९ रनमा समेटियो। विराटनगरलाई सस्तोमा समेट्ने क्रममा ओमरजाईले ४ ओभरमा ४२ रन खर्चंदै ४ विकेट लिएका थिए। त्यस्तै ललितले २ र योगेन्द्रले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले ओमरजाईको आक्रामक ब्याटिङ र ओपनर सन्दुन विराकोदेको अर्धशतकमा २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रनको कीर्तिामनी योगफल तयार पारेको थियो। इपिएलमा यसअघि सन् २०१८ मा पोखरा राइनोजले २ सय १८ रनको कीर्तिमानी लक्ष्य खडा गरेको थियो।

पहिलो विकेटका लागि विराकोदे र कप्तान कुशल भुर्तेलले ७० रनको साझेदारीका साथ ललितपुरलाई गतिलो सुरुआत दिलाए। कुशलले १७ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३२ रन प्रहार गरे। 

त्यस्तै विराकोदेले ४३ बलमा १० चौका र ३ छक्काको मद्दतमा ७३ रनको योगदान गरे। २१ बलमा अर्धशतक पूरा गरेका ओमरजाईले २४ बलमा ७ चौकाको मद्दतमा अविजित ५८ रन बनााए। ओमरजाईले पाँचांै विकेटका लागि जयकिशन कोल्सावालासँग ६० र छैटांै विकेटका लागि नारायण जोशीसँग अविजित २६ रनको साझेदारी गरेका थिए।

नारायण जोशीले रामनरेश गिरीको अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गरेपछि ललितपुरले कीर्तिमानी योगफल खडा गरेको थियो। नारायणले ४ बलमा ३ छक्काको मद्दतमा अविजित १८ रन जोडे।

प्रतियोगितामा ललितपुरको यो पहिलो जित हो। पहिलो खेलमा काठमाडौं किङ्स इलेभनसँग र दोस्रो खेलमा पोखरासँग पराजित भएको थियो। तेस्रो खेलमा भने ललितपुरले मधुर प्रकाशका कारण सुपर ओभर सम्भव नहुँदा भैरहवा ग्लाडियटर्ससँग अंक बाँडेको थियो। 

ललितपुर ४ खेलमा ३ अंकका साथ तेस्रो स्थानमा छ। ३ खेलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको चितवन टाइगर्स ६ अंकका साथ शीर्ष स्थानमा छ भने समान ३ खेलमा ४ अंक जोडेको भैरहवा दोस्रो स्थानमा छ। पोखरा ३ खेलमा ३ अंकका साथ चौथो, काठमाडौं २ खेलमा २ अंकका साथ पाँचौं र ३ खेलमा अंक खाता खोल्न नसकेको विराटनगर छैटौं स्थानमा छन्। लगातार तेस्रो हारसँगै विराटनगरको शीर्ष ४ मा बस्दै प्लेअफ प्रवेश सम्भावना समेत न्यून बनेको छ।

शुक्रबार भएको दोस्रो खेलमा ओपनर मोहम्मद सहजाद र भीम सार्कीको शतकीय साझेदारी प्रेरित चितवनले लगातार तेस्रो जितका साथ प्लेअफ प्रवेशको सम्भावना बलियो पारेको छ। दोस्रो खेलमा चितवनले पोखरा राइनोजमाथि ९ विकेटको फराकिलो जित हात पारेको हो। पोखराले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य चितवनले १६.४ ओभरमा मात्र १ विकेट क्षतिमा पूरा गरेको थियो। 

२ रन जोड्दा ओपनर ईशान पाण्डेलाई गुमाएको चितवनका सहजाद र भीमले दोस्रो विकेटका लागि अविजित १ सय २२ रनको साझेदारी गरे।सहजादले ५२ बलमा ७ चौका र २ छक्काको मद्दतमा अविजित ६३ तथा भीमले ४२ बलमा ५ चौका र २ छक्काको मद्दतमा अविजित ५४ रनको योगदान गरे। यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनायो।

पोखराका विवेक यादवले अविजित ५३ रन बनाए भने असेला गुणारत्नेले २५ र ओपनर रिचार्ड लेबीले २० रन बनाए। विवेकले ४५ बलमा समान ३ चौका र छक्का प्रहार गरे। पोखरालाई कम योगफलमा समेट्ने क्रममा चितवनका सहाब आलम र कमलसिंह ऐरीले समान २ तथा कप्तान सोमपाल कामीले १ विकेट लिए। पहिलो विकेटका लागि विराकोदे र कप्तान कुशल भुर्तेलले ७० रनको साझेदारीका साथ ललितपुरलाई गतिलो सुरुआत दिलाए। कुशलले १७ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३२ रन प्रहार गरे।

प्रकाशित: १६ आश्विन २०७८ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App